गम्छा र औंठीबाट पत्ता लाग्यो हत्यारा


गोकुल घोरसाइने, बारा

बाराको महागढीमाई नगरपालिका–१ मा १ साताअघि घरभित्रै मृत फेला परेकी ४७ वर्षीय कान्तिदेवी कुशवाहाको छिमेकी एक महिलाले गाउँकै अपराधिहरुलार्ई प्रयोग गरेर हत्या गरेको खुलेको छ । बारा प्रहरीले घटनास्थलमा फेला परेको रातो गम्छा र आंैठीमा आधारित भएर अनुसन्धान गर्ने क्रममा अपराधि पत्ता लगाएको हो ।

कान्तिदेवीको हत्यामा संलग्न भएको आरोपमा छिमेकी लालबाबुप्रसाद कुशवाहा र धनेश्वरी महतोलाई शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । घटनाको अनुसन्धान गर्न प्रहरीले गाउँमा रातो गम्छा लगाउने २ दर्जनभन्दा बढीलाई निगरानीमा राखेको थियो । कान्तिदेवीको हत्या भएको दिन बरियारपुर बजारमा भएको अष्टजाम यज्ञमा सहभागीहरुलाई यज्ञ आयोजकले रातो गम्छा ओडाएर सम्मान गरेका थिए । ‘घटनास्थलमा बरामद गरिएको सबुतको आधारमा अनुसन्धान गरियो’, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले भन्नुभयो– ‘यज्ञमा गम्छाले सम्मानित हुनेमध्ये लालबाबुप्रसादले हत्या गरेको स्वीकारेका छन् ।’ प्रहरीले बरामद गरेको औंठी पनि उनकै रहेको प्रहरीले जनाएको छ । लालबाबुलाई प्रहरीले घटनाको भोलिपल्ट नै नियन्त्रणमा लिएको थियो । उनकै बयानको आधारमा प्रहरीले अपराधि पत्ता लगाउन सफल बनेको हो ।

प्रहरीका अनुसार कान्तिदेवीको परिवार र छिमेकी रामबाबु महतोको वर्ष ४८ की श्रीमती धनेश्वरीदेवीबीच पहिलेदेखि नै जग्गाजमिन र अन्य विषयमा किचलो रहेको थियो । सोही रिसिइबी साँध्न धनेश्वरीले महागढीमाई नगरपालिका–१ निवासी लालबाबुप्रसादलाई प्रयोग गरेर कान्तिको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक मिश्रले जानाउनुभयो । लालबाबुले दिएको सूचनाको आधारमा घटनाको मुख्य योजनाकार भनिएकी धनेश्वरीलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरिएको थियो ।अनुसन्धानका क्रममा कान्तिदेवीको श्रीमान् वैधनाथ कुशवाहा बेलुका खाना खाएर घरबाहिर घुमफिर गर्न गएको मौका पारेर अभियुक्त लालबाबुले घरभित्र प्रवेश गरी घाँटी र कन्चटामा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । अभियुक्त लालबाबु यसअघि २०५६ सालदेखि २०६१ सालसम्म ३ वटा डाँका मुद्दा, १–१ वटा हातहतियार तथा खरखाजाना र सार्वजनिक अपराध मुद्दामासमेत पक्राउ परी सजाय भोगिसकेको पत्रकार समेलनमा जानकारी गराइएको थियो । कान्तिदेवीको गत माघ २५ गते हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको थियो ।