व्यापारीसँग मिल्दै कर छल्दै भन्सारकै कर्मचारी


नेपाल समाचारपत्र, भद्रपुर ।

पटक–पटक भन्सार छलीका कारण बदनाम भएको भद्रपुर भन्सार कार्यालयका कर्मचारीले नै व्यापारीसँग मिलेर कर छलेको पछिल्लो घटना बाहिरिएको छ ।

केही दिनअघि सामान बोकेर भन्सारबाट बहिरिएका तीनवटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएपछि घटना सतहमा आएको हो ।भारतको गलगलिया हँुदै भद्रपुर नाकाबाट सामान भित्रिएको थियो । प्रहरीले सुराक पाएपछि सामान बोकेका गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।तीनवटा गाडीमा रहेको २ सय ८६ कार्टुन सामानको तौल र परिमाणमा फरक भेटिएकोले आशङ्का लागी प्रहरीले गाडी नियन्त्रणमा लिएको थियो । भन्सारबाट पास भएका मे १ ज २२१८,मे १ ज १८२१ र प्रदेश–०१००१ ज ३४७६ नम्बरका गाडीमा लोड गरिएको सामानसहित चालकलाई झापा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

भन्सारको प्रज्ञापनपत्रमा झापाको महावीर ट्रेडिङ आयातकर्ता लेखिएको छ । पत्रमा भन्सारका नायब सुब्बा नानुका पोखरेल, लक्ष्मी विश्वकर्मा र किशोर आचार्यको हस्ताक्षर छ । कार्टुनभित्र मोबाइलसम्बन्धी सामान रहेको जिल्लाका डीएसपी राकेश थापाले बताउनुभयो ।भन्सार राजस्व शुल्क तिरेभन्दा बढी समानहरु रहेको हुनसक्ने भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गाडीहरु चेकजाँच गर्ने क्रममा मोबाइलमा प्रयोग गरिने टेम्पर ग्लास बरामद गरिएको उहाँले जानकरी दिनुभयो । प्रज्ञापनपत्रमा २ हजार ९ सय किलो उल्लेख भए पनि तीनवटा गाडीमा ५ हजार १ सय ९९ किलो अर्थात् ४ लाख २९ हजार २ सय ७२ थान देखिएकाले पत्रानुसार सामान नमिलेपछि छानबिनका लागि जिल्लामा ल्याइएको उहाँको भनाइ छ ।

सामानसँगै चालकहरु मे १ ज २२१८ का बुद्धिनाथ पौडेल, मे १ ज १८२१ का ऋषि कामत, प्र–१–०१–००१–ज ३४७६ का मोहन राजवंशी र सामान दाबी गर्ने मनोजकुमार श्रेष्ठलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा पठाइएको उहाँले जानकारी दिनुभयो ।भन्सार चोरी पैठारी शीर्षकमा बुधबार मुद्दा दर्ता गरी उच्च अदालत इलामको आदेशले १५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उहाँको भनाइ छ । भन्सार कर्मचारीको ‘कमजोरी’का कारण यस्तो भएकाले छानबिनको दायरामा आउने भद्रपुर भन्सार प्रमुख प्रमोद पौडेलले बताउनुभयो । दोषी ठहरिएमा कर्मचारीमाथि विभागले कारबाही गर्ने उहाँले जानकारी दिनुभयो ।
प्रज्ञापनपत्रमा हस्ताक्षर गर्ने नासु पोखरेलले यस विषयमा समाचारपत्रमा प्रतिक्रिया दिन चाहनुभएन ।