डोटीका भूमिहीन वादी समुदायका परिवारकालागि घर बन्दै


विमल विष्ट , डोटी ।

वर्षौदेखि घर र जमिन नभएका डोटीका वादी समुदायका लागि यहाँको दिपायल सिलगढी नगरपालिकाले जमिन खरिद गरेर घर निर्माण गर्न सुरु गरेको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं. ४ स्थित सरकारी जसमनमा बस्दै आएका वादी समुदायका भूमिहीन सात परिवारकालागि अब घर बन्ने भएका छन् ।नगरपालिकाले कार्यविधी बनाएर ती सात परिवारलाई जग्गा उपलब्ध गराएपछि सुदूरपश्चिम प्रदेश सरकारले आवासका लागि २÷२ कोठे घर पनि निर्माण गर्नका लागि शिलान्यास गरिएकोनगर प्रमुख मञ्जु मलासीले जानकारी दिनुभयो ।दुइ कोटे सात घर निर्माणका लागि रु ४१ लाख ४९ हजार ९८ रुपैंया ७६ पैंसामा ठेक्का सम्झौता भएको छ ।

आफ्नो चुनावी घोषणा पत्रको एजेण्डा, पार्टीको सरसल्लाह र संवीधानमा भएको व्यवस्था बमोजिम भूमिहीन वादी समुदायका सात घरपरिवारलाई नगरपालिकाले जग्गा खरिद गरी लालपूर्जा प्रदान गरि घर निर्माणका लागि शिलान्यास गरिएको नगर प्रमुख मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “घर जमिन नभएर सुकम्बासी भएर सार्वजनिक जमिनमा बसेका वादी समुदायका लागि घर निर्माण गर्ने हाम्रो योजना र लक्ष थियो, सोही अनुसार अहिले जग्गा खरिद गरी घर निर्माणको काम सुरु भएको छ ।” घर निर्माणका लागि नगरपालिकाले कार्यविधि नै बनाएर आर्थिक वर्ष २०७५÷२०७६ को रु १२ लाख रकमबाट तीन घरपरिवारलाई र आर्थिक वर्ष २०७६-०७७ को रु १२ लाख रकमबाट चार घरपरिवारलाई गरी जम्मा सात घरपरिवारलाई जग्गा धनी लालपूर्जा वितरण गरिएको छ ।

दिपायल सिलगढी नगरपालिकाले विसं. २०७६ वैशाख ५ गते पुस्कर वादी, गणेशबहादुर वादी र श्याम दासलाई उक्त जग्गाधनी पूर्जा प्रदान गरेको थियो भने माया वादी, भक्तबहादुर दास, तेजबहादुर दास, दीलबहादुर वादीलाई आज जग्गाधनी पूर्जा प्रदान गरेको दिपायल सिलगढी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त जग्गा विक्रिवितरण भने गर्न नपाईने गरी जग्गाधनी पूर्जा प्रदान गरिएको छ । दिपायल सिलगढी नगरपालिकाले उनीहरुकालागि जग्गा उपलब्ध गराएपछि प्रदेश सरकारले घर निर्माणमा सहयोग गरेको हो ।चालु आर्थिक वर्षको असार मसान्तभित्र सात वटै घरहरु निर्माण गरिसक्ने गरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग गएको माघ १० गते सम्झौता भई निर्माणको जिम्मा पाएको नागार्जुन कन्स्ट्रक्शन कञ्चनपुरका प्रतिनिधी सुचित्र शाहले बताउनुभयो ।दुइ कोटे सात घर निर्माणका लागि रु ४१ लाख ४९ हजार ९८ रुपैंया ७६ पैंसामा ठेक्का सम्झौता भएको छ ।

साथै निर्माण कार्यको ह्याविटेट नामक सँस्थाले प्राविधिक सहयोग गर्ने भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति डोटीका अध्यक्ष गणेश बिष्टले जानकारी दिनुभयो । आफ्नो जग्गा जमिन तथा घर नभएका कारण यहाँका बादी समुदायका बालबालिकाहरु पढ्नबाट बञ्चित भएका कारण ती वादी समुदायको घर निर्माणसँगै शिक्षा, स्वास्थ्य, रोजगार लगाएतका कुराको पनि व्यवस्था हुन सके राम्रो हुनेडोटीका निमित्त प्रमूख जिल्ला अधिकारी एवं सहायक प्रमूख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो घर र जमिन नभएका कारण वादी समुदायका बालबालिका पढाइबाट समेत बञ्चित रहेछन्, घरसँगै अब उनीहरुका लागि शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था हुनु जरुरी भएको छ ।”लामो समयदेखि नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा बसोबास गर्दै आएका वादी समुदायले घर र जमिन पाएपछि अन्य स्थानीयबासी निकै खुसी भएका छन् । आफु लगाएत सात घरपरिवारका लागि लालपूर्जा सहितका घर निर्माण हुन थालेपछि निकै हर्षित भएको स्थानीय माया वादीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घर जमिन नभएका कारण आफुहरुले निकै दुःख कष्ट गर्नु परेको थियो, अहिले सरकारले निःशुल्क घर र जमिन दिएको छ यो भन्दा अरु खुसी के हुन सक्छ र ?” आफ्नो घर र जमिन नभएका कारण यहाँका वादी समुदायहरु बिगतदेखि जिल्लाको विभिन्न ठाउँहरु समूहगाड, तिखा, राजपुर, सुनगडा, सेती प्राबिधिकको मुलगेट, कालागाढ लगाएतका क्षेत्रमा टहरा बनाएर बस्दै आएका थिए । घर निर्माण हुन थालेपछि अहिले सुकम्बासी भएका वादी समुदायमा खुसियाली छाएको छ ।