हत्याको ४ घण्टाभित्रै आशंकित पक्राउ


गोकुल घोरसाइने, बारा ।

बाराको निजगढ नगरपालिकामा एक किशोरको हत्या आरोपमा मंगलबार प्रहरीले रौतहटबाट एक युवकलाई पक्राउ गरेको छ । घटना भएको ४ घण्टाभित्रै प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ती युवकलाई पक्राउ गरेको हो ।

प्रहरीले बाराको निजगढमा १८ वर्षीय रोहित शर्माको हत्याको आरोपमा उनकै साथी रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ का मक्करे भन्ने ३० वर्षका अरुणकुमार साहलाई पक्राउ गरी मंगलबार जिल्ला प्रहरी कार्यालय बारा कलैयामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । मंगलबार बिहान रोहितको शव घरभित्रै फेला परेको थियो । .चन्द्रनिगाहापुरस्थित अरुण इन्टरप्राइजेज बिस्कुट तथा चकलेट पसलका सञ्चालक अरुणले रोहितलाई निजगढ नगरपालिका–९ स्थित उनकै घरमा हत्या गरेको प्रहरीले जनाएको छ ।पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक गौतम मिश्रले साह र शर्माबीच लागूऔषध सेवन गर्ने विषयमा पटक–पटक विवाद हुने गरेको जानकारी दिँदै साहले योजना बनाएर आफ्नै साथीको हत्या गरेको बताउनुभयो । साहले प्रहरीलाई दिएको बयानमा पटकपटक आफ्नो अपमान गर्ने र पेस्तोलले हानेर मारिदिने धम्की दिँदै आएपछि रोहितको हत्या गर्नुपरेको बताएका छन् ।

रोहितको हत्या गर्ने उद्देश्यले साह सोमबार राती ९ बजे चन्द्रनिगाहापुरबाट निजगढस्थित रोहितको घर गएका थिए । अरुणसँगै सुतेका उनले बिहान ४ बजे चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।घटनालगत्तै प्रहरीले प्रहरी नायब उपरीक्षक एवं जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रको नेतृत्वमा अनुसन्धान टोली खटाएको थियो । मिश्रसहितको टोलीले चन्द्रनिगाहापुरस्थित एउटा पसलबाट हत्यामा प्रयोग भएको चक्कु, रगतले लतपत भएको कपडा र मोटरसाइकलसहित साहलाई पक्राउ गरेको थियो । पसलबाटै पक्राउ परेका साहको हातमा चोट लागेको थियो ।

साथीको हत्या गरेर साह बिहान साढे चार बजे मोटरसाइकल चढेर बाहिरिएको निजगढ प्रहरीले राजमार्गमा राखेको सीसीटिभी फुटेजमा देखिएपछि प्रहरी टोली चन्द्रनिगाहपुर पुगेको थियो । साह ना १३ प ७२१२ नम्बरको मोटरसाइकल चढेर चन्द्रनिगाहातर्फ भागेका थिए । साहमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।