कुस्मा घुम्ने आन्तरिक पर्यटकका लागि अटो रिक्सा


नेपाल समाचारपत्र, पर्वत ।

बन्जीजम्प तथा नेपालकै अग्ला र लामा झोलुङ्गे पुलहरूका कारण पर्यटकको चापलाई ध्यानमा राखेर पर्वत सदरमुकाम कुस्मा बजारमा अटो रिक्साको सुविधा थप्न लागिएको छ । बजारमा नगरबस सञ्चालनमा नरहेको अवस्थामा निजी साधन लिएर नआएका आन्तरिक तथा बाह्य पर्यटकलाई फरक–फरक गन्तव्यमा पुग्न समस्या भएपछि अटो रिक्साबाट सेवा दिन थालिएको हो ।

कुस्मामा रहेका पर्यटकीयस्थल धेरै ठाउँमा रहेका कारण टाढाबाट आएका पर्यटक अलमलमा पर्ने, बजारभित्र ठूला बसहरू छिराउँदा समस्या हुने र कतिपय ठाउँमा बस नजाने भएका कारण ती समस्याको समाधानका लागि अटो रिक्सा सञ्चलन गर्न लागिएको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।हाम्रो बन्जी एक ठाउँमा छ, पुलहरु अर्कातिर छ, गुप्तेश्वर गुफा अर्कैतिर छ । कतिपय आन्तरिक पर्यटकलाई ती ठाउँको रुट थाहा भए पनि अन्य जिल्लाबाट आउने तथा बाह्य पर्यटकलाई रुट चिन्न पनि समस्या छ ।

कुस्मा बजारमा पर्यटकको आगमन बढ्दै गएकाले कुस्मा–ज्ञादी जोड्ने गरी बनेको मोदी खोलामाथिको झोलुङ्गे पुल, कुस्मा–मुडिकुवा जोड्ने झोलुङ्गे पुल, कुस्मा–खरेहा जोड्ने मोदीमा नै बनेको झोलुङ्गे पुल, कुस्मा–बलेवा जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको झोलुङ्गे पुल, गुप्तेश्वर गुफा, बन्जीजम्प, बन्दै गरेको सुपरम्यान शैलीको जिपलाइनलगायतका ठाउँमा जाने गरी अटोरिक्सा चलाइने कुस्मा नगरपालिकाअन्तर्गतको पर्यटन समितिका सदस्य तथा अटो रिक्सा सञ्चालन तथा व्यवस्थापन तर्फका संयोजक शिव शर्मा पौडेलले जानकारी दिनुभयो ।

पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका पौडेलले अब बाहिरबाट आउने ठूला बसहरूलाई बजारको मुखैमा रहेको बान्द्रेबिँडी बसपार्कमा राखेर पर्यटकलाई त्यहीं झारिने बताउनुहुन्छ । बसपार्कबाट पर्यटकीय गन्तव्यसम्म जानका लागि तयारी अवस्थामा रहेका अटोरिक्साले सेवा दिने भएपछि यसले उद्योग तथा व्यापारको समेत प्रवद्र्धन हुने उहाँको भनाइ छ ।