ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ केन्द्र


नेपाल समाचारपत्र, बैतडी  ।

६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई आज २३ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइनका लागि ४८ वटा खोप केन्द्र तोकिएको छ । दोस्रो प्राथमिकताको पहिलो चरणमा जिल्लाका ५ स्थानीय तहका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको हो ।

जसका लागि प्रत्येक वडामा गरी ४८ खोप केन्द्र तोकिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । फागुन २७ गतेसम्म सञ्चालन हुने अभियानमा खोप लगाउन आउने व्यक्तिले उमेर खुल्ने परिचयपत्र अनिवार्य ल्याउनुपर्नेछ ।१० स्थानीय तहमध्ये चिकित्सक भएका ५ स्थानीय तहमा मात्रै हाल खोप अभियान सञ्चालन गरिन लागिएको प्रमुख भट्टले बताउनुभयो । दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, पुर्चौडी नगरपालिका, मैलोली नगरपालिका र दोगडाकेदार गाउँपालिकामा खोप अभियान सञ्चालन हुने बताउँदै उहाँले भन्नुभयो– ‘खोप लगाइसकेपछि हुन सक्ने आवाञ्छित घटना व्यवस्थापनका लागि चिकित्सकसहित मेडिकल टिम भएको स्थानीय तहमा अभियान सञ्चालन गर्दै छौं ।’ हाल जिल्लामा १३ हजार डोज खोप मौज्दात रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि जिल्लामा २ हजार ७ सय बढीलाई कोरोनाविरुद्धको खोप लगाइसकेको छ । जसमा पहिलो प्राथमिकताको पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, शव व्यवस्थापनमा खटिएका कर्मचारी र दोस्रो चरणमा पत्रकार, कर्मचारी, सुरक्षा निकाय, जनप्रतिनिधिलगायतलाई खोप लगाइएको थियो ।पहिलो चरणका लागि जिल्ला अस्पतालमा मात्रै खोप केन्द्र तोकिएको थियो भने दोस्रो चरणमा ५ खोप केन्द्र तोकिएका थिए ।
यसैबीच पहिलो चरणमा पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज वैशाख ७ गते र दोस्रो चरणमा खोप लगाएकालाई जेठ ९ गतेदेखि दोस्रो डोज दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।