पारमाणविक प्रयोगशाला सिभिल अस्पतालमा


भगवती तिमल्सिना, काठमाडौं  ।

कोरोना भाइरसको महामारी फैलिएपछि नेपालमा व्यक्त गरिएको एक चिन्ताको विषय थियो– मुलुकभित्र मलिकुलर ल्याब नभएर रोग पत्ता लगाउन विदेशी प्रयोगशालासम्म धाउनुपर्ने भयो ।मलिकुलर ल्याब अर्थात् पारमाणविक प्रयोगशाला । ‘यस प्रयोगशालाले पूर्ण स्वरूपका साथ काम गर्न थालेपछि जस्तोसुकै जटिल रोग पहिचानका लागि बाह्य मुलुकको सेवा कुरिरहनुपर्दैन’, मीनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालका ल्याब प्रविधिक कृष्ण महर्जनले बताउनुभयो– ‘सबै वातावरण मिलेको अवस्थामा जस्तोसुकै जटिल रोगको पहिचान गर्न सक्ने मलिकुलर ल्याब अब हामीसँग छ ।’

पछिल्लो समय विश्वमै फैलिएको कोरोना महामारीको पीसीआर परीक्षण र नतिजा छिटो उपलब्ध गराउन पारमाणविक विधि नै प्रयोग गरिएको थियो ।सरकारले कोरोना भित्रिएसँगै आकस्मिकरूपमा भित्र्याएको पीसीआर परीक्षण ल्याबसँगै सिभिल अस्पतालमा भित्र्याएको मलिकुलर ल्याब भने उच्चस्तरीय र दीर्घकालसम्म टिक्ने खालको भएको र एउटा रोग सकिनासाथ काम नगर्ने नहुने र जस्तो समस्या आउँदा पनि दीर्घकालसम्म चल्ने गरी मलिकुलर ल्याबको विकास गरिएको महर्जनले जानकारी दिनुभयो ।‘मलिकुलर ल्याब सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति, उपकरण र आवश्यकताअनुसारको स्रोत–सामग्रीका साथ टिमवर्कमा काम गर्ने वातावरण चाहिन्छ । हामीसँग डा. रूपेश मिश्र, क्लिनिकल जेनेटिक्स, मनोज महतो, माइक्रोबायोलोजिस्ट, होमिक शिल्पकार, आशिष प्रधान, सजना तण्डुकार, सुधीर पण्डित र रजिस्टार प्याथोलोजिस्टजस्ता अनुभवी व्यक्तिहरु लगिरहेका छौं ।’ –महर्जनले भन्नुभयो ।

 

शुरुका दिनमा नेपालको पहिलो कोरोना संक्रमितको परीक्षण हङकङ लगेर गर्नुपरेपछि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नेपाल सरकारले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई पहिलो पीसीआर परीक्षणका लागि सुधार गरेको थियो । यसपछिका दिनमा विस्तारै ल्याबको संख्या थपिँदै गए पनि जनशक्ति र दक्षताको अभावले लामो समयसम्म जनस्वास्थ्य प्रयोगशाला टेकुमै परीक्षण गराउन देशभरिका अस्पताल बाध्य थिए ।बिरामीको चाप धान्नै नसक्ने अवस्था आउन लागेपछि सरकारले पीसीआर परीक्षण ल्याब सरकारी र निजी अस्पतालहरुमा समेत सञ्चालनका लागि स्वीकृति दियो । तालिम प्राप्त जनशक्ति पनि तयार पार्दै गयो ।सिभिल अस्पतालले पीसीआर परीक्षणसहितको मलिकुलर ल्याब २०७७ साल मंसिरबाट सञ्चालनमा ल्याएको हो । सिभिल अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षण र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको गुणस्तर एउटै भएको भन्दै उच्च गुणस्तरको ल्याबको मान्यता सिभिल अस्पतालको ल्याबले पाएको अस्पताल प्रशासनका प्रमुख रञ्जना नेपाल बताउनुहुन्छ ।

झट्ट सुन्दा र देख्दा सामान्य ल्याब त हो नि, यस्तो ल्याब हरेक अस्पतालमा हुन्छ भन्ने मानिसको बुझाइ हुन सक्छ । तर, ल्याबको महत्व नबुझेर सुरक्षा अपनाउन सकेन भने सरुवा रोग जताततै फैलन सक्ने सम्भावना हुन्छ । यिनै विषयलाई ध्यानमा राखी सिभिल अस्पतालको पीसीआर बेरिएरबाट कलेक्सनदेखि उच्च सुरक्षा मार्ग प्रयोग गर्दै रिपोर्ट आउँदासम्म झन्डै १० वटा ठाउँमा सुरक्षा गौंडा पार गर्दै प्रक्रिया पूरा गरिन्छ, ल्याबका क्लिनिकल जेनेटिक्स डा. रूपेश मिश्र बताउनुहुन्छ ।‘पहिला जति पनि ल्याब हुन्थे ती सबै सामान्य ल्याब भएका कारण जटिल खालका परीक्षण गर्नुपर्दा नमुना संकलन गरी भारत वा अन्य मुलुकमा पठाउनुपथ्र्यो । अब धेरै एड्भान्स खालको परीक्षण पनि सिभिलमा हुन्छ र विदेश पठाउने झन्झटिलो प्रक्रिया न्यूनीकरणका लागि मलिकुलर ल्याब सहयोगी सिद्ध हुनेछ ।’ –डा. मिश्र बताउनुहुन्छ ।

‘पीसीआर रिपोर्ट ६ घण्टाभित्रै दिन्छौं । यसको प्रमुख कारण मलिकुलर ल्याब, अटोमेटिक मेसिन र दक्ष जनशक्ति नै हो । यो एकजनाले गरेर हुन्न, टिमवर्क चाहिन्छ ।’ –उहाँले प्रस्ट पार्नुभयो ।कोभिड भइसकेको मान्छेमा एन्टिबडी परीक्षण मेसिन पनि ल्याउने तयारीमा सिभिल अस्पताल रहेको बताइएको छ । हाल एन्टिजेन परीक्षण पनि सिभिलमा गरिन्छ र यसको विश्वसनियता ८५ प्रतिशत रहेको डा. मिश्र बताउनुहुन्छ । यो परीक्षण आकस्मिक शल्यक्रिया गर्नुपर्ने व्यक्तिको परीक्षणका लागि गरिएको छ । यसबाट परीक्षण गर्दा २० मिनेटमा रिपोर्ट आउँछ ।