बंगलादेश जाने कबड्डी टोलीलाई बिदाइ


काठमाडौं, (नेस)  ।

बंगलादेशमा आयोजना हुने ‘बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता २०२१’ मा प्रतिस्पर्धा गर्न जाने नेपाली कबड्डी टोलीलाई बिहीबार बिदाइ गरिएको छ ।

अखिल नेपाल कबड्डी संघकी अध्यक्ष माननीय सांसद तुलसा थापाले एक कार्यक्रमका बीच नेपाली टोलीलाई शुभकामनासहित बिदाई गरिन् । टोलीलाई बिदाई गर्दै सांसद थापाले नेपाली खेलाडीहरूले उच्च प्रदर्शनका साथ पदक हात पार्नेमा आफू विश्वस्त रहेको भन्दै खेलाडीहरूलाई स्वागत गर्न र पदक हात पारेको खण्डमा नगद पुरस्कारले सम्मान गर्न आफू लालायित रहेको बताइन् ।मार्च २८ देखि सञ्चालन हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेशका २ टोली, पोल्यान्ड, केन्या र श्रीलंका गरी ६ टिमको सहभागिता रहने नेपाली टोली नेता संघका उपाध्यक्ष वीरेन्द्र यादवले जानकारी गराए ।

यादवको नेतृत्वमा बंगलादेश जाने टोलीको प्रशिक्षकमा उमेश कुमार प्रधान र व्यवस्थापकमा विष्णुदत्त भट्ट रहेका छन् । यस्तै, खेलाडीहरूमा लालमोहर यादव, प्रवीण खड्का, रञ्जित गजमेर, रामु टमाटा, विनोद तामाङ, प्रदीप मिजार, कुमार लामा, कल्याण भुजेल, नागेश्वर थारू, बन्धु राना रहेका छन् । यस्तै, निर्णायकमा हिमाल रञ्जित र पशुपति प्रजापति रहेका छन् । टोली आजै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।