नेताको मोह भङ्ग


केशवअधिकारी

नेपालको राजनीतिमा अलिकति खोजमेल गर्ने हो भने अरुले बनाएका बाहेक आफैँ बनेका महान् नेताको खडेरी नै लागेको छ भन्दा फरक नपर्ला । अलि पुराना नेतातिर मन दिँदा विश्वेश्वरप्रसाद कोइरालालाई उनका समर्थकले महान् राजनेता भनाएका मात्र हुन् । यदि उनी महान् नेता भएका भए २००७ सालमा आएको प्रजातन्त्र एक दशक नकट्दै २०१७ सालमै मासिने अवश्य थिएन । उनी पछिका अरु धेरैजना नेपालका शासक बनेका भए पनि महान् राजनेता भनाउनलायकका बन्न सकेनन् । उनीहरू महान् राजनेता बन्न नसक्नुको पछाडिको कारण मोहमा लटपटिएर पार पाउन नसकेरै हो । यो मोह भन्ने अदेख तत्वले कसैलाई मृत्युबाट जोगाउला तर आफूसँगै माया गरेर राखिने वा राख्नुपर्ने तत्व होइन ।

२०५२सालदेखि थालनी भएको एक दशक लामो युद्धको नेतृत्वदायी भूमिका निर्वाह गरेर शिखरमा चढ्दै झन्डै महान् राजनेताको सम्मान पाउन लागेका पुष्पकमल दाहाल (प्रचण्ड) को नाम सुनेरै लाखौँ नेपालीका शिर सम्मानले स्वतः झुक्थे । उनको सम्मान नगर्नेहरू पनि उनको नामले केही हदसम्म तर्सन्थे । उनीमाथि करोड जनताको बलियोभरोसा थियो । उनले जनअपेक्षित काम गरेर मोह भङ्ग गर्न सकेका भए शायद उनी दक्षिण एसियाका नेल्सन मण्डेलाको स्थानमा आसीन हुनसक्थे ।करोड जनताको ममताले उनलाई धेरै हदसम्म हौसला बढाइदिएको थियो ।एक दशक लामोयुद्धको कालखण्डमा झन्डै १७ हजार नेपालीको बलि चढाउन उनी सफल भएका थिए । त्यो अपराधबापत उनले सय वर्षको जेल यातना भोग्नुपर्ने हुन्थ्यो, तर पनि उनलाई धेरैको भरोसा र आशाको केन्द्र हुनाले ती सबै अपराध बिर्सन नसके पनि बलजफतसँग बिर्सेर उनलाई फेरि काँधमा चढाउने काम भयो । लाखौँ जनताले ममता र भरोसाका साथ काँधमा चढाउँदै लगेर सत्ताको कुर्सीमा समेत विराजमान गराए ।

जब उनी देशको उच्च प्रशासकको कुर्सीमा आसीन हुन तयार हुँदै थिए यता जनताले आ–आफ्ना काँध दुखाएर आफूलाई यो कुर्सीमा बसाएका हुन् भन्ने कुरा ठ्याम्मै भुलेर उनी त आफूलाई विश्राम गर्न चाहिने तुच्छ भौतिक वस्तु खाट–मोहमा पो डुब्न पुगे । जब कुनै व्यक्ति आफ्नो व्यक्तिगत जीवनबाट अलि ओझेल परेर सार्वजनिक मान्छे बन्न पुग्छ तब व्यक्तिगत मोहका विषयलाई गौण बनाएर सार्वजनिक विषयका कुरालाई अधिक जोड दिनुपर्ने बेलामा प्रचण्डले भने ठीक विपरीत मनोदसाले काम गरेर देखाए ।उनी त्यतिमा मात्रै सीमित रहेनन् । देशको सर्वोच्च प्रशासकको कुर्सीमा विराजमान भएको व्यक्तिले प्रहरीका हाकिमको सरुवा–बढुवाको झमेलामा फस्नु पनि विवेकहीनताको पाराकाष्ठा नै मान्नुपर्छ । देशको प्रधानमन्त्री भनेको आमजनताको अभिभावक हो भन्ने ठानिन्छ । तर त्यस कुराको कुनै पर्वाह नगरी स्थानीय चुनावमा आफ्नी छोरीलाई नगरप्रमुखको कुर्सीमा विराजमान गराउन मतपत्र च्यातेर, बत्ती निभाएर धाँधली गर्नसमेत बाँकी राखेनन् । यी सारा कुकामले गर्दा उनीमाथिको करोड जनताको आशा र भरोसा क्रमशः स्खलित हुँदै जानथाल्यो । सम्मानको स्थान घृणाले ओगट्न थाल्यो ।
कुनै स्थलमा कुनै कार्यक्रम हुँदै थियो । त्यो कार्यक्रममा प्रचण्ड स्वयम् पनि उपस्थित थिए । अचानक उनीमाथि कसैले जुत्ता प्रहार गरेको देख्नुप¥यो दर्शकहरूले । जुत्ता प्रहार गर्नेले प्रचण्डलाईमाया नगरेरजुत्ता प्रहार गरेको थिएन होला अवश्य पनि । आफूलगायत करोड दिलले ममता दिएको र उच्च व्यक्तित्व बनाइसकेको, आशा र भरोसाको केन्द्र बनेको व्यक्तिले आफ्नो मर्यादानुसारको काम किन गरेनौ? भनेर सतर्क गराउनको लागि जुत्ता प्रहार गरेको हुनसक्छ ।

तर जुत्ता प्रहारले पनि उनले आफ्नो मर्यादा पालना गर्ने कुरो सम्झन सकेनन् । बरु उनी छिनाझपडीकै मोहमा डुब्दै रहे । उनीमाथि गरिएका विश्वास र भरोसाहरु स्खलित बन्दै गए । शायद त्यो कुराको हेक्का पनि उनमा रहन सकेन होला ।उनी जब दोस्रोपटक प्रधानमन्त्री बने तब उनले क्षमा मागेजस्तो भावमा पहिलोपटक केही काम गर्न जानिएन अब दोस्रो पटक त सुध्रन्छु भनेर बाचा–कसम खाए तर व्यावहारिकतामा सुध्रन सक्दै सकेनन् । देशको कार्यकारी प्रम बनेर पनि न त देशलाई एउटा नयाँ बाटोबाट अगाडि लैजान सक्ने क्षमता देखाए, न अरु कुनै क्षेत्रमा केही गरेर उनीप्रति भरोसा राख्ने आमनेपालीको मन जितेर खुशी बनाउन सफल भए । विशेष गरेर त्यही एक दशक लामो युद्धको ध्वाँस देखाउनेबाहेकका उल्लेख्य कामशायद उनीबाट हुन सकेनन् । नेपालको इतिहासमा यो एउटा निराशा जन्माउने कालखण्ड बन्दै थियो ।प्रचण्डकै बलमिच्याइँमा वा भनौँ आग्रहमा नेकपा माओवादी र तत्कालीन एमालेसँग पार्टी एकता गरियो । दुई पार्टीको एकताले देशप्रेमी नागरिक निकै खुशी भए । किनभने अबचाहिँ कम्युनिस्टहरूको स्पष्ट बहुमतको सरकार बनेर पाँच वर्षको लामो सरकार बन्छ । त्यो सरकारले पाँच वर्षभित्रमा त देशमा आमूल परिवर्तन ल्याउँछ, धेरै मात्रमा देशमै रोजगारीका बाटाहरू खुल्छन्, नेपाली युवाले विदेशतिर लखेटिनुपर्दैन भन्ने जस्ता मानसिक रम्यतामा मग्न भए जनता ।

दुई पार्टी एकताले गर्दा कम्युनिस्टहरुको स्पष्ट बहुमत पनि हासिल भयो । कम्युनिस्टहरूको स्पष्ट बहुमतको सरकार बन्यो । आफू प्रधानमन्त्री नबनी प्रचण्डले केपी शर्मा ओलीलाई उक्त पद खुशीसाथ सुम्पेर दुई अध्यक्षको व्यवस्था पनि भयो । त्यस बेला प्रचण्डले सोचे– दशबर्से जनयुद्धहाँकेर आएको मैले ओलीलाई त आफूले चाहेको बेलामा जस्तासुकै काम पनि गराउन सकिहाल्छु नि ! यस्तो अहंकारले छोप्यो । किनभने उनले ओलीको भित्री रुपको बारेमा अलिकति पनि चियाउने चेष्टा नै गरेनन् । अहिले आएर अनेक उपाय लगाउँदा पनि ओलीलाई मनाउन सक्ने पक्षमा उनी सक्षम बन्न सकेनन् । यतिन्जेलसम्म कुनै पनि स्थानमाप्रायः जित्दै आएका ओलीले यो प्रतिस्पर्धात्मक युद्धमा प्रचण्डलाई पछार्ने नै नियत राखेका हुन् ।स्वयम् प्रचण्ड पनि मानसिकरुपमा विचलित बन्दै गएका कारण उनको मोह भङ्ग हुँदैगएको पाइन्छ । मोह पूर्णरुपले टुटेको हुन्थ्यो भने उनी जोगीको भेषमा त्रिपुण्डक धारण गरेरै हिँडिसक्ने थिए होलान् तर यतिखेर उनी के गर्ने, के नगर्ने अवस्थामा देखिन्छन् । उता प्रम ओलीको हालत पनि त्यस्तै छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको बचनवाणले प्रचण्डका मर्ममर्ममा घाउ उत्पन्न गराउँदै छन् । ती घाउले उनको शारीरिक शक्ति मात्र थिलथिलो बनाएको नभई मानसिक साहस वा ऊर्जालाई समेत धुजाधुजा बनाउँदै लगिरहेका छन् । त्यसकारण उनी बेला–बेलामा बर्बराउँदै भन्छन्, ‘बरु शहीद बन्नु नै राम्रो रहेछ, यो बचाइत निराशाले भरिएको र हरुवा बचाइ भयो ।’ महाभारतका खलनायक पात्र दुर्योधनका दुवै घुँडा भाँचेर मृत्युको पर्खाइ कुराउन बाध्य बनाइएको समयमा पनि शायद यस्तै कुरा मनमा खेले होलान् ।

कमरेड प्रचण्डलाई कमजोर बनाउने र क्षणिकरुपमै भए पनि मोह भङ्ग गराउने अरु पनि धेरैवटा सहायक तत्वहरू रहेका छन् । ती तत्वमा पहिलो तत्व हो उनका एकमात्र छोरा प्रकाशको असामयिक निधन हुनु । आखिर अवस्था जे–जस्तो भए पनि छोरा प्रकाशको निधन नभएको अवस्था भए प्रचण्डले प्रम ओलीका बचनवाणका पीडाले मात्र मोह भङ्ग भएर यो पीडाको भनाइ पोख्ने थिएनन् । दोस्रो कुरा, उनकी धर्मपत्नी (सीता) को हालत शायद अझ नाजुक बन्दै गएको अनुमान लगाउन सकिन्छ । धर्मपत्नीको यो स्वास्थ्य अवस्थाले पनि उनलाई मानसिक विचलनतिर धकेल्दै लगेको जस्तो महसुस हुनसक्छ ।आखिर धाँधली गरेर छोरीलाई जिताए, १७ हजार युवा मराए, हजारौँलाई घाइते बनाए, यी सब केका लागि ? फेरि अहिले नै आएर धेरै ठाउँबाट उनलाई नफरत गरिएका दृश्य, घटना आदि मधुरो दृष्टिले केलाउनुपर्दाको क्षण, धन्न कसरी सम्हाल्ोर आफूलाई राजनीतिमा होम्दै छन् उनी आफूलाई ? कसरी भोलिको सफलतामा आशावादी बन्न सक्दै छन् उनी ? सत्तामात्र होइन कि देशको मूल ढुकुटीको साँचो खोलेर चाहिँदो पैसा खर्च गर्दै मान्छेको ठूलो भीड खडा गर्न सक्ने ओलीलाई उनकाभन्दा दोब्बर मान्छे भेला गरेर उछिन्न सक्छु भनीकुर्लंदै छन् उनी ? भित्रै मनदेखिको विश्वास र भरोसा बेगर पनि मान्छे त्यसरी कुर्लन सक्छ र ? उनी त नितान्त एक्लो बन्दै छन् ।

साँच्चै भन्ने हो भने सभा, भाषण नभएको समयमा त उनका दिनभरका अनुभूति सुनिदिने पनि शायद कोही हुँदैन होला । आफ्ना अङ्गरक्षकले उनको अलाप सुनेर कुनै समाधानको उपाय खोज्ला त ? अहँ खोज्दैन । किनभने ऊ त आफ्ना जहान, बच्चा र आफू पालिनको लागि त्यहाँ जागिर खाएको मात्र त हो ।कमरेड प्रचण्डलाई सत्ता हात लाग्छ कि कतैबाट भन्ने सानो जिजीविषा अझै मरेको छैन । तर कुनै हालतमा पनि सत्ता उनको हातमा पर्न सक्ने देखिँदैन । त्यो उनी स्वयम्कै लागि पनि फाइदाजनक छैन । सत्ताले अब उनलाई अझै बदनामीको बाटोतिर लैजान उद्यत गराउँछ । अब उनी स्वच्छ दिमाग लगाएर सत्ता हाँक्न सक्ने अवस्थामा शायद छैनन् ।यसो भनिरहँदा वर्तमान प्रम ओलीको पनि प्रसङ्ग आउन सक्छ । ओली पनि अब सत्ता हाँक्न अक्षम भएकै कारणले गर्दा चुनावतिर होमिन बाध्य भए । तर उनको बहाना के भयो त भन्दा, काम गर्नै नदिएकाले चुनावतिर जान बाध्य भएँ भन्ने खालको रह्यो । प्रम ओली, कमरेड प्रचण्ड मात्र होइनन् कि रामचन्द्र पौडेल, शेरबहादुर देउवालगायतका उमेर ढल्केका सबै नेताले अब सत्ताको मोह चटक्क छोडेर एउटा अभिभावकीय भूमिका बहन गर्दा सुहाउँदिलो काम हुनेछ ।