महाकवि देवकोटा संग्रहालय बन्ने खबरले स्थानीय उत्साहित



काठमडौं ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित निवास ‘कविकुञ्ज’लाई नेपाल प्रज्ञा–प्रतिष्ठानले संग्रहालयका रूपमा निर्माण गर्ने खबरले मैतीदेवीका स्थानीय उत्साहित भएका छन् । सो सम्बन्धमा मंगलवार प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका साथमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय लगायतका प्राज्ञ परिषद्का सदस्यहरूसँग भेटेर स्थानीय बासिन्दाले उक्त कुराको स्वागत गर्दै उत्साह प्रकट गरेका हुन् ।

सो अवसरमा स्थानीयहरूले मैतीदेवीमा बन्न लागेको महाकवि देवकाटा संग्रहालय स्थानीयका लागि गौरवको कुरा भएको धारणा व्यक्त गर्दै संग्रहालय निर्माणका बारेमा विस्तृत जानकारी हासिल गरेका छन् । महाकवि देवकोटा संग्रहालय निर्माण योजनाका सम्बन्धमा प्रकाश पार्दै कुलपति उप्रेतीले महाकविको जीर्ण अवस्थामा रहेको मैतीदेवीस्थित उक्त निवासलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत वर्ष नै खरिद गरेर नेपाल प्रज्ञा–प्रतिष्ठानलाई स्वामित्व हस्तान्तरण गरी संग्रहालय निर्माणका लागि सुम्पिएको बताउनुभयो । उहाँले संग्रहालय निर्माणका लागि डिपिआर तयार गरी सरकारसँग आवश्यक बजेट माग गरिएको जानकारी गराउनुभयो । कुलपतिले भन्नुभयो– “बजेटको व्यवस्था हुनासाथ हामी निर्माण प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाउनेछौँ ।

सकेसम्म अर्को वर्षको महाकवि देवकोटा जन्मजयन्तीमा उद्घाटन गर्ने गरी काम गर्ने लक्ष्य लिएका छौँ ।”प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले महाकवि देवकोटा संग्रहालयलाई प्रधानमन्त्रीले राष्ट्रको गौरवमय योजनाकै रूपमा लिनुभएको बताउँदै निर्माणका लागि आवश्यक बजेट यथाशिघ्र निकासा हुने विश्वास दिलाउनुभयो । उहाँले यस्तो गौरवको आयोजनालाई स्थानीय बासिन्दा र सरोकार पक्ष सबैले समवन्य र सहजीकरण गरी निर्माणका लागि सहज वातावरण बनाइदिन आग्रह गर्नुभयो ।भेलामा सहभागी स्थानीयहरू तेजप्रसाद ढकाल, रामराज कँडेल, भीमा कार्की, सुरेन्द्र श्रेष्ठ, कृष्णभक्त खंगी, पुरुषोत्तम दाहाल, विश्वराज रेग्मी, मदनराज श्रेष्ठलगायतले महाकवि देवकोटाको निवासलाई मौलिकता झल्किने गरी छिटो निर्माण गर्नुपर्नेमा जोड दिँदै स्थानीयहरूका तर्फबाट आफूहरूले पूर्णरूपमा समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता प्रकट गर्नुभएको थियो ।

स्थानीयहरूका जिज्ञासाको जवाफ दिने क्रममा कुलपति उप्रेतीले स्थानीयको सहयोग अत्यन्तै आवश्यक रहने र एउटा उपसमिति नै बनाएर काम अगाडि बढाउने बताउनुभयो । यो देशकै पहिलो र गर्वको विषय भएकोले सो संरचना निर्माणदेखि सञ्चालनसम्म सहयोग गर्न उहाँले स्थानीयलाई आग्रहसमेत गर्नुभयो ।हाल प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार रहनुभएका स्थानीय जनप्रतिनिधि एवम् काठमाडौँ क्षेत्र नं. ४ का सङ्घीय संसद उम्मेदवार डा. भट्टराईले २०७४ सालको निर्वाचनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित निवासलाई सवलीकरण गरी संग्रहालय बनाइने एजेण्डा नै बनाउनुभएको थियो ।उक्त अवसरमा इन्जिनियर शान्ति थापाले अर्यालले निर्माण गर्न लागिएको महाकवि देवकोटा संग्रहालयको डिपिआर प्रोजेक्टर मार्फत प्रस्तुत गरी सो सम्बन्धमा विस्तृत रूपमा प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्