मोतीराम तिमल्सिना, काभ्रे ।
स्वास्थ्य कार्यालय काभ्रेले दोस्रो चरणको खोप आइतबारबाट शुरु भएको छ । पहिलो चरणमा ३ हजार ४ सय ९४ जनालाई खोप लगाइएको थियो । दोस्रो चरणमा ५ हजारलाई खोप लगाउने तयारी भएको छ ।
२०७७ फागुन २ गतेदेखि फागुन ७ गतेसम्म बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म जिल्लाको धुलिखेल अस्पताल र मेथिन्कोट अस्पतालमा नेपाल सरकारको निर्णयअनुसार दास्रो चरणको कोभिडविरुद्ध खोप शुरु गरिएको छ’, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा। नरेन्द्रकुमार झाले भन्नुभयो– ‘लक्षित समूहमा परेका व्यक्तिहरुले तोकिएको अवधिभित्र खोप लगाउन अनुरोध गरेका छौं । खोप लगाउन आउँदा पहिचान खुल्ने परिचयपत्र अनिवार्य गरिएको छ ।’
पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मीलगायत स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु, निजामती सेवामा कार्यरत कर्मचारीहरु, बंकमा कार्यरत कर्मचारीहरु, नेपाल प्रहरी, प्राधिकरण तथा संस्थानमा कार्यरत कर्मचारीहरु, न्याय सेवा समूहका कर्मचारी, सञ्चारकर्मीहरु, नगरपालिकाको स्वास्थ्य शाखा र जिल्ला प्रशासन कार्यालयबाट प्राप्त सूचीमा परेका व्यक्तिहरुलाई खोप लगाइनेछ । हरेक कार्यालयले आफ्नो कार्यालयमा कार्यरत २० प्रतिशत कर्मचारीहरुलाई दैनिक खोप लगाउने व्यवस्था मिलाउन कार्यालयले अनुरोध गरेको छ ।
जिल्लाको मेथिन्कोट अस्पतालमा नमोबुद्ध नगरपालिका, तेमाल, रोशी र महाभारत गाउँपालिकाका लक्षित समूहका व्यक्तिहरु तथा धुलिखेल अस्पतालमा बाँकी पालिकालाई कार्य क्षेत्र बनाउने लक्षित समूहका व्यक्तिहरुलाई खोप लगाइनेछ ।तेस्रो चरणमा वित्तीय संस्थाका कर्मचारीहरु, शिक्षक तथा अन्य क्षेत्रका व्यक्तिहरुलाई खोप लगाइनेछ । पहिलो चरणमा खोप लगाइएका ब्यक्तिहरुलाई हल्का ज्वरो आउने, जिउ दुख्नेबाहेक अन्य केही नभएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा। नरेन्द्रकुमार झाले बताउनुभयो ।











प्रतिक्रिया