चिर्पटले हानी श्रीमतीको हत्या


इलाम, (नेस) ।

आइतबार राति इलामको सूर्योदय नगरपालिकामा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । वडा नम्बर ५ शिकारी टोलका २३ वर्षीय दिनेश तामाङले १९ वर्षीया गीता तामाङलाई दाउराको चिरपटले हानेर हत्या गरेका हुन् ।

दाउराको चिरपटले हान्दा गम्भीर घाइते भएकी तामाङलाई उपचारका लागि फिक्कल अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । कुटपिट गरी हत्या गर्ने आरोपित तामाङ भने फरार भएकाले खोजीकार्य तीव्र बनाएको प्रहरीको भनाइ छ ।घटनापश्चात् जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक नवीन राईको कमान्डमा खटिएको प्रहरी टोलीले अनुसन्धान थालेको छ । मादक पदार्थ सेवन गरेका तामाङले घरायसी विवादको क्रममा श्रीमतीलाई दाउराको चिरपटले हानेर गम्भीर घाइते बनाएका थिए ।