न्युज अफ नेपाल, काठमाडौं ।
भारत सरकारको आर्थिक सहयोगमा निर्मित हुलाकी राजमार्गका १० सडक खण्ड हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले निर्माण सम्पन्न भएका सडकखण्डहरु संयुक्त रुपमा नेपालका जनतालाई ‘समर्पित’ गरेका हुन् ।
कार्यक्रममा राजदूत क्वात्रा र मन्त्री नेम्वाङले यस परियोजना सम्पन्न गर्न योगदान दिने सबैमा धन्यवाद व्यक्त गरे । तराई क्षेत्रका सडक पूर्वाधारलाई स्तरोन्नत गर्ने सम्बन्धमा भारत र नेपालबीच भएको सहमति अनुरुप नेपाल सरकारले दश अत्यन्त आवश्यक सडकको पहिचान गरेको थियो । जुन भारत सरकारको नेरु। ८०० करोड आर्थिक सहयोगमा निर्माण गरिएको जनाइएको छ ।
यी सडकहरुले पूर्व—पश्चिम राजमार्गमा अवस्थित प्रमुख शहरहरुलाई भारत-नेपाल सीमासँग पनि जोड्दछन् । प्रदेश नं १, २ र ५ का सात सीमावर्ती जिल्लामा अवस्थित यी सडकहरुले २८४ भन्दा बढी वडा, १४९ वटा गाउँ, १८ वटा गाउँपालिका, १८ वटा नगरपालिका, एक उप–महानगरपालिका र एक महानगरपालिकाका जनताहरुलाई जोड्न सघाउ पुर्याएको छ ।
सडक विभागले निर्धारण गरेको मापदण्ड अनुरुप यी दश सडकहरुको निर्माण गरिएको हो । प्रत्येक सडकमा सात मिटर कैरियज वे र सडकको दुवै तर्फ दुई मिटरको रोड शोल्डरको व्यवस्था गरिएको छ । सडकमा ढल, बसोबास क्षेत्रमा रेलिङ्ग सहितको पदमार्ग, सडक चिन्ह र अन्य सडक फर्निचरको सुविधा पनि राखिएको छ । यस परियोजना अन्तर्गत ६५२ भन्दा बढी कल्भर्ट र १११ किलोमिटर भन्दा बढी ड्रेनेज नेटवर्कको पनि निर्माण गरिएको जनाइएको छ । भारत सरकारको आर्थिक सहयोग र नेपाल सरकारको कार्यान्वयन मोडालिटि अनुरुप यो परियोजनाको कार्यान्वयन भएको हो ।
यस सडक परियोजनाले नेपालको तराई क्षेत्रको सडक पूर्वाधारलाई स्तरोन्नत गर्न ठूलो सहयोग पुर्याउनुका साथै दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ । यी हुलाकी सडकले हालै भारतले नेपालमा निर्माण सम्पन्न गरेका र निर्माणाधीन अन्य प्रमुख सीमा पूर्वाधारहरु जस्तै वीरगञ्ज र विराटनगरमा अवस्थित एकीकृत चेक पोष्ट तथा अन्तरदेशीय रेलमार्गलाई पनि सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
भारतको जयनगरदेखि नेपालको कुर्थासम्म अन्तरदेशीय रेलमार्गको निर्माण सम्पन्न भइसकेको छ र यस परियोजनलाई सञ्चालनमा ल्याउने गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न तयारी अवस्थामा रहेको दूतावासले जनाएको छ । यस सम्बन्धमा दुवै पक्षले यात्रुवाहक रेललाई सञ्चालनमा ल्याउन अन्तिम तयारी भइरहेको जनाइएको छ ।
यी हुन् निर्माण सम्पन्न भएका सडकखण्ड
सडकको नाम लम्बाई (किमि) जिल्ला
१ . मनमत—कलैया—मटियर्वा,प्याकेज ११५.०० बारा
२ . मनमत—कलैया—मटियर्वा,प्याकेज २११.६६ बारा
३ . बीरेन्द्रबजार—यदुकुहा—महिन्थपु
४. बीरेन्द्रबजार—यदुकुहा—महिन्थपु
५. जनकपुर— यदुकुहा १६.६३ धनुषा
६. माइस्थान—गौशालाबजार—सम्शी २६.९४ महोत्तरी
७ . जलेश्वर—हर्दी २७.२६ महोत्तरी
८. लमही—कोइलाबास ३३.४७ दाङ्
९. कानेपोखरी—रङ्गेली २ ५.४० मोरङ्ग
१०. कल्याणपुर—बरसाइ—सुभ्रानपट्टी १७.२८ सप्तरी
११ . तामागढी—सिम्रौनगढ, प्याकेज १२०.०० बारा
१२. तामागढी—सिम्रौनगढ, प्याकेज २ १९.७४५ बारा
१३ . बीरगंज—ठोरी, प्याकेज १ २५.६० पर्सा
१४. बीरगंज—ठोरी, प्याकेज २ ३०.०० पर्सा
प्रतिक्रिया