प्रतिनिधिसभा पुनर्बहाली हुने


नेपाल समाचारपत्र, बारा । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्बहाली हुने र निर्वाचन आयोगले पनि आफूहरुलाई नै पार्टीको आधिकारिता दिने सम्भावना बढेको बताउनुभएको छ । निजगढस्थित होटल तारा इनमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
‘पहिला चारैतर्फ सेटिङ छ कि भन्ने डर थियो, तर पछिल्लो समय वातावरण क्रमशः सकारात्मक बन्दै गएको देखिन्छ’, प्रचण्डले भन्नुभयो– ‘एमिकस क्युरीले पनि पुनःस्थापनाका लागि अदालतलाई सुझाव दिएकाले सकारात्मक वातावरण बन्छ भन्ने लागेको छ ।’

केही दिनअघिसम्म पनि आयोगप्रति शंका लागेका प्रचण्डको भनाइ छ । बुधबार काठमाडौंमा केही विज्ञसँगको कुराकानीमा पार्टीको आधिकारिता विवादमा पनि आफ्नो पक्षमा वातावरण बन्दै गएको सूचना पाएको उहाँले बताउनुभयो । अहिलेको लडाइँमा राजनीतिकरूपमा आफूहरु विजयको दिशातर्फ अघि बढिरहेको पनि उहाँको कथन छ । अध्यक्ष प्रचण्डले आफूसहित नेकपा केन्द्रीय समितिका बहुमत सदस्यहरु शुक्रबार फेरि पनि नेपाली नागरिकताको प्रमाणपत्र लिएर निर्वाचन आयोगमा पुगेर धर्ना दिने तयारीमा लागेको पनि जानकारी दिनुभयो

त्यसै गरी, सर्वोच्च अदालत र निर्वाचन आयोगले तपाईंहरुको अपेक्षाविपरीत फैसला गरेमा के गर्नुहुन्छ भनेर सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा उहाँले भन्नुभयो– ‘त्यो दुर्घटना नै हुन्छ, दुर्भाग्य नै हो, त्यस्तो हुन्छ भन्ने हामीलाई विश्वास पनि छैन, फेरि पनि त्यस्तो अवस्था आयो भने देशमा चुनाव हुन सक्दैन ।’ ६४ प्रतिशत जनमत भएको पार्टीलाई बाहिर राखेर चुनाव हुन नसक्ने उहाँको भनाइ थियो ।कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठ, नेकपा नेता पुरुषोत्तम पौडेल, बारा जिल्ला अध्यक्ष अनिल श्रेष्ठलगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।