स्यानिटाइजर सेवन गर्दा दुईको मृत्यु


विराटनगर, (नेस) ।

स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने वृद्धवृद्धा हुन् । दुवै जनाको उपचारका क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।

झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वाटरमा बस्दै आएकी ६५ वर्षीय अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । गिरीले मदिरा भनेर र मण्डलले पारिवारिक विवादपछि स्यानिटाइजर सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । मदिराको नशामा गिरीले गत शनिबार राति ११ बजेतिर बोतलमा रहेको आधा लिटरजति स्यानिटाइजर एकै पटकमा पिएको उनका श्रीमान् छविलालले प्रहरीलाई बताउनु भएको छ ।

पारिवारिक विवादपछि मण्डलले पनि शनिबार राति १० बजेतिर स्यानिटाइजर सेवन गरेको खुलेको प्रहरीले जनाएको छ । दुवैलाई उपचारका लागि शनिबार राति कोशी अस्पताल ल्याइएको थियो। शुरुमा उपचारका लागि ल्याउँदा बोल्न सक्ने उनीहरुको अवस्था सामान्य थियो। तर अवस्था थप गम्भीर बनेर गएपछि मण्डललाई आईसीयूमा राखिएको र उपचारकै क्रममा सोमबार बिहान ज्यान गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य अवस्था थप जटिल बनेर गएकी वृद्धा महिलाको आकस्मिक कक्षमै १ बजेतिर मृत्यु भएको हो।स्यानिटाइजर सेवन स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुने बताउँदै चिकित्सकहरुले सावधानी अपनाउन आग्रह गरेका छन् । कोरोना महामारी शुरु भएपछि स्यानिटाइजरको प्रयोग बढेको छ। स्यानिटाइजरमा पनि विषादी हुने भएकाले अस्पतालले मृत्युको कारण विषादी भएको जानकारी दिएको एसपी खड्काले बताउनुभयो ।