लेस्टर एफए कपको सेमिफाइनलमा


लन्डन, (एजेन्सी) ।

लेस्टर सिटी इंग्ल्यान्डमा जारी एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।प्रतियोगिताअन्तर्गत आइतबार राति भएको क्वार्टरफाइनलमा बलियो टोली म्यानचेस्टर युनाइटेडलाइ ३–१ गोलअन्तरले हराउँदै लेस्टर सिटीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । लेस्टरले आफ्नो घरमा युनाइटेडविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकाल्न सफल भयो ।

लेस्टरका लागि खेलको २४औं मिनेटमा केलेचीले पहिलो गोल गरेका थिए । त्यसपछि, युनाइटेडका लागि ३८औं मिनेटमा मासोन ग्रिनउडले गोल गरेर खेललाई बराबरीमा ल्याए । तर, त्यसपछि भने युनाइटेडले गोलपोस्ट बचाउन सकेन । खेलको ५२औं मिनेटमा लेस्टरका लागि युरी टिलेमान्सले गोल गरेर टिमलाई अग्रता दिलाए । त्यस्तै खेलको ७८औं मिनेटमा केलेचीले नै व्यक्तिगत दोस्रो गोल गरेपछि खेल लेस्टरले ३–१ ले जित्यो ।

आइतबार रातिको खेलसँगै सेमिफाइनल पुग्ने चारवटै टोलीको पनि टुंगो लागेको छ । अब पहिलो सेमिफाइनल खेल लेस्टर र साउथ ह्यामपटनबीच हुनेछ भने दोस्रो सेमिफाइनलमा म्यानचेस्टर सिटी र चेल्सीको रोमाञ्चक भिडन्त हुनेछ । दुवै सेमिफाइनल खेल अप्रिल १७ मा हुनेछ ।