प्रचण्डलाई अब काँध हाल्न सक्दिन : प्रधानमन्त्री


हरिहर नेपाल, विराटनगर । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समुहले शनिबार विराटनगरमा शक्ति प्रदर्शन गरेको छ । प्रदेशस्तरीय आमसभालाई प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा तथा नेता सुवासचन्द्र नेम्वाङ, प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्नुभएको थियो ।

विराटनगरमा आयोजित सभामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धिसकेका प्रचण्डलाई आफुले राजनीतिमा टिकाएको दाबी गर्नुभयो । तर, अब प्रचण्डलाई काँध हाल्न नसकिने उनको टिप्पणी थियो । प्रचण्डलाई राम–राम मात्र भन्न सकिने तर काँध हाल्न नसकिने बताएका ओलीले वैद्य, डाक्टरले बचाउन नसकेका प्रचण्डलाई अब झाँक्रीले पनि बचाउन नसक्ने टिप्पणी गर्नुभयो ।

यस्तै, उहाँले दाहाल–नेपाल समुहबाट आफ्नो सुहमा फर्किन केन्द्रीय सदस्यहरूलाई आग्रह गर्नुभएको छ । उहाँले पहिले बैद्यले छाडेपछि डाक्टरलाई साथ पाएका प्रचण्डसँग अहिले झाँक्री रहेको बताउनुभयो । उहाँले कहिल्यै सुर्य चिन्हमा चुनाव नलडेकाहरूलाई सुर्य चिन्ह चाहिएको भन्दै व्यंग्यसमेत गर्नुभयो । उहाँले आगामी वैशाखमा कुनै पनि हालतमा निर्वाचन हुने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले चुनावका लागि तयारीमा लाग्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशनसमेत दिनुभयो । प्रधानमन्त्री ओलीले उपराष्ट्रपति र सभामुख झगडिया भएको आरोप लगाउनुभयो । उहाँले उपराष्ट्रपति र सभामुख सरकारविरूद्ध भाषण गर्दै हिँडेको बताउनुभयो ।

यस्तै, जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापा बादलले देशलाई भित्र र बाहिरको शक्तिले अस्थिरता र प्रतिगमनतिर धकेल्न प्रयास गरेको दाबी गर्नुभयो । उहाँले प्रचण्ड–माधव पक्षको कदम कुनै पनि हालतमा पुरा नहुने दाबी गर्नुभयो । बादलले केही मन्त्रीहरू प्रचण्ड–माधव समुहमा फर्कंदै छन् भनेर भ्रम फैलाइएको पनि बताउनुभयो ।यस्तै, गृहमन्त्री थापाले सुशासनको क्षेत्रमा अहिलेसम्मकै धेरै काम गरेको बताउनुभयो । उहाँले गुण्डागर्दीको समेत अन्त्य भएको र सरकारले गरेको संसद् विघटन संवैधानिक भएको पनि दाबी गर्नुभयो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समँहका नेता सुवास नेम्वाङले प्रधानमन्त्रीले काम गर्न नपाएर संसद विघटन गरेको बताउनुभयो । प्रतिनिधिसभा विघटनको विषय अदालतमा रहेकोले यसबारे आफु नबोल्ने तर अदालतबाट संसद पुनस्थार्पना नहुनेमा प्रधानमन्त्री सयमा दुई सय प्रतिशत विश्वस्त रहेको र प्रधानमन्त्रीमाथि आफ्नो असाध्यै विश्वास रहेको उहाँले बताउनुभयो ।

नेम्वाङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा तान्ने काम भइरहेको पनि बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुभो । प्रधानमन्त्रीको कदमलाई लिएर राष्ट्रपति समेतलाई पनि विवादमा तान्न खोजियो । सरकारको कुनै काम भयो कि कुनै घोषणा भयो कि प्रधानमन्त्रीका साथसाथै राष्ट्रपतिलाई पनि विवादमा तान्न खोजियो । अघिल्लो पटक आफ्नै अडियो–भिडियो सार्वजनिक भएपछि विवादमा तानिएका नेम्वाङले यसपटक आफ्ना धारणाभन्दा पनि प्रधानमन्त्रीको भनाइ र प्रधानमन्त्रीको विश्वासको यस्तो छ भन्दै कुराहरू राख्नुभयो ।यस्तै, जनसभालाई सम्बोधन गर्दै प्रदेश १ मुख्यमन्त्री एवं ओली समुहका नेता शेरधन राईले प्रदेशमा गरिएको आक्रमण सहज ढंगले परस्त गरिने बताउनुभयो । प्रदेशमा पनि भाँजो हाल्न खोजिएको छ । प्रदेशमा गरेको आक्रमण सहज ढंगले परस्त गरिनेछ । हाम्रो यात्रा निरन्तर अगाडि बढ्ने छ, उहाँले भन्नुभयो ।