चिकित्सक र पत्रकार एकै थलोमा सम्मानित



न्युज अफ नेपाल, काठमाडौं ।

स्वास्थ्य दपर्ण मिडिया नेटवर्क प्रा.लि.को ९ औं बार्षिकोत्सवका अवसरमा आयोजित स्वास्थ्य दर्पण राष्ट्रिय हेल्ट अवार्ड २०७७ बाट नेपाल समाचारपत्रका पत्रकार भगवती तिमल्सिनालाई नेपालको स्वास्थ्य पत्रकारिताको विधागत विकास र छापा पत्रकारिता मार्फत स्वास्थ्य, शिक्षा र सेवाका क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको छ ।

समाचारपत्रकर्मी भगवती तिमल्सिना

कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले माल्यार्णपर्ण सहित सम्मानपत्रद्धारा सम्मान गर्नुभएको थियो । सोही अवसरमा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याए वापत प्रदेश १ का वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट, प्रदेश २ का स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. लक्ष्मी थापा, वाग्मती प्रदेशबाट वरिष्ठ रेडियोलोजिष्ट डा. पशुपति रेग्मी र वरिष्ठ अर्थोपेडिक सर्जन डा. सुदीपमान वैद्य, गण्डकी प्रदेशबाट वरिष्ठ फिजिसियन डा. वसन्तकुमार ताम्राकार, लुम्बिनी प्रदेशबाट वरिष्ठ अर्थोपेडिक सर्जन डा. प्रकाशबहादुर थापा, कर्णाली प्रदेशबाट वरिष्ठ रेडियोलोजिष्ट डा. रविन खड्का र सुदूरपश्चिम प्रदेशबाट वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. खगेन्द्रराज भट्टलाई सम्मान गरिएको थियो ।

यसैगरी युवा चिकित्सक मुटुरोग विशेषज्ञ डा. शंकर लौडारी, फिजिसियन डा. निरजकुमार सिंह, जनरल ल्याप्रोस्कोपी सर्जन डा. सूर्यज्योति श्रेष्ठ, स्वीस नागरिक रुथ गोरगेज र नवलपुर जिल्लाका स्वास्थ्यकर्मी हरिकुमार शाहीलाई पनि कार्यक्रममा नेता सिंहले सम्मान गर्नुभएको थियो ।

कोभिड–१९ व्यवस्थापनमा उल्लेखनीय काम गरेका लुम्बिनी प्रदेश बाँके जिल्लाको खजुरा गाउँपालिका र वाग्मती प्रदेश चितवन जिल्लाको इच्छा कामना गाउँपालिकालाई पनि सो अवसरमा संस्थागत सम्मान गरिएको थियो । कार्यक्रममा स्वास्थ्य पत्रकारितामा उल्लेखनीय योगदान गर्ने पोखरा टेलिभिजनका सुरज श्रेष्ठ, नेपाल समाचारपत्रका भगवती तिमल्सिना, रेडियो सगरमाथाकी सम्झना महर्जन, गोरखापत्र दैनिकका सरोज ढुङ्गेल, अन्नपूर्ण पोष्ट दैनिकका दिनेश गौतम, इ–कान्तिपुर डटकमका बुनु थारू र हेल्थन्यूज डटकमका नमराज भट्टलाई पनि सम्मान गरिएको थियो ।

सोही अवसरमा नेता सिंहले देशको बिसम परिस्थितिमा जनभावनाको कदर गर्दै अघि बढ्नुपर्ने बताउँनुभयो । उहाँले हार्डवर्किङ गर्ने र जनचेनता फैलाउन अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई एकै थलोमा सम्मान गर्नुले समाज प्रतिको दायित्व अझ थप भएको महसुस गरेको छु भन्नुभयो ।

उहाँले प्रोफेसन भनेको राजनीति होईन र हुन सक्दैन । राजनीति भनेको सेवाको भागबाट उत्प्रेरित काम हो । स्व.नेता गणेशमान र मंगलादेबीको कोखमा जन्मिएर अहिले सम्म भोगेका दुखद् अवस्था नियालेकोछ । पिताजीले भन्नुहुन्थ्यो जेलमा बस्ता सच्चा प्रजातन्त्रबादी नेता कस्लाई भन्ने भन्ने बिषयमा धेरै छलफल हुँदा जेल, नेल, कष्ट भोगेका व्यक्तिलाई जिम्मेवारी दिँदा, विधि, प्रकृया, मूल्य मान्यतालाई ध्यानमा राखेर काम गरे मात्र प्रजातन्त्रवादी नेताहुन्छ भन्ने निष्कर्ष निकाल्नु भएको थियो रे । तर अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली १४ बर्ष जेल बसे पनि तडकभडक गर्ने, कसैलाई नटेर्ने प्रबृति देखाउँनुले जेल बसेर मात्र प्रजातन्त्रवादी हुँदैन भन्ने प्रष्ट्याएको छ ।

२०७२ को संविधान लेख्ने काममा पनि बामपन्थी नेताहरुले नसकेकै कारण दोस्रो संविधान सभाको निर्वाचन पछि तत्काली नेपाली कांगे्रसका अध्यक्ष तथा प्रधानमन्त्री शुशिल कोईरालाको नेतृत्वमा बनेको सरकारले जारी गर्यो । अहिले केही नराम्रो व्यवहार देखाएकै कारण आम नागरिकमा नेता भनेका खराब हुँदा रहेछन् भन्ने भान भएको छ । तर सबै क्षेत्रमा राम्रा र नराम्रा व्यक्ति हुन्छन र सबैलाई एउटै भाडोमा राखेर नहेर्न पनि उहाँले अनुरोध गर्नुभयो ।

उहाँले बोलेर मात्र हुन्न काम गरेर देखाउँनुपर्छ भन्दै जनता जस्तो छ जनप्रतिधि त्यस्तै हुन्छ । जनप्रतिनिधि खराब हुनुमा भोटरर्सहरुको पनि केही कमी कमजोरी होलानीत । चुनावका बेला जस्ले खर्च गर्न सक्छ उस्लाई जिताएर राम्रो मान्छेलाई हराएको परिणाम अहिले सरकारको नेतृत्व गरिरहेका नेताहरुले देखाएका छन् भन्नभयो ।

कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका बलियो हुनुपर्छ । अहिलेको अवस्था भनेको प्रधानमन्त्री आफै बसेर बनाएको संविधानलाई लत्याउँदै व्यवस्थापिका भंग गर्ने तर्फ लाग्नु गलत प्रकृया थियो । त्यसैले न्यायपालिकाले संविधानको रक्षा गर्दै प्रधानमन्त्रीसँग हुँदै नभएको अधिकार प्रयोग गरि संविधान विघटन गर्न खोज्नु गलत कार्य हो भनेर प्रमाणित गरिसकेको छ नेता सिंहले भन्नुभयो ।

सोही अवसरमा नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीले नेपालमा हरेक क्षेत्रमा मूल्य बृद्धि भैरहदा सरकारले चिकित्सकहरुको तलब, भत्ता लगायतका क्षेत्रमा विगत सात बर्ष देखि केही परिमार्जन गरेको छैन । हामीले पटक पटक चिकित्सक, स्वास्थ्यकर्मीको पारिश्रमिकमा परिमार्जन र स्वास्थ्य क्षेत्रका साथै स्वास्थ्यकर्मीको जीवन रक्षाका लागि कानून बनाउँन सरकारको ध्यानाकर्षण गराउँदै आएको भए पनि उहाँहरुले व्यवास्ता गर्दै आएकै कारण नेपाल चिकित्सक संघ र नीजि क्षेत्रबाट संचालित अस्पताल संचालकहरुको निर्णयले पारिश्रमिक तोक्दा आपती मानिएको छ । यसलाई कानूनी रुपमै समयमै सम्बोधन गर्ने कानूनी ड्राफ पारित गर्न प्रमुख अतिथि सिंहको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले नेपाली पत्रकारिताका क्षेत्रमा सरकारले निकै अपहेलना गरेको बताउँनुभयो । नेपाली पत्रकारिताका क्षेत्रमा लकडाउनका शुरुका अवस्थामा सरकारको निकायबाट सही सूचना नआउँदा केही गलत सूचना आए र पत्रकारहरु अलमलिए र समाजमा केही अफवाहहरु पनि फैलिए । तर तत्कालै करेक्सन गरि सच्चीएर पत्रकारहरुले काम गरे । यो काम स्वास्थ्य पत्रकारहरुले कुशल ढंगबाट आम नागरिकलाई सुसुचित गर्ने उदेश्यले महत्वपूर्ण काम गर्नुभयो । उहाँहरुलाई कुनै तालिम, शिक्षा बिना नै स्वअध्ययनेले गरे । राज्यसँग हामीले ठूलो अपेक्षा गरेका थियौ सरकारले पत्रकारलाई प्राथमिकता दिएन । सरकारले उल्टै जोखिम मोलेर काम गर्ने पत्रकारहरुलाई सरकारले वास्ता गरेन ।

कोरोनाको महामारीमा सबैभन्दा पिडित भनेका पत्रकार थिए । यतिबेला रोजगारी धेरैले गुमाएका छन र गाँस, बासको समेत प्रवाह नगरी काम गर्ने संचार संस्था र संचारकर्मीको मूल्यांकन गर्ने दायित्व सरकारको हुनुपर्छ । यतिबेला नेपालको संचार क्षेत्र विडम्बनापूर्ण अवस्थमा गुज्रीएका छन् । जब सम्म हलो जोत्ने किसानले निःशुल्क सहज उपचार पाउँदैन तब सम्म नेपालको स्वास्थ्य सेवामा सुधार आउँदैन पत्रकार विष्टले भन्नुभयो ।

सोही अवसरमा चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा दिब्यासिंह शाहले शुरुका दिनमा स्वास्थ्य पत्रकारहरुको भूमिकाकै स्वास्थ्यका सूचना जनमानसमा पुगेको छ । पत्रकारले सही सूचना दिएर जनमानसलाई सूचना दिनेमा स्वास्थ्य पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको छ । पत्रकारले गाउँ गाउँसँम्म सूचना पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन् । कुनै पनि काममा सतप्रतिशत सफलता भन्ने हुदैन । डाक्कर पनि भगवान होईनन मेडिकल प्रोफेसनको आधारमा उपचार गर्ने हुन ।

हुनेखानेले विदेशमा गएर उपचार गर्नुपर्ने, योदेशमा बस्नै नसक्ने अवस्था छ, डाक्टर राम्रा छैनन भन्ने सन्देश बाहिर नजाओस् । सम्मानीत पत्रकारहरुकै योगदानका कारण स्वास्थ्यका जानकारी गाउँगाउँमा पुगेका छन् । मेडिकल शिक्षालाई कसरी सुदृढ बनाउने भन्ने बिषयमा संचारकर्मीहरुले ध्यानाकर्षण गराउने काम पत्रकारले गर्दै आएका छन् ।

नेपालका चिकित्सकलाई नेपालीले नै अवमूल्यन गर्नु राम्रो होईन । डाक्टरले स्वयमसेवी रुपमा काम गर्नुपर्छ भन्ने मान्यता राख्नु हुन्न । चिकित्सकको पनि घरपरिवार, समाज प्रतिको दायित्व हुन्छ र उनीहरु नै सन्तुष्ट भएनन भने अरुलाई सन्तुष्टि दिने कुरा त्यति सहज नहोला ?

सोही अवसरमा मृगौलारोग विशेषज्ञ डा.ऋषिकुमार काफ्ले, डा.पुकार चन्द्र श्रेष्ठ, नेपाल टेलिभिजनका पत्रकार शेरधन राई लगायतका वक्ताहरुले चिकित्सक र पत्रकार जोखिमका अवस्थामा जहिले पनि आफुलाई जोखिममा राखेर फ्रन्ट लाईनमा काम गनुपर्ने वर्ग भएकाले सरकारले र आम नागरिकले बुझेर कानूनी रुपमा सम्बोधन गर्नुपर्ने बताउँनुभयो ।
कार्यक्रमको अध्यक्षता स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.भरतपुर, चितवनका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्