विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द


दार्चुला, (नेस)  ।

जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टीमा रहेको गणेश विनायक माविमा अध्ययन गर्ने विद्यार्थी एक्कासि बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । एक साता अघिदेखि विद्यार्थीहरु लेख्दालेख्दै र पढ्दापढ्दै एक्कासि बेहोस हुने गरेका थिए ।कक्षा ३ र ४ तथा कक्षा ९ र १० मा अध्ययन गर्ने छात्राहरु एक हप्तादेखि दैनिकजसो एक्कासि बेहोस हुने गरेको विद्यालयका भेटेरीनरी प्रशिक्षक रमेश सिंह ठगुन्नाले जानकारी दिनुभयो ।

विभिन्न कक्षामा अध्ययनरत छात्राहरु दैनिक एक्कासि बेहोस हुन थालेपछि वडाध्यक्ष, स्थानीय प्रहरी चौकी र विद्यालय व्यवस्थापन समितिसँगको छलफलपछि दुई विद्यालय बन्द गर्ने सहमति भएको प्रशिक्षक ठगुन्नाले जानकारी दिनुभयो । छात्राहरु के कति कारणले बेहोस हुँदै छन् भन्नेबारे पत्ता नलागेको उहाँको भनाइ छ ।छात्राहरुले बेहोस भएपछि काप्ने, चिच्याउने र सास बन्द गर्ने जस्ता क्रियाकलापहरु देखाउने गरेको उहाँले बताउनुभयो ।

छात्राहरु बेहोस हुनुको कारणबारे चिकित्सकहरुसमेत अन्योलमा रहेको विद्यालयले जनाएको छ । केही छात्रा अस्पताल लैजाँदै गर्दा बाटोमै ठीक हुने तथा केही विद्यालयमै आधा एक घण्टापछि ठीक हुने गरेको बताइएको छ । विद्यार्थीहरु बेहोस हुन थालेपछि अभिभावक तथा शिक्षक त्रसित बनेका छन् ।