सुन्तला खेतीबाट वार्षिक ५ लाख आम्दानी

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।

बसाइँ सराईका कारण रित्तो हुँदै गएको पर्वतको भोक्सिङ गाउँमा बाँझो जमिन सदुपयोग गर्दै व्यावसायिक सुन्तला खेती गर्न थालिएको छ । जिल्लाको महाशिला गाउँपालिका–२ भोक्सिङका स्थानीयले बाँझो जमिन सदुपयोग गरेर व्यावसायीक सुन्तला खेती गरेका हुन् ।

सुन्तला खेती थालेपछि एउटै परिवारले बार्षिक ५ लाख रुपियाँसम्म आम्दानी गर्न थालेका छन् । १० वर्षदेखि सानो क्षेत्रफलमा शुरुवात गरेको सुन्तला खेती अहिले विस्तार गरेर स्थानीय जीवन गुरुङको परिवारले ठूलो मात्रामा खेती गरेको छ । गुरुङको परिवारले मात्रै झण्डै ६ सय सुन्तलाका विरुवा लगाएको छ । शुरुवातमा सानो क्षेत्रफलमा व्यवसाय गरेको गुरुङको परिवारमा अहिले ४ सय ५० बोटबाट सुन्तला उत्पादन हुन शुरु गरेको छ । बाँकी बोट सानो भएका कारण क्रमशः उत्पादन हुने गुरुङले जानकारी दिनुभयो । गुरुङले गत वर्ष मात्रै सुन्तलाको बिक्रीबाट एक सिजनमा ४ लाख ५० हजार रुपियाँभन्दा बढी आम्दानी गर्न सफल हुनुभयो । उहाँले भन्नुभयो–‘वर्षमा पाँच लाख रुपियाँ सजिलै कमाउन सकिने रहेछ। ’

गुरुङले स्वादिलो सुन्तला काठमाडांै लगेर बिक्री गर्नुभएको थियो । आफंै ढुवानी गरेर बजारमा बिक्री गर्दा मूल्य धेरै पर्ने गुरुङ परिवारको भनाइ छ । उनीहरुले सुन्तला बिक्रीका लागि वस्तीसम्मै कच्ची मोटरबाटो पुगेको छ । उक्त बाटोमा सवारी साधानको प्रयोग गरी सुन्तला बिक्री स्थानीयले गरेका छन् । गुरुङ परिवारले सुन्तला खेतीको शुरुवात गरेपछि अन्य स्थानीयले पनि व्यावसायिक रुपमा सुन्तला खेती गरेका छन् । स्थानीय भुवानसिंह गुरुङले पनि अहिले झण्डै ४ सय सुन्तलाका बोट रोप्नु भएको छ ।

गुरुङले लगाएका केही विरुवा उत्पादन शुरु भए पनि केहि विरुवामा उत्पादन हुन बाँकी छ । उत्पादन भएको सुन्तलालाई बजारको भने समस्या छैन । बाँझो जमिनमा सुन्तला खेती गर्दा जमिनको पनि सदुपयोग हुने र गाउँमै बसेर मनग्य आम्दानी गर्न सकिने भुवन गुरुङ बताउनुहुन्छ । ‘व्यावसायिक सुन्तला खेती गरेका कृषकलाई सहज सडक सञ्जालको व्यवस्थापन राज्यले गरिदिने हो भने अझै उत्पादन बढाउन सकिन्छ।’ गुरुङले भन्नुभयो–‘सबै सुविधाको खोजीमा शहर पसेपछि बाँझो भएका जमिनलाई हराभरा बनाउदै आम्दानी लिन सकिन्छ।’जिल्लामा जलजलाको बाँसखर्क र मोदीको देउपुरपछि ठूलो मात्रामा सुन्तला खेती गरेको पाङराङ, भोक्सिङ क्षेत्र हो । भोक्सिङ गाउँ आफैमा आलु गाउँको रुपमा परिचित छ । ठूलो मात्रामा आलु उत्पादन हुने भोक्सिङ अब सुन्तला गाउँ पनि बन्ने भएको छ ।