एसयुभी र ट्रक एकआपसमा ठोकिंदा १५ जनाको मृत्यु


लसएन्जल्स ।

सुरक्षा मापदण्ड ख्याल नगरी २७ जना यात्रु चढेको एउटा एसयुभी गाडी गिट्टी वोकेको सेमी ट्रकसंग ठोकिंदा एसयुभीमा सवार १५ जनाको मृत्यु भएको छ भने अरु घाइते भएका छन् ।

इम्पेरियल काउन्टीमा मंगलबार विहान भएको उक्त दुर्घटनामा त्यति धेरै यात्रुहरु किन एउटा एसयुभीमा चढेका थिए भन्ने पुष्टि भएको छैन । दुर्घटना हुंदा १४ जनाको घटनास्थलमा र एकजनाको अस्पतालमा मृत्यु भएको थियो ।ट्रकसंग ठोकिएको सो एसयुभीमा अगाडिका दुइवटा सीट मात्रै थिए भने पछिल्लो भागमा कुनै सिट नराखी मानिसलाई कोचेर राख्दा भयानक दुर्घटना भएको थियो । दुर्घटनाको क्रममा एसयुभीमा रहेका केही यात्रुहरु उछिटिएर सडकमा पछारिएका थिए ।

अमेरिका र मेक्सिकोको सीमाभन्दा १० माइलमात्रै टाढा भएको सो दुर्घटनामा अधिकांस आप्रवासीहरु परेको वताइएको छ । घाइतेहरुलाई तत्कालै एयर एम्वुलेन्सवाट अस्पताल पुर्याइएको थियो ।दुर्घटनावाट कुच्चिएको एसयुभीमा च्यापिएका यात्रुहरुलाई निकाल्नका लागि ड्राइभर सीट समेत काट्नु परेको थियो । दुर्घटनाको क्रममा चालकको पनि निधन भएको थियो ।

मृत्यु हुने अधिकांस यात्रुहरु २० देखि ५५ वर्षका थिए । एकजना भने १६ वर्षको यात्रु पनि घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुले दुर्घटनामा मर्ने र घाइते हुनेहरुको नाम सार्वजनिक गरेका छैनन् ।