आफैले हटाए सर्वोच्चमा सुनुवाइको पेसी

पूर्वप्रमुख आयुक्त बस्न्यातको थुना प्रकरण


विकास भट्टराई, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले आफूलाई थुनामा पठाउने विशेष अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको निवेदनको पेसी शुक्रबार आफैले स्थगित गराउनुभएको छ ।पूर्वप्रमुख आयुक्त बस्न्यातको निवेदनमाथि सुनुवाइका लागि न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलास तोकिएको थियो । सो निवेदनको सुनुवाइको क्रम संख्या ‘ठ’मा थियो ।

तर बस्न्यात आफैले निवेदनको पेसी स्थगित गरी पाउन निवेदन इजलासले मागबमोजिम हुने गरी अनुमति दिएको हो ।अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई बालुवाटारको ललिता निवास प्रकरणमा दोषी ठह¥याउँदै गत मंसिर २८ गते विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो अदालतका अध्यक्ष प्रेमराज कार्की तथा सदस्यद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गालाई व्यक्तिको नाममा बनाएर भ्रष्टाचार गरेको आरोप लागेपछि विशेष अदालत हाजिर हुन पुगेका बस्न्यातलाई शुरुमा बयान लिइएको थियो । लामो समय बयान लिएर बस्न्यातलाई धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने वा थुनामा पठाउने भन्ने सम्बन्धमा बहस भएको थियो ।

अदालतले तत्काल प्राप्त प्रमाणबाट बस्न्यात दोषी हो भन्ने देखिएको उल्लेख गर्दै उहाँलाई कानुनले पाउने सिदा खान पाउने गरी कारागार पठाउन आदेश दिएको हो । सो आदेशबमोजिम उहाँ हालसम्म डिल्लीबजार कारागारको थुनामा हुनुहुन्छ ।बस्न्यातलाई भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहँदा ललिता निवासको जग्गा मोहीको नाममा बाँड्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको आरोप लागेको छ । त्यसरी प्रस्ताव लाने क्षेत्राधिकार सो मन्त्रालयलाई नभएको पनि आरोप अख्तियारले लगाएको छ ।अख्तियारले यसअघि बस्न्यातसहितलाई प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।