निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसक्यो : देउवा


यमलाल भुसाल, बुटवल ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन कार्यक्रम अगाडि नबढाएको भन्दै निर्वाचन आयोगको आलोचना गर्नुभएको छ । सरकारले वैशाखमै चुनाव हुने दाबी गर्दै आए पनि निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कार्यक्रम अगाडि नबढाउनुले आयोगप्रति शंका गर्नुपर्ने अवस्था आएको देउवाको भनाइ छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार रुपन्देहीको भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयोग चुनाव गराउन तयार छ कि छैन भनी प्रश्न गर्नुभएको हो । उहाँले अघि भन्नुभयो– ‘ओलीले वैशाखमा चुनाव गराउँछु भनेका छन् । निर्वाचन आयोगले किन भन्दैन? निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ ।’निर्वाचनको तयारी गर्न अदालतको निर्णय कुर्नुनपर्ने बताउँदै देउवाले यदि अदालतको निर्णय चुनाव नगराउने आयो भने (तयारी) बन्द गरे भइहाल्यो भन्दै उहाँले भन्नुभयो– ‘निर्वाचन आयोगले जनतालाई भन्नुप¥यो, ६ महिनाभित्र चुनाव गराएरै छाड्छु । कार्यतालिका किन प्रकाशित गर्दैन? दलहरुलाई किन चुनाव चिह्न दिँदैन निर्वाचन आयोगले ?’

नेकपाको झगडाले कांग्रेस पार्टीभित्रसमेत असर गरेको बताउँदै उहाँले कांग्रेसलाई नेकपाको झगडाको रमिता हेर्नु छैन भन्नुभयो सुर्य चिह्न नपाए ओलीले चुनाव नगराउने देउवाको आशंका छ । उहाँले आयोगलाई सुर्य चुनाव चिह्न एउटै रहेको भन्दै प्रचण्डलाई दिने कि ओलीलाई दिने छिटो निर्णय गर्न आग्रह गर्नुभयो ।
अदालतमा विचाराधीन मुद्दामा नेपाली कांग्रेसले यही गर भन्न नमिल्ने बताउँदै उहाँले अदालतको निर्णय कांग्रेसले शिरोधार्य गर्ने बताउनुभयो । संसद् पुनस्र्थापनाको बिषयमा पार्टीमा फरकफरक मत आएको भन्दै देउवाले कांग्रेस स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेकाले अदालतमा विचाराधीन मुद्दामा अदालतलाई दबाब दिन नहुने विचार व्यक्त गर्नुभयो । ‘अदालतले संसद् पुनस्र्थापना गर्छ भने पनि हामीलाई ठीक छ, चुनाव गर भन्छ भने पनि ठीक छ।’ –देउवाको भनाइ थियो । प्रतिनिधिसभा विघटन गरेको ६ महिनाभित्र चुनाव भइसक्नुपर्ने भन्दै सभापति देउवाले निर्वाचन आयोगले त्यसलाई बेवास्ता गरेको टिप्पणी गर्नुभयो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले केपी ओली नेतृत्वको सरकार बनेदेखि नै संविधानमाथि निरन्तर प्रहार गर्दै आएको भन्दै प्रधानमन्त्री ओलीले सबैभन्दा पहिले मिडियामाथि आक्रमण गरेको आरोप लगाउनुभयो ।संविधानको मर्म र भावना विपरीत ओली सरकारले मिडिया विधेयक, मानव अधिकार विधेयक, सुरक्षा परिषद्सम्बन्धी विधेयक, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर संविधानलाई सिध्याउने कार्यमा लागेकोे भन्दै खाँणले अब सिद्धिने पालो ओलीको भएको बताउनुभयो ।नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको मात्रै विरोध गर्दै आएको भन्दै उहाँले लक्ष्मण रेखा नाघ्ने दुस्साहस गरे ओली सरकार र कम्युनिस्टविरुद्ध संघर्षमा उत्रिने चेतावनी दिनुभयो ।

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले संसद् विघटन र चुनावको विषयमा पार्टीका नेताहरुको फरकफरक धारणा सार्वजनिक हुँदा कार्यकर्ता र जनतामा निरासा छाएको भन्दै एउटै धारणा बनाएर जान नेतृत्वलाई आग्रह गर्नुभयो । नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा पुर्वराज्यमन्त्री अब्दुल रज्जाकको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रमोद यादव, प्रदेशसभा सदस्य रमा अर्याललगायतले बोल्नुभएको थियो ।