कर्णालीमा लक्ष्यभन्दा कममा खोप



मुगु, (नेस)

कर्णाली प्रदेशमा हाल ९ हजार ४ सय २० जनालाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाइएको छ । साढे ११ हजार लगाउने लक्ष्यअनुसार खोप ल्याइए पनि जम्मा ९ हजार ४ सय २० जनालाई मात्र खोप लगाइएको पाइएको हो ।

पहिलो चरणमा तोकिएका सम्पूर्णलाई खोप लगाउने तयारी गरे पनि केही महिला स्वयंसेविका, स्वास्थ्यकर्मीहरू छुटेको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले बताउनुभयो । पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिने कर्मचारी, एम्बुलेन्स चालक, अस्पतालका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका र सरसफाइमा संलग्न कर्मचारी, वृद्धाश्रममा रहेका तथा मानव सेवा आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई दिइएको छ ।

निर्देशक डा. खड्काले दिनुभएको जानकारी अनुसार सबैभन्दा बढी सुर्खेतमा र सबैभन्दा कम डोल्पामा खोप लगाइएको छ । सुर्खेतका २ हजार ३ सय ४० जनाले खोप लगाएका छन् । दैलेखका १ हजार ४ सय ८३, जुम्लाका १ हजार ४०, सल्यानका १ हजार २, रुकुमपश्चिमका ८ सय ५०, कालिकोटका ८ सय, जाजरकोटका ६ सय ७३, हुम्लाका ४ सय ८५, मुगुका ४ सय १७ र डोल्पाका ३ सय ३० जनाले खोप लगाएको उहाँले जानकारी दिनुभयो ।कोभिसिल्ड लगाएकामध्ये १ जनामा गम्भीर खालको समस्या देखिएको थियो । यस्तै ३२ जनामा समान्य स्वास्थ्यमा समस्या देखिएको थियो । हाल भने सबैको अवस्थामा सामान्य रहेको डा. खड्काको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्