एनएसएलका लागि टिम तयार


फिरोज राजोपाध्याय, काठमाडौं ।

आगामी वैशाखमा हुने नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा सहभागी हुने सातै टिमले आ–आफ्नो टिम तयार गरिसकेका छन् । वैशाख ११ गतेदेखि २५ गतेसम्म दशरथ रंगशालामा प्रतियोगिता आयोजना हुनेछ । नेपाल स्पोर्टस् एन्ड इभेन्ट मेनेजमेन्टले प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा आयोजना गर्न लागेको हो ।

त्यो पनि पहिलोपटक अक्सन गरेर खेलाडी छनोट गरेर प्रतियोगिता आयोजना गर्न लाग्दा यो भन्दा रमाइलो क्षण अरू के होला ? फुटबलमा यतिका दशक बितिसक्दा अहिले आएर फ्रेन्चाइजी प्रतियोगिता शुरू हुनेले नै फुटबल खेलाडीलाई मात्र होइन फुटबलका लाखांै दर्शकका लागि पनि रोमाञ्च गर्न सक्छ ।भन्नै पर्दा नेपाली फुटबल पनि व्यावसायिकतिर लागेको छ । सधैं, ‘ए’ डिभिजन ‘बी’ डिभिजन, मोफसल प्रतियोगिता खेलिरहेका नेपाली फुटबल प्रेमीका साथै फुटबलरहरूलाई यसले नयाँ स्वाद पस्कनेछ । त्यसो त नेपालमा क्रिकेट खेल व्यवसायमा पहिल्यै पुगिसकेको छ । तर, एनएसएलको शुरुआत हुने भएपछि अहिले फुटबलको चर्चा निकै भइरहेको छ ।

खेलाडीहरू उत्साहित छन्, जसले अधिकतम मूल्य पाए । जसले कम मूल्य पाए वा बिक्री नभएका खेलाडी भने निराश नै भएका छन् । तर, जे भए पनि फुटबलमा व्यावसायिकको पाइला अघि सरेको छ । यसबाट नेपालमा नयाँ फुटबल खेलाडीको उत्पादन हुने विश्वास गरिएको छ । साथै, लिगले राष्ट्रिय स्तरका खेलाडीलाई पनि व्यस्त पार्नेमा कुनै शंका छैन ।तर, प्रतियोगितामा विक्रम लामा, विमल घर्तीमगर, किरण चेम्जोङ, रोहित चन्द, अनन्त तामाङ जस्ता खेलाडी भने हुने छैनन् । उनीहरू कोही देशबाहिर खेलिरहेका, कोही घाइते भएका र कोही विशेष कारण देखाइ अक्सनमा नभएका हुन् । उनीहरूको अनुपस्थितमा प्रतियोगितामा रौनक कम हुने हो कि भन्ने पनि शंका रहेको छ ।

प्रतियोगितामा विराटनगर सिटी एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र एफसी चितवन गरी सात टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि यी टिमहरूले चैत ६ गते आ–आफ्ना टिममा खेलाडीहरू पनि अनुबन्ध गरिसकेका छन् । टिमहरूले मार्की खेलाडीबाहेक अन्य खेलाडीलाई अक्सनमा किनेका हुन् । अक्सनमा परेका खेलाडीलाई ए, बी र सी गरी तीन श्रेणीमा बाँडिएका थिए । जसमा १ सय ४९ खेलाडी अक्सनमा उपलब्ध गराएकोमा ९८ जना खेलाडी बिके । प्रत्येक टिमले १४ जना खेलाडी किन्न अधिकतम बजेट १५ लाख ५० हजार रकम छुट्याएको हो ।