रमेश भट्टराई ‘सहृदयी’
अरूबेला विकासका लागि छिरिक्क सहयोग गर्न नसक्ने पार्टीले चुनावका बेलामा सोचेभन्दा धेरै बढ्ता सक्षम हुन्छ ? चाहे कोरोना महामारीका बेला जनता भोको हुँदा एक माना चामल र एउटा ओच्छ्यान दिने मन नहोओस् तर चुनावमा नेताजीले पैसाका बिटा सर्वहारा वर्गलाई बाँढ्ने होडबाजी गर्नुहुनेछ । अहिले दुई कित्तामा बाँढिएका नेतृत्वका तीन नेता नेकपामा अग्रस्थानमा देखिइरहँदा सडकमा ओइररहेका जनताका लागि कति खर्च भइरहेको हुँदो हो ! अब यदि चुनाव हुने भयो भने हरेक नागरिक, नागरिक होइन एक भोटको मूल्यमा गनिने छन् । एकपटक सोचौँ– यत्तिका धेरै पार्टीले प्रचारका नाममा, आन्दोलन र विरोधका नाममा गर्ने गरेका खर्चका बिटालाई अख्तियारले किन खोजी गर्दैन ? यो कुरा त प्रस्ट छ तर सबैले झिनो स्वार्थमा बिक्नुलाई आवश्यक ठान्छन् ।
‘बिग्रेको पार्टीको फुटेको घर, फुटेको पार्टीसँग केको भर’ भन्ने भान त जनतामा भइसकेको छ । प्रधानमन्त्री ओली पक्ष या त प्रचण्ड–नेपाल समूह दुवैसँग बहुमतको मृगतृष्णा हुनु वास्तवमा नैतिकताका आधारमा लज्जास्पद अपेक्षा हो । जनतासामु जाने राजनीतिक एजेन्डा दुवैमा नैतिकताका आधारमा लाजमर्दो नहुँदा पनि हुने हो । ठूलो अवसर पाउँदा नपचेर अब आकाशमा महल ठड्याउने सपना बोक्दै हिँड्नुको तुक के रहन्छ र ? यसो भनिरहँदा नेपालमा राजनीतिक वितृष्णा यति धेरै छ जब कि जनताले औँला भाँचेर राष्ट्रवादी नेतालाई गन्न खोज्दा शून्य अङ्क नै स्थिर भइरहने अवस्था छ । यो त प्रजातान्त्रिक मुलुकका लागि असह्य विडम्बना हो । यसर्थ जोसुकैले जिते पनि जनताले त ‘नहुनु मामाभन्दा कानो मामा जाती’ भन्ने दरमा नेतृत्वलाई भोट दिनुपरेको हुन्छ । त्यो पाश्र्वचित्रमा तस्वीर त छर्लङ्ग हुन्छ तर मन परेर होइन । दिलले खुलेर समर्थन हुने होइन ।आखिर सबै पार्टीको बुद्धिमा कुर्सी र सत्तामोहको नसा मात्रै चढेको हो । अहिलेको भइरहेको विशाल नाटक मञ्चन पनि त्यति मात्रै नै हो । यसको अर्थ जनताको दिमाग भुटेर उही स्वार्थको ढोल पिट्ने होडबाजीमा आज जनताले उसै गरी पार्टीको मोह बोकेर दगुरिरहेको छ । पार्टी चाहिन्छ तर गुट चाहिँदैन भन्ने हिम्मत बोकेर कसैले कसैसँग पनि असहयोगको भावना राख्ने हिम्मत गर्दैन ।
भजन गाउन त पहिला भगवान् हुनुपर्ने होइन र ! विभाजित दुई शक्तिले आपूmलाई जतिसुकै पानीमुनिको ओभानो बनाउने प्रयास गरे पनि त्यो सबै जनअभिमतमाथि गरिएको नृशंस हत्या होइन र ? को बाध्यतामा प¥यो र किन कोचाहिँ अटेरी बन्यो भन्ने विषयको पुस्ट्याइँले जनताको आशा र मुलुकको समृद्धिसँग बिलकुलै सम्बन्ध राख्दैन ।यो समय सडकमा र सदनमा हुने दोहोरीले सामान्य वर्गलाई बनाइदिएको खण्डीकृत बुद्धि नितान्त असचेतनाको द्योतक हो । ‘म राजनीतिक नेतृत्वप्रति असहमत छु’ वा ‘म भोट दिन्न’ भन्ने र कचिङ्गलप्रेमी नेतालाई बिदाइ गर्ने कुरा गर्ने हो भने के होला ?गुट र स्वार्थको कलाकारितामा पारङ्गत अस्थिर मान्छेको विकल्पमा युवाशक्ति चुन्ने आँट त जनताले गर्नुपर्ने होइन र ! आखिर थाहा छ– छातीमा हात राखेर भन्नुपर्दा असल नेता फलानो हो भन्ने आधार हामीसँग रहेन भने ! यतिखेर सडकमा देखिएको भीड शायद त्यो पाश्र्वचित्र खोज्न भनेर बटारिन पनि त सक्छ । आज चिरिएको नेकपा र अस्थिर सोचमा गुटको पोको बोकेर हिँड्ने चाकडीबाज एकाएक विकासवादतिर मोडिन सक्छ र ? प्रतिपक्षीले चुप्प लागे पनि ‘भाइ फुटे गवार लुटे’ गर्न पाउने नै छ तर त्यहाँ पनि त उही रोगको दर्द प्रस्टै छ । फलतः जुन क्रान्तिको कुरा आज सुनिदै छ त्यो नितान्त स्वार्थपूर्ण छ । किनकि यो राष्ट्रवादी नभएर व्यक्तिगत हिसाब र पद नमिलेको माथापच्ची मात्रै हो ।
पदलिप्सामा थ्याङ्थिलो भएको नेकपा साँच्चै न यता न उता त छँदै छ । कमसेकम चियाचौतारीमा बस्नेले गर्ने अनावश्यक भाषण र टोलवासीमा गुटकै झोला बोकेर वैमनस्यता साँध्ने बुद्धिलाई शायद सबाल्टर्नको अवधारणाले छुँदो हो त मुलुक यसरी पट्टी बाँधेर कुर्लने थिएन । कमजोर शासकले विशाल समृद्धिका सपना देखाएका कुरा जनताका लागि कति विश्वासघाती होलान् भन्ने भान हुनुपथ्र्याे । हामीसँग प्राकृतिक सम्पदा, सांस्कृतिक धरोहरको जग, बहुमतको सरकार, ४० प्रतिशत सक्षम युवाशक्ति सबै कुरा कति सानदार थियो ! तर, अभैm पनि बहुमतको सरकारबाहेक अरू कुरा यथावत् छँदै छन् । जनताले सडकमा ओर्लिएको प्रचण्ड–नेपालको भीडसँग पनि सोध्नुपर्ने हो– यो लडाइँ निर्मला न्याय, ऊखु किसान, नयाँ नक्साको आधिकारिकता, कोरोना कहरको अन्त्यको अभियान, जनताको रोजगारका लागि या कुन प्रयोजनका लागि हो ? एकहप्ताअघिसम्म आफैँ डाडु–पन्यौँ बोकेकाहरू नै सत्तोसराप गरिरहँदा जनता किन भेडो बन्दै छ ? नेताको सनकका पछि, स्वार्थका पछि, पदलिप्साका पछि जनताले कहिलेसम्म सती गइरहनुपर्ने हो ! भोलि उहाँहरू सत्तामा पुगेपछि फेरि उही कुर्सीको जुहारी अर्को तरिकाबाट शुरु होला अनि त्यसबेलामा हामी जनताले फेरि के भन्ने हो ? अर्थात्, विकासविरोधी स्वार्थ जोडिएका विषयका विरुद्ध अझ भनौँ देशलाई अभैm अस्थिर नै बनाउने सोच बोक्ने नेताका विरुद्ध आन्दोलनमा साथ नदिएर असहयोग गर्न पनि त मिल्ला नि ! आफ्नै मान्छेलाई भर्ती गर्ने दाउमा लागेकाहरूको यो अनौठो जात्रामा सामेल हुने स्यालको हुइयाँले हाम्रो समाजलाई नराम्ररी गाँजेको छ ।
डकमा हिजो पनि नारा लाग्थ्यो र आज पनि उस्तै ः ‘आर्यघाटले के भन्छ ? फलानालाई फाँसी दे !’ आदि । अर्कोतिर सत्तामा हुनेले बोलेका शब्द र प्रहार पनि उत्तिकै परम शत्रुको स्वरमा । हिजो टाउकोको मोल तोक्ने र तोकिने आज सँगै हिँड्नुपरिरहेको छैन र ? अलिकति त हेक्का हुनुपर्ने हो । विद्यार्थीले सिकेका राजनीतिक संस्कारको विरासत आज पनि हिजै जसरी अराजक भएर धानिएकै देखिन्छ । यो त मुलुकको उन्नतिमार्ग रोक्ने बुद्धि हो । अब त विरोधको शैली र तरिकालाई पनि चेतनाले चिरेर विदुर नीति खोज्नु आवश्यक भएको छ ।अहिले पनि हिजोजस्तै आन्दोलन नै हरेक समस्या समाधानको उत्तम बाटो बन्न थालेको छ । आन्दोलन नगर्ने अर्थात् एकताबद्ध नहुने आवाजविहीन अल्पसङ्ख्यकको पीडालाई श्रद्धापूर्वक सम्बोधन गर्ने आँट गर्दैनन् । लाग्छ, यो आन्दोलनको युग हो । जतिसुकै समाजवादका फाइँफुट्टी लाए पनि कामदारले काम गर्छ तर पैसा नपाएर आन्दोलन गर्नुपर्छ । श्रमिकले पसिना बगाउँछ तर समाजवादको नारा घोक्नेहरूले त्यही श्रमलाई इज्जत दिन चाहँदैनन् ।राजनीति पटक्कै नबुझ्नेलाई पनि लोकतान्त्रिक युगमा राजनीतिको ज्ञान हुन थालेको छ । गान्धारीले देख्ने आँखालाई किन पट्टी बाँध्नुपर्छ अनि धृतराष्ट्र किन त्यति धेरै अराजक शासक बन्नुपर्ने हो र ? द्रौपदीको चीरहरणका रमितेहरूले भोग्नुपरेको सम्मानजनक जानजानको हार र वेदनाको तहलाई पनि मनन गर्नुपर्ने होइन त ? अब युगले पृथक् परिवर्तनको माग गर्दै छ । पूरा ज्ञान नभए पनि अल्पज्ञान बोकेर भौँतारिएको वर्तमान नेपाली समाजले ग्रामीण दूरदराजलाई चटक्कै बिर्सिएको छ ।
विडम्बना त मानिस जति धेरै बाठो भयो त्यति नै राजनीतिक झमेलामा अल्झिएर समयलाई सिर्जनशीलताबाट वञ्चित हुन पो सिक्दै छ । राजनीति गर्नु गलत होइन तर गलत राजनीतिलाई अन्ध समर्थनचाहिँ महागलत हुने रहेछ । दुई गुटको प्रतिशोध व्यक्तिवादी छ भनेर देखिरहँदा पनि जनता कुँडुलो लागेर चिरा पर्नुले मुलुकको भविष्य उही मुङ्ग्रे बलमा सञ्चालन हुने भय छ । वास्तवमा अहिलेको तमासा त अवसर र भाग नपाएको प्रतिशोधमा लड्ने कलाकारहरूको चटके कलाकारिता मात्रै हो ।वर्तमान राजनीतिक परिवेशले जनतालाई केवल कार्यकर्ता मात्रै बनाइरहेको छ । हिजो राजाले प्रजा बनाएको र आज कार्यकर्ता बनाएर संगठन विस्तार गरिएको पद्धतिमा नाम फरक तर लक्ष्य उही हो । सत्तामा बहुमत लिएर बसेको दर्बिलो पार्टी नै प्वाट्ट फुटिसक्दा खुलेरै आपसी विरोध गर्ने स्थिति कसरी उत्पन्न भयो ? भोलि दुई धारले दामकाम मिल्ने सहमति गरिसक्दा तपाईंले आज कमाएको शत्रुता पनि अन्त्य हुन सक्छ ? आखिर पदको लालसाभन्दा ठूलो जनभावना पनि त होइन रहेछ । मानिस दुई तहमा विभाजित हुँदा विचार पनि एउटा नैतिकताको आधारमा र अर्को अवसरको कोणबाट विभाजित देखिन्छ ।
अहिले आक्रोश र आवेशको राजनीति चर्केको हो ।
के सही, के गलत भन्ने कुरा नै अस्पष्ट भइरहँदा को असली र को नक्कली भन्ने पनि अन्योल अवस्थामै छ । तथापि, एउटा दुःखद सत्यचाहिँ के हो भने नेकपाले गुमाएको स्वर्णिम अवसर पदलिप्सा र व्यक्तिगत इगो भए पनि मुलुकले नै ठूलो दुर्गति व्यहोर्न विवश बन्नुपरेको छ । यसमा हामी सामाजिक सञ्जालमा पक्ष र विपक्षमा लड्ने जनता र यथार्थ छोडेर पत्रकारिताको धर्म बिर्सने पत्रकार पनि निर्दोष छैनौँ । हामीले सबाल्टर्न वर्ग, अल्पसङ्ख्यक, सुविधाविहीन क्षेत्रका मानिस, साँच्चै विपन्न, निरीह जो आपूm बोल्नुपर्छ भन्ने नै जान्दैन त्यो तहमा गएर पनि सोच्न थालौँ । तब भावना होइन सद्भावको मियो बलियो हुन्छ । भित्री मर्मको जग दर्बिलो हुन्छ र अबको नेतृत्वलाई जनताले बाचा गराऔँ र बाध्य पनि पारौँ । ‘फुस्रो प्रतिबद्धता होइन हामी कठालो समात्छौँ है’ पनि भन्ने गरौँ । किनकि, अबको माग द्वन्द्वको होइन विकासमुखी प्रतिस्पर्धासँग हुनुपर्छ ।
प्रतिक्रिया