सर्वोच्चको फैसलाले देश अन्त्यै मोडियो : प्रधानमन्त्री ओली


नेपाल समाचारपत्र, पोखरा  ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी बाटोमा पुगिसकेको देशलाई सर्वोच्चको फैसलाले रोकिदिँदा देश अन्तै मोडिएको बताउनुभएको छ । पोखरा सभागृहमा आयोजित नेपाल कम्युनिस्ट पार्टी ओली समूहको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

देशी–विदेशी शक्तिहरुबाट गम्भीर षड्यन्त्र भएपछि प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मार्गमा हिँडेको ओलीले बताउनुभयो । उहाँले जनताका बीचबाट टुंगो लाग्नु अलोकतान्त्रिक कसरी हुने भन्दै आवधिक निर्वाचनका कुरा, धारा ७६ को ७ र धारा ८५ लगायतका प्रधानमन्त्रीका अधिकारको कुरालाई दबाएको बताउनुभयो ।‘चुनाव भएको भए अहिलेसम्म देश कहाँ पुगि सक्थ्यो, चुनावको एउटा गतिमा गइसकेको थियो । देश अब अन्योलमा गयो अलमलमा प¥यो ।’ –प्रम ओलीको भनाइ छ ।

आगामी २३ गते प्रतिनिधिसभाको बैठक बस्ने र आफूलाई विधिसम्वत्रूपमा हटाउन प्रचण्ड–माधव पक्षलाई उहाँले चुनौतीसमेत दिनुभयोे । सर्वोच्चको फैसलाले देशलाई स्वस्थ अभ्यास वा अस्वस्थ अभ्यास कतातिर लान्छ आफूहरुले हेर्न बाँकी रहेको उहाँ बताउनुहुन्छ ।यस्तै, प्रधानमन्त्री ओलीले नेपाल विकासोन्मुखबाट विकसित मुलकुको सूचीमा पुगेको बताउनुभयो । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको सोमबार पोखरा महानगरपालिका–३ नदीपुरमा शिलान्यास गर्दै उहाँले संघीय सरकारले सातै प्रदेशमा र प्रदेश सरकारले ७ सय ५३ स्थानीय तहमार्फत विकासका प्रयासलाई अघि बढाउने बाटो लिएको बताउनुभयो ।

तीनवर्षे समयावधिमा विकास निर्माणका धेरै कामले गति लिएको र सो अवधिमा परिवर्तित संरचनानुसार पूर्वाधार विकास एवं कानुन निर्माणका काम अघि बढेको उहाँले बताउनुभयोे ।देश विकासका लागि आराम कम काम बढी गरेको बताउँदै उहाँले गण्डकी प्रदेशको विकास निमार्णमा प्रतिपक्षीले समेत निकै महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवादसमेत दिनुभयो ।