पाकिस्तानमा अनिताले गरिन् १६ गोल


नेपाल समाचारपत्र, काठमाडौं  ।

नेपाली फुटबलर अनिता केसीले पाकिस्तानमा जारी नेसनल वोमेन्स च्याम्पियनसिप अन्तर्गतको एक खेलमा एक्लैले १६ गोल गरेकी छन् ।
मंगलबार भएको खेलमा अनिता सम्मिलित टिम मासा युनाइटेडले कराची एफसीलाई करिब ३ दर्जन गोलअन्तरले हरायो । मासाले ३५–० गोलअन्तरले जित्दा नेपाली खेलाडीहरूकै वर्चश्व रहेको छ । अनिताले १६ गोल, सरु लिम्बूले १० गोल तथा गीता राना र गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले २÷२ गोल गरे । अरु ५ गोल भने पाकिस्तानी खेलाडीको नाममा रहेको थियो ।

यो मासाको जारी प्रतियोगितामा लगातार तेस्रो जित समेत थियो । विजेता टिमले पहिलो हाफमै १५ गोल गर्दा दोस्रो हाफमा २० गोल थपेको थियो । खेलमा अनिताले ११, १३, १६, १९, ३७, ४० औं मिनेटमा गोल गर्दै पहिलो हाफमै दोहोरो ह्याट्रिक पूरा गरिन् । उनले पहिलो हाफको इन्जुरी समयमा थप एक गोल गरिन् ।
अनिताले दोस्रो हाफमा पनि लगातार गोल गरिन् । उनले ५५, ५७, ६०, ७०, ७३, ८७, ८८, ८९ र ९० औं मिनेटमा गरी दोस्रो हाफमा ९ गोल गरेकी थिइन् । त्यस्तै, सरुले पहिलो हाफमा एक गोल मात्रै गरिन् । तर, दोस्रो हाफमा उनले पनि ९ गोल गरेकी थिइन । यो जितसँगै मासा युनाइटेडले उक्त च्याम्पियनसिपमा ठूलो जितको कीर्तिमान रचेको छ । साथै, २००८ मा डब्ल्युएपीडीएले पेशावरविरुद्ध जितेको ३२–० को कीर्तिमानलाई ओझेलसमेत पारेको छ ।

पाकिस्तानी फुटबलमा नेपाल महिला फुटबलरहरूले पहिलोपटक सहभागिता जनाएका हुन् । पहिलो सहभागितामै नेपाली खेलाडीहरू चम्केका छन् । अनिता केसी, सरु लिम्बूले गोलकै वर्षासमेत गरेका छन् । अनिताले पहिलो खेलमा सियालकोट सिटीविरुद्ध ६ गोल गरिन् भने सोही खेलमा सरुले १० गोल गरेकी थिइन् । एक गोल गीता रानाले गरिन् ।दोस्रो खेलमा अनिताले २ तथा सरुले १ गोल गरेका थिए । योसँगै अनिताले तीन खेलमा कुल २४ गोल गरिन् भने सरुले २१ गोल गरेकी छन् । नेपाली खेलाडीको सहयोगमा मासा युनाइटेड ९ अंकसहित समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ ।