लैगिंक हिंसाविरुद्ध अनुशिक्षण तालिम


नेपाल समाचारपत्र, काठमाडौं।

१११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरीमा पाँचदिने लैंगिक हिंसाविरुद्ध अनुशिक्षण तालिम सञ्चालन भएको छ ।सशस्त्र प्रहरी बल, नेपाल र यूएन डिपीको सहकार्यमा फागुन २३ गते शुरु भएको उक्त तालिम फागुन २८ गतेसम्म सञ्चालन हुनेछ ।

सो अनुशिक्षण तालिममा लैंगिक शाखा तथा क्षेत्रीय लैंगिक इकाइका काम कर्तव्य र अधिकार, लैंगिकता र यौनिकताको अवधारण, लैंगिकताको दृष्टिकोणबाट कोभिड–१९, महिलाविरुद्ध हुने हिंसासम्बन्धी हालसम्मको घटनाक्रम तथा सबै किसिमका भेदभाव उन्मूलन गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्र विषयमा प्रशिक्षण प्रदान गरिने कुरा सो तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायब उपरीक्षक रजनी थापाले जानकारी गराउनुभयो ।

यसैगरी सो तालिममा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावना नम्बर १३२५ र १८० लैंगिक हिंसा न्यूनीकरण र राष्ट्रिय संयन्त्रहरु (कार्यस्थलमा हुने यौनजन्य हिंसा), अपाङ्गता र लैंगिकता, घरेलु हिंसा कसूर तथा सजाय ऐन २०६६, लैंगिक हिंसाविरुद्धको सरकारी प्रयास, विवाहसम्बन्धी कसूर र सम्बन्ध बिच्छेदलगायत मानव बेचविखन तथा ओसारपसारजस्ता विषयमा आन्तरिक तथा अतिथि प्रशिक्षकहरुद्वारा प्रशिक्षण गराइने सशस्त्र प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।
सो अनुशिक्षण तालिममा प्रदेश नम्बर २ स्थित नेपाल एपीएफ एकाइमा कार्यरत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ ।