भर्चुअल महोत्सवमा नाटक



शैली थिएटरले यस वर्ष बाह्रौं राष्ट्रिय बाल नाटक महोत्सव भर्चुअलरूपमा आयोजना गरेको छ। महोत्वसको पहिलो दिन चुलाचुली रंगमञ्चको नाटक रिट्ठु मञ्चन गरिएको थियो।

नाटकमा द्वन्द्व कालमा राज्य र आन्दोलनरत पक्षबाट चेपुवामा परेका बालबालिकाको विषय समेटिएको थियो। दोस्रो दिन पुष्पराज अवस्थीको लेखन र निर्देशनमा नाटक भूमिका प्रस्तुत गरिएको थियो। नाटकमा बलात्कारपछि बीभत्स हत्या गरिएका बालिकाको कथा समेटिएको थियो। कलाकारहरूले बोल्ने संवाद सुदूरपश्चिमेली लवजमा भएका कारण अझ नाटकमा सुन्दरता थपेको थियो। मंगलबार सुनील ढुंगानाको भुन्टे र बुधबार मर्निङ स्टार सुर्खेतको अक्षर देखाइएको थियो भने बिहीबार कोटदेवी पब्लिक स्कुलको महिला हिंसा, शुक्रबार समता शिक्षा निकेतनको नाटक, शनिबार सुपूर्व क्याटलिस्ट धादिङको के समाज अझै सुध्रिएको हो त?, आइतबार दर्शना स्कुलको इमानदार दाउरे, सोमबार कर्मी नाट्य समूहको नयाँ कदम नाटक प्रसारण देखाइने महोत्सवका सहनिर्देशक सुवास सुवेदीले जानकारी गराएका छन्।

बाह्रौं राष्ट्रिय बाल नाटक महोत्सवका निर्देशक नवराज बुढाथोकीले विगतका बाल नाटक महोत्सवको अलग्गै रौनक हुने गरे पनि समयले सिर्जना गरेको बाध्यात्मक परिस्थितिभित्र रहेर भर्चुअलरूपमा महोत्सव आयोजना गरेको बताए। आगामी १२ गतेसम्म महोत्सवमा चल्ने महोत्वसका नाटकको भिडियो शैली थिएटरको युट्यब च्यानलमार्फत प्रसारण गरिने आयोजकले जनाएका छन्। महोत्सवमा सहभागी नाटकमध्ये उत्कृष्ट तीन नाटकलाई पुरस्कृत गरिने तथा महोत्सवको नतिजा चैत तेस्रो साताभित्र आइसक्ने निर्देशक बुढाथोकीले बताए।

प्रतिक्रिया दिनुहोस्