नेपाल समाचारपत्र, हेटौंडा ।
जिल्लाका स्थानीय तहहरुबाट प्राप्त तथ्यांकका आधारमा मकवानपुरमा एक नम्बरमा आलुखेतीलाई प्राथमिकीकरण गरिएको छ । दोस्रोमा मकै, तेस्रोमा बाख्रापालन, चौथोमा धान र पाँचौमा अदुवा-बेसारलाई प्राथमिकीकरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले यस्तो प्राथमिकीकरण गरेको हो । स्थानीय तहका कृषि शाखा तथा प्रतिनिधिबाट प्राप्त तथ्यांकका आधारमा जिल्लामा खेती भइरहेका बाली तथा पशु व्यवसायको प्राथमिकीकरण गरिएको छ ।
उत्तरी मकवानपुरको थाहानगर ९पालुङ० आलुको राजधानी नै मानिन्छ । जहाँ आलुखेती निकै फस्टाउने गर्दछ । किसानको मेहनत अनि मौसमले समेत साथ दिने भएका कारण उक्त क्षेत्रमा आलुखेती फस्टाउने गरेको हो । उक्त क्षेत्रमा हरेकका बारी र खेतमा आलुको हरियाली देख्न सकिन्छ ।थाहानगरका विभिन्न टोल र गाउँका सबै फाँटमा आलु खेतीले पालुङलाई थप सुन्दर बनाउने गर्दछ । सुपरजोन सिफारिसपछि थाहा नगरपालिका हरेक क्षेत्रमा आलुखेती गरेका किसान आलु उत्पादनमा वृद्धि हुनेमा आशावादी छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत् मकवानपुरमा तरकारी सञ्चालित तरकारी जोनलाई सुपरजोनका लागि सिफारिस गरिएको हो । जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले तरकारी जोनलाई सुपरजोनमा सिफारिस गर्ने निर्णय गरेपछि स्थानीय किसान उत्साहित भएका छन् ।
जिल्ला समन्वय समिति मकवानपुर प्रमुख एवम् जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समिति अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले जिल्लामा सञ्चालित तरकारी जोनलाई सुपरजोनका लागि सिफारिस गरेको हो । बैठकले ४ वर्षदेखि मकवानपुरमा सञ्चालित तरकारी जोनको कार्यक्षेत्र थाहानगर वडा–१ देखि १२ सम्म ६ सय हेक्टर र इन्द्रसरोवर गाउँपालिकाको कार्यक्षेत्रमा ४ सय ५० हेक्टर गरी १ हजार ५० हेक्टर क्षेत्रफललाई सुपरजोनमा सिफारिस गरेको छ । सुपरजोनका लागि जिल्ला समितिले प्रदेशको कृषि मन्त्रालयमा र प्रदेश मन्त्रालयले केन्द्रमा सिफारिस गरेर निर्धारण हुने उहाँले बताउनुभयो ।
उत्तरी मकवानपुरको चिसो क्षेत्रका किसान आफ्नै धुनमा मस्त छन् । कृषिकर्ममा रमाइरहेका छन् उनीहरु । हाल थाहानगर क्षेत्रलगायत माथिल्लो भेगका किसानलाई आलु रोप्ने चटारो छ । उक्त क्षेत्रमा आलुखेती २०१८ सालदेखि सुरु गरिएको स्थानीयको भनाइ छ । थाहानगरका किसान हिजोआज आलु रोप्न व्यस्त छन् । महिला–पुरुष दिनभर बारिमै खटिएका हुन्छन् । पुरुष खनजोत र महिला डोकोमा गाईभैंसीको मल बोक्न व्यस्त देखिन्छन् । उनीहरुले रासायनिकभन्दा प्रांगारिक मल प्रयोग गरिरहेका छन् । रासायनिक मलले माटो बिगार्ने र आलु खनेपछि चाँडै कुहिने भएकाले प्रांगारिक मल प्रयोग गर्नुपरेको उनीहरु बताउँछन् ।‘नगरका १२ वटै वडाका बासिन्दा आलु रोप्ने काममा व्यस्त छन्,’ नगरपालिका कृषि विकास अधिकृत सञ्जय तिवारीले भन्नुभयो–‘कसैलाई बोल्ने फुर्सद्सम्म छैन । स्थानीयले वर्षौंदेखि आलु खेती गरिरहेका छन् ।
किसानले कार्डिनल, डेजुरे, खुमल रातो, जनकदेव र कुखुरे ज्योति जातका आलुका बीउ लगाउने गरेका छन् । उत्तरी क्षेत्रमा पर्ने थाहानगरका बासिन्दाको मुख्य आम्दानी स्रोत नै आलुखेती हो । नगरका मेयर लवशेर बिष्टले नगरपालिकाले आलुबाट मात्र वार्षिकरुपमा ५७ देखि ६० लाख रुपियाँ राजस्व संकलन गर्ने बताउनुभयो ।त्यहाँबाट निर्यात हुने आलुलगायत तरकारीमा लामो समय अघिदेखि स्थानीय कर लगाइँदै आएको छ । २०३१ सालदेखि दामन÷पालुङमा आलुमा कर लगाउन सुरु गरिएको थियो । त्यही करबाट संकलन भएको रकम उक्त क्षेत्रको शैक्षिक विकास एवम् भौतिक पूर्वाधारका निम्ति खर्च गरिँदै आएको छ । उक्त कर हाल थाहा नपाले लगाउने गरेको छ । आलु लेकाली क्षेत्रको मुख्य बाली हो । तराई तथा बेंसीमा फलेको आलुभन्दा लेकमा फलेको आलु निकै स्वादिलो र पौष्टिक मानिन्छ । आलुमा प्रोटिन, कार्बोहाइडे«ड, आइरनलगायत तत्व पाइन्छ ।
त्यसैले आलुलाई तरकारीका रुपमा मात्र होइन, खानाको रुपमा समेत प्रयोग गर्न सकिन्छ ।
कृषिमा आधारित अर्थतन्त्रबाट व्याबसायिक कृषिजन्य उद्योग स्थापना गरी मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने उद्धेश्यअनुसार कार्यक्रम सञ्चालित छ । कार्यक्रमअन्तर्गत् साना व्यबसाय कृषि उत्पादन केन्द्र (पकेट), व्याबसायिक कृषि उत्पादन केन्द्र (ब्लक), व्याबसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र ९जोन० र कृषि औद्योगिक क्षेत्र (सुपरजोन) का रुपमा वर्गीकरण गरी कृषि सम्बन्धि कार्यक्रम सञ्चालन हुने गरेका छन् । कार्यक्रममार्फत् किसानलाई प्राविधिक, साना सिँचाइ, उत्पादन सामग्रीलगायतमा सहयोग गर्ने गरिएको छ ।
प्रतिक्रिया