मनीषाको महामृत्युञ्जय मन्त्र

0
Shares

रश्मी थापा ।

बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइराला बिहीबार पाटन दरबार क्षेत्रस्थित पाटन म्युजियमको प्राङ्गणमा पहिलोपटक गायिकाका रुपमा प्रस्तुत भइन्। उनले लोकप्रिय सांगीतिक समूह सुर सुधासँग सहकार्य गरेर गाएको महामृत्युञ्जय मन्त्रको भिडियो सार्वजनिक कार्यक्रममा प्रत्यक्ष मन्त्र गाएर सुनाउँदा प्रांगण दर्शकको तालीले गुन्जिन पुग्यो।

उनलाई गायिका सरस्वती खत्री र सुरेन्द्र्र सुरसुधाले गायनमा साथ दिएका थिए। कार्यक्रममा मनिषाले आफूलाई तीन वर्षअघि नै गाउने सोच आएको बताइन्। ‘तीन वर्षअघि नै मैले सुरेन्द्र दाइसँग मलाई भजन टाइपको केही गाउने मन छ भनेकी थिएँ। त्यसपछि हामीले रिहर्सल गर्यौं र गाना गायौं पनि। महामृत्युञ्जय मन्त्र मलाई यो मानेमा पनि विशेष छ कि मलाई क्यान्सर भएर महाराजगन्जको घर छोडेर उपचारका लागि अमेरिका गएको बेला मेरो घरमा महामृत्युञ्जयको हवन भइरहेको थियो।’ –मनिषाले सुनाइन्। उनले आफूले पहिलोचोटी गाएको भए पनि दर्शकले मन पराएको खण्डमा अन्य गीत पनि गाउने बताइन्। मानिस अस्वाभाविक मृत्युबाट बच्न र राम्रो स्वास्थ्यका लागि यो मन्त्र तयार गरिएको गायिका मनिषाले जानकारी दिइन्। ‘यसलाई पश्चिमी र पूर्वी संगीतमा एरेन्ज गरेका हौं।’ –मनिषाले भनिन्।

पशुपतिनाथलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलमा छायांकन गरिएको भिडियोमा मनिषाका साथमा सरस्वती खत्री, सुरेन्द्र श्रेष्ठ तथा सुर सुधा ब्यान्डका सदस्यहरुलाई देख्न सकिन्छ। सुरेन्द्र श्रेष्ठको संगीत रहेको महामृत्युञ्जय मन्त्रमा प्रेम रानाले बाँसुरी, सुरेन्द्र श्रेष्ठले तबला, सितारमा राजीव श्रेष्ठ र गितारमा राजीव सुनारले साथ दिएका छन्। महामृत्युञ्जयको भिडियोमा अनुप सापकोटाको निर्देशन, परिकल्पना र सम्पादन रहेको छ।

महामृत्युञ्जय मन्त्रको भिडियो प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका थिए भने विशेष अतिथिको रुपमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनको उपस्थिति थियो। कार्यक्रममा सरस्वती खत्रीले शुभ कामनाभरी बोलको गीत प्रस्तुत गरेकी थिइन् भने सुरसुधा ब्यान्डले एक नेवारी धुन प्रस्तुत गरेको थियो।