ओलीले पश्चताप गरे सहकार्य हुन्छ: नेपाल


नेपाल समाचारपत्र, विराटनगर  । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पश्चाताप गरेर आए ओली समूहसँग सहकार्य गरेर अघि बढ्न सकिने बताउनुभएको छ । प्रेस संगठन मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।

प्रतिगमन गरेकोमा पश्चाताप गर्नुको साटो उल्टै प्रम ओलीले आफूलाई असुरक्षा भएको भन्दै हिँडिरहेकाले पश्चाताप गरे उहाँको सुरक्षाका लागि आफूहरूले पहल गर्ने नेता नेपालको भनाइ छ । पश्चाताप गरेर नआएको खण्डमा प्रतिगमनविरुद्ध आन्दोलनमा उत्रेका अन्य दलहरूसँग मिलेर अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो । नेता नेपालले एमसीसीलगायतका विवादित विषयमा पनि छलफल गरेर टुंगो लगाउनुपर्ने धारणा राख्नुभयो ।नेकपाको आधिकारिकता विवादका सम्बन्धमा उहाँले आफूहरूको समूह नै आधिकारिक भएको बताउनुभयो । आफूहरूले निर्वाचन आयोगमा पनि दावा प्रस्तुत गरिसकेको नेपालले बताउनुभयो । ‘बहुमत भएको पुष्टि गर्न निर्वाचन आयोगमा केन्द्रीय सदस्यहरूको ब्लड टेस्ट, खकार टेस्ट, नागरिकता, लाइसेन्स के–के चाहिन्छ सबै उपलब्ध गराउन हामी तयार छौं ।’ –नेपालले भन्नुभयो ।
प्रधानमन्त्रीको सुरक्षा हामी गछौं ।

माधवकुमार नेपालले प्रधानमन्त्रीको सुरक्षा आफूहरु गर्ने बताउनुभएको छ । प्रधानमन्त्री नै असुरक्षित हुनुभएको हो भने आफ्नो दल सुरक्षा दिन तयार रहेको उहाँको भनाइ छ । उहाँले प्रधानमन्त्रीदेखि सबैको सुरक्षाप्रति संवेदनशील हुनुपर्ने बताउनुभयो । ‘प्रधानमन्त्रीज्यूले आफू असुरक्षित भएको बताएको मैले पनि सुनेको छु’, नेपालले भन्नुभयो– ‘देशका प्रधानमन्त्री नै असुरक्षित हुने हो भने नागरिकको अवस्था के होला ? हामीलाई त त्यस्तो लाग्दैन, बरु उहाँलाई हाम्रो दल नेकपाले सुरक्षा दिन्छ ।’पूर्वप्रधानमन्त्री नेपालले संसद् अधिवेशनसँगै राजनीतिक गतिरोध सहजतातर्फ अघि बढ्ने बताउनुभयो । प्रतिगमनका विरुद्धमा रहेका सबै दलसँग राजनीतिक निकास र नयाँ सरकार गठनका विषयमा हातेमालो गर्ने उहाँले बताउनुभयो । सरकारविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव अघि बढाउने विषयमा नेता नेपालले तत्काल केही नबोल्ने बताउनुभयो ।

त्यसका लागि प्रतिगमनको विपक्षमा रहेका प्रमुख तीन दलसँग छलफल गर्ने भन्दै उहाँले भन्नुभयो– ‘हामीले दर्ता गरेको प्रस्तावमा सहयोग गर्नुस् । सक्नुहुन्न भने तपाईंहरु प्रस्ताव अगाडि बढाउनुस् हामी सहयोग गर्छौं ।’