वनमा आगो लाग्दा करोडौंको क्षति


मुगु, (नेस) ।

छायाँनाथ रारा नगरपालिका–४ मा पर्ने पारिवन सामुदायिक वनमा आगलागी भएको छ । शुक्रबार दिउँसो २ बजे हलनी डाँडाबाट सल्केको आगोले पारिवन सामुदायिक वन क्षेत्रमा करोडौंको क्षति गरेको हो ।

कामको सिलसिलामा वनमा गएकाहरूले आगो तापेर आगो ननिभाई हिँडेकाले आगो सल्किएको र एक स्थानको आगो वन सल्केर २ सय हेक्टरभन्दा बढी वनमा आगलागी भएको छायाँनाथ रारा नगरपालिका–४ वडाका अध्यक्ष विष्णुकुमार भामले बताएउनुभएको छ ।वडाध्यक्ष भामका अनुसार आगो कसले बालेको भन्ने पत्ता लागेको छैैन । आगलागी गर्ने व्यक्तिको पहिचान भएको छैन । तर, पारिवन सामुदायिक वनले खोजीकार्य गर्दै अनुसन्धान गरिरहेको उहाँ बताउनुहुन्छ ।

आगलागीबाट सयौं रोपनी वन जलेर नष्ट भएको छ । अप्ठेरो भीर भएको र सल्ला तथा अन्य झार स्याउला धेरै भएकाले आगो नियन्त्रणमा कठिनाइ भएको पारिवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष झिमबहादुर भण्डारीले बताउनुभयो । आगलागीका कारण करिब २ करोडभन्दा बढीको क्षेति भएको छ । छायाँनाथ रारा नगरपालिका–४ भामवाडाका १ सय ५० भन्दा बढी स्थानीय निरन्तर जुटेर २४ घण्टापछि आगो नियन्त्रणमा ल्याउन सफल भएका थिए । प्रत्येक घरका स्थानीय आगो निभाउन शुक्रबारदेखि जंगलमै बास बसेर आगो नियन्त्रणमा ल्याउन सफल भएको स्थानीयको भनाइ छ ।