स्वास्थ्य विमा कार्ड दुरुपयोग गरी रकम असुल्दै औषधी पसल


भद्रपुर नेस।

झापाको एउटा औषधि पसलले एउटाको विमा कार्डबाट दोस्रो व्यक्तिलाई उपचार गराउँदै रकम असुल्ने गरेको पाइएको छ ।उपचारका लागि मेची अञ्चल अस्पताल पुगेकी भद्रपुर ८ की २२ वर्षिया गर्भवती महिला ममता विक खडकालाई अस्पताल परिसरमा सञ्चालित सु्ष्मा मेडिकल हलले उपचार गराए वापत रकम असुल गरेको पीडित महिलाको आरोप छ ।

गर्भवती महिलालाइ मेडिकलका दाताराम र गोमा सिटौलाले भद्रपुर ८ की दीपिका राजवंशीको स्वास्थ्य बिमा कार्ड प्रयोग गरी विकको उपचार गराएका थिए । उनीहरुले दीपिकालाइ पनि परिवारमा राखेर बिमा कार्ड बनाएका थिए ।उपचार पश्चात मेडिकलले २ हजार २ सय रुपैयाँ लिएको पीडितका श्रीमान प्रकाश खडकाले बताउनुभयो । उपचार गराए वापत कुनैपनि पुर्जा विरामीलाई नदिएको उहाँको भनाइ छ ।उपचारको क्रममा उनीहरुले डेलिभरीका लागि ६० हजार रुपैयाँ जति खर्च हुने बिरामीलाइ भनेका थिए । धेरै रकम लाग्ने भएपछि खर्च जोहो गर्ने क्रममा उनीहरुले भद्रपुर ८ मा रहेको लभकुश आश्रमकी अध्यक्ष रञ्जु शर्मालाई भने उनीहरु शर्माकै घरमा भाडा तिरेर बस्दै आइरहेका थिए ।रञ्जुले उक्त कुरा थाहा पाएपछि विरामीका परिवारलाई लिएर सुष्मा मेडिकल पुगेपछि घटना सार्वजनिक भएको थियो । अस्पतालको पुर्जामा राजवंशीको उमेर १७ वर्ष उल्लेख गरी डेलिभरी अल्ट्रा साउण्ड लगायतको चेकजाँच गरिएको छ । अस्पतालका रेडियोलेजिष्ट सञ्जय गुप्ताले चेकजाँच गरेको पुर्जामा उल्लेख छ । पटक– पटक सोही नामबाट चेकजाँच गराइएको छ ।

अन्तिम पटक जनवरी २८ मा दीपिकाको विमा नम्बर ०६८८३१७११ बाट २ हजार ४ सय रुपैयाँ खर्च देखिएको छ । ज्याला मजदुरीबाट जीविकोपार्जन गर्दै आएका यस्ता गरिवबाट रकम असुल्नु गम्भिर त्रुटी भएको शर्माको भनाइ छ ।मेची अञ्चल अस्पतालमा विमा सम्बन्धी काम अव्यवस्थित भएको स्वास्थ्य बिमा बोर्ड झापाकी प्रमुख लक्ष्मी कणेलले बताउनुभयो । अस्पतालको चरम लापारबाही भएको उहांको भनाइ छ ।यस विषयमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट पिताम्बर ठाकुरले औषधि बिक्रेतालाइ सोधिने आश्वासन दिनुभयो । मानवीय अवस्थालाई हेरेर बिमा कार्ड प्रयोग गरिएको मेडिकल हलकी गोमा सिटौलाले बताउनुभयो ।
बिरामीबाट रकमको लेनदेन नभएको उहाँले दावी गर्नुभयो । विरामीकी आमा चिनजान भएकोले कार्ड दिएर सहयोग मात्र गरेको उहाँको भनाइ छ ।