‘लँगडो सरकार’ भन्दा अपाङ्गता भएका सबै नेपाली दुःखी


नेपाल समाचारपत्र, काठमाडौं ।

वर्तमान सरकार प्रतिनिधिसभाको विघटन गर्ने सिफारिस गरेका कारण विभिन्न पक्षबाट आलोचना खेपिरहेको छ । सर्वोच्च अदालतमा परेको मुद्दा र पुनःस्थापनाको फैसलाले पनि आलोचना गर्नेलाई थप आधार दियो । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नैतिकताको आधार’मा राजीनामा दिनुपर्छ भन्नेहरु नयाँ–नयाँ शब्द खोज्दै सरकारलाई गाली गरिरहेका छन् ।

प्रधानमन्त्रीको पागलपन, लँगडो सरकार’ पछिल्लोपटक बारम्बार सुनिएका शब्दावली हुन् । तर, प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलन गरिरहेका अभियन्ताहरुसमेत ‘लँगडो सरकार’ भनेकोमा आक्रोशित छन् ।‘सञ्चारमाध्यममा लुलो, लँगडो,डुडो, पुड्को, अन्धो, कानो, लाटो, पागल, बौलाहा आदि शब्दको प्रयोग भइरहन्छ, हामी अपाङ्गता भएका लाखौं नागरिकको मन छियाछिया हुन्छ’, अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि अभियान चलाउँदै आएका जगदीशप्रसाद अधिकारीले भन्नुभयो– ‘लँगडो सरकार’ भनेर नेताहरु बोलिरहेका छन्, सरकारसँग निरपेक्ष रहेका हाम्रो मानव अधिकार हनन भइरहेको छ ।’नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशकसमेत रहेका अधिकारीले सोमबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा व्यक्त गरेको यो भावना अपाङ्गता भएका सचेत अभियन्ताहरुमा मात्र छैन, मानव सभ्यता बुझेका र मानव अधिकारका पक्षमा वकालत गर्दै आएका आम व्यक्तिहरु ‘विभेद र हिंसाको भाव दिने शब्दको प्रयोग गर्नु असभ्यताको परिचय हो’ भनिरहेका छन् ।

अन्तरक्रियामा कुनै पनि सञ्चारमाध्यमबाट आपत्तिजनक शब्दावलीको प्रयोग नगर्न प्रभावशाली मिडियाका अगुवाहरुले प्रतिबद्धता पनि जनाए । प्रेस काउन्सिल नेपालको आयोजना, ओपन सोसाइटी फाउन्डेसनको आर्थिक सहयोग तथा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको संयोजनामा अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ को प्रभावकारी कार्यान्वयनको विषयमा भएको अन्तरक्रियामा विभिन्न सञ्चारमाध्यमका अगुवाले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।सञ्चारमाध्यम तथा कुनै पनि भाषण वा सार्वजनिक अभिव्यक्ति दिँदा अपाङ्गता भएका व्यक्तिहरुलाई चोट नपर्ने गरी बोल्न, सभ्य भाषा प्रयोग गर्न नेपाल अपाङ्ग मानव अधिकार केन्द्रकी अध्यक्ष तारावदन सेडाईंले सबैलाई आह्वान गर्नुभयो ।प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झवेन्द्र भुसालले अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ को विषयमा जानकारी दिँदै यस निर्देशिकामा उल्लेख भएअनुसार सञ्चारकर्मीले अपाङ्गता भएका व्यक्तिहरुका सवालमा सामग्री संकलन गर्नुपर्ने र सञ्चारमाध्यमले पनि सोहीअनुरुप प्रकाशन तथा प्रसारण गर्नुपर्ने बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता दीपक खनालले समाचार लेख्दा, प्रकाशन तथा प्रसारण गर्दा, सूचना वा विज्ञापन तथा वृत्त चित्रहरु बनाउँदा पनि अपाङ्गता भएका व्यक्तिहरुको आत्मसम्मानमा चोट पुग्ने शब्दहरु प्रयोग गर्न नहुने बताउनुभयो ।अन्तरक्रिया कार्यक्रममा प्रेस काउसिन्ल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले सञ्चारकर्मीले अपाङ्गता भएका व्यक्तिहरुको आत्मसम्मानमा चोट पुग्ने शब्दहरु प्रयोग गर्न नहुने, सही र गलत शब्दहरुको विषयमा जानकार हुनुपर्ने, तथा अबका दिनमा अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रेस काउन्सिल नेपालबाट बजेट छुट्याइने बताउनुभयो ।अन्तरक्रिया कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुका लागि प्रयोग गर्न सकिने सभ्य शब्दावली भएको स्टिकर पनि सार्वजनिकीकरण गरिएको थियो ।