प्रदेशस्तरीय प्रेस काउन्सिल गठन माग

‘केही दिनमा नयाँ सरकार’


नेपाल समाचारपत्र, हेटौंडा  ।
नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य, प्रेस संगठन नेपाल इञ्चार्ज एवम् पूर्वमन्त्री योगेश भट्टराईले प्रम केपी ओलीले आफूले गरेको गल्तीप्रति आत्मालोचनासहित पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

भट्टराईले केही दिनमा ओली सरकार पदमुक्त भएर नयाँ सरकार गठन हुने पनि बताउनुभयो । हेटौंडामा आयोजित प्रेस संगठन नेपाल बागमती प्रदेशको दोस्रो भेलामा पूर्वमन्त्री भट्टराईले राज्यबाट संविधानमाथि प्रहार भइरहेको बताउनुभयो ।उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानरक्षाको पक्षमा लागिपर्न प्रेस संगठनलाई आगह गर्नुभयो । ‘केही पत्रकारहरु प्रतिगमनलाई साथ दिँदै संविधानमाथि प्रहार गर्नेसँग मिल्नुभएको छ । उहाँहरुले जनताप्रतिको उत्तरदायित्व एकपटक सम्झनुपर्छ,’ उहाँले भन्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्माओलीले नेपाली जनताको बलिदानीबाट प्राप्त संविधानमाथि प्रहार गरेको भन्दै आलोचना गर्नुभयो ।प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेकोमा सर्वोच्च अदालतप्रति सम्मान व्यक्त गर्दै उहाँले न्यायालयप्रति जनताको भरोसा र विश्वास बढेको उल्लेख गर्नुभयो । ‘‘ओलीले संविधानमाथि ‘कु’ गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्न खोजे पनि न्यायालयले त्यसो हुन दिएन । जनतालाई कानुनी राज्य महसुस भएको छ,’’ उहाँले भन्नुभयो ।

उहाँले प्रधानमन्त्रीले दिनदहाडै संसद् विघटन गर्दा ‘ठीक हो’ भन्दै त्यसको पछि लाग्नेलाई आफ्नो अस्तित्व रक्षा गर्न चुनौती दिनुभयो । भट्टराईले ओलीलाई कम्युनिष्ट आन्दोलनले नपत्याएको भन्दै अन्य दलमा पनि आन्दोलनको मर्म र भावना नबुझ्दा बढारिनुपरेको स्मरण गर्दै अब ओलीले पदत्याग गरेर कम्युनिष्ट आन्दोलनले सार्थकता पाउने दाबी गर्नुभयो ।नेपाल कम्युनिष्ट पार्टीले गलत काम गर्ने नेतृत्वलाई बारम्बार त्याग्दै आएको अवगत गराउँदै उहाँले अब पनि गलत नेतृत्वलाई त्याग्नुपर्ने अवस्था आएको बताउनुभयो । ‘नेपाल कम्युनिष्ट पार्टीले हिजोका दिनमा बारम्बार गलत काम गर्ने नेतृत्वलाई छाडेको र हाल पुनः सोही अवस्था आएको छ । वर्तमान नेतृत्वलाई छाड्नुपर्ने देखिएको छ,’ उहाँले भन्नुभयो ।उहाँले केही पत्रकारले ओलीले संविधान मिच्दा, संविधानको ‘कु’ गर्दा त्यसको विरोध भन्दा पनि ताली पिट्दै समर्थन गर्नु दुर्भाग्य भएको भन्दै देशमा भएको आमूल परिवर्तनमा प्रेसको भूमिका अतुलनीय रहेको र समग्र प्रेसजगत्प्रतिको स्वतन्त्रता कायम राख्न नेकपा प्रचण्ड–नेपाल समूह कटिवद्ध रहेको बताउनुभयो ।

भट्टराईले सञ्चारमाध्यम एवम् पत्रकारिता सधैं लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा हुनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा प्रेस संगठन नेपाल प्रदेशको दास्रो भेलाबाट पारित घोषणापत्र पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारुमगरले प्रस्तुत गर्नुभएको थियो । घोषणापत्रमा प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने प्रतिगमनकारी निर्णय उल्ट्याउँदै सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गर्न गरेको ऐतिहासिक फैसलाको भेला स्वागत गरिएको छ ।प्रतिगमनलाई निरन्तरता दिन खोज्ने प्रधानमन्त्री ओलीलाई नैतिकताका आधारमा तत्काल राजीनामा गर्न भेलाले माग गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने उद्धेश्यले सरकारले ल्याउने तयारी गरेको सामाजिकसञ्जाल नियन्त्रण सम्बन्धि निर्देशिकाको विरोध गरेको भेलाले सरकारले गरेका पुस ५ गतेपछिका नियुक्तिलगायत नियुक्ति र निर्णय अवैधान ठहर गर्दै बदर गर्न माग गरेको छ ।सञ्चार संघसंस्थासँग सम्बन्धित नियुक्ति गर्दा स्वतन्त्र र निष्पक्ष बनाउन भेलाले आग्रह गरेको छ ।

प्रदेशसभाले निर्माण गरेको सञ्चारमाध्यम व्यबस्थापन सम्बन्धि विधेयक र स्थानीय तहहरुले निर्माण गरेका सञ्चार सम्बन्धि विधेयकमा रहेको प्रेसविरोधी प्रावधान हटाउन प्रदेश र स्थानीय तहमा सञ्चार सम्बन्धि कानुन बनाउँदा सञ्चारक्षेत्रसँग समन्वय गर्न, देशमा सबभन्दा धेरै सञ्चारमाध्यम र पत्रकार रहेको प्रदेशमा न्यूनतम् पारिश्रमिक निर्धारण समितिले निर्धारण गरेबमोजिम पारिश्रमिक अधिकांश मिडियाले हालसम्म उपलब्ध नगराएको गुनासो पत्रकारहरुबाट आइरहेकाले सञ्चारमाध्यमको ध्यानाकर्षण गराउँदै समयमै पारिश्रमिक उपलब्ध गराउन पनि भेलाले अपिल गरेको छ ।समाचार लेखेकै विषयलाई लिएर पत्रकारलाई जनप्रतिनिधि, व्यबसायी, कर्मचारी, विभिन्न राजनीतिक दलका नेता र अन्य पक्षबाट धम्की र मानिसक यातना दिने काम भइरहेकोप्रति दुःख व्यक्त गर्दै पत्रकारको व्यक्तिगत तथा पेशागत सुरक्षा ग्यारेन्टी गर्न सरकार एवम् सरोकारवाला पक्षसँग भेलाले माग गरेको छ ।

पत्रकारिता क्षेत्रबाट मर्यादित पत्रकारिताका लागि भेलाले पत्रकारहरुलाई आह्वान गरिएको छ । प्रदेशभित्रका सञ्चारमाध्यम नियमित गर्न प्रदेशस्तरमा प्रेस काउन्सिल गठन गर्न भेलाले माग गरेको छ । भेलाले प्रदेश समिति र प्रदेशका १० वटा जिल्लाका संयोजक, सहसंयोजक र सचिव मनोनित गरी सपथ गराएको छ । उहाँहरुलाई प्रेस संगठन नेपाल केन्द्रीय संयोजक महेश्वर दाहालले पद र गोपनीयताको सपथ गराउनुभएको हो ।