प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा प्रकरणमा आजबाट जवाफी बहस


नेपाल समाचारपत्र, काठमाडौं  ।

प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध दायर भएका रिट निवेदनका कानुन व्यवसायीले आइतबारबाट जवाफी बहस गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले बिहीबार बहस सकाएपछि आज आइतबारबाट रिट निवेदकका कानुन व्यवसायीहरुले जवाफ दिने भएका हुन् ।प्रधानमन्त्री ओलीका कानुन व्यवसायीहरुले उठाएका प्रश्नको जवाफ दिने गरी रिट निवेदकका कानुन व्यवसायीहरुले बहस गर्नेछन् । प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध सर्वोच्च अदालतमा १३ थान रिट निवेदन दायर भएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीले ती रिट निवेदनको पक्ष विपक्षबाट भएका बहस सुनिरहनुभएको छ ।सर्वोच्चका एक कर्मचारीका अनुसार अब बढीमा चार दिनमा सम्पँर्ण बहस सकिने भएको छ । त्यसपछि निर्णय सुनाउने दिन तोकिने वा बहस सकिएको दिनमा नै निर्णय सुनाउने हो भन्नेसम्बन्धमा इजलासबाट केही पनि भनिएको छैन ।प्रधानमन्त्री ओलीको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । गैरकानुनीरुपमा प्रतिनिधिसभा विघटन गरिएको दाबी गरी सर्वोच्चमा १३ थान रिट निवेदन दायर भएका हुन् ।रिट निवेदनमा संविधानमा प्रतिनिधिसभा विघटन गर्ने प्रावधान नभए पनि प्रधानमन्त्री ओलीले जबरजस्तीरुपमा जनताको प्रतिनिधि संस्था विघटन गर्नुभएको दाबी गरिएको छ ।

महान्यायाधिवक्ता, सरकारी वकिल तथा प्रधानमन्त्री ओलीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरुले संसदीय व्यवस्थामा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको अन्तर्निहित अधिकार भएको जिकिर गर्दै आएका छन् भने रिट निवेदकका कानुन व्यवसायीहरुले संवैधानिक सर्वोच्चता भएको देशमा अन्तर्निहित अधिकारको कुनै गुन्जाइस नहुने बताउँदै आएका छन् ।

नेपालको संविधानको धारा ८५ बमोजिम प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार रहेको भनी प्रधानमन्त्रीको पक्षमा बहस गर्ने कानुन व्यवसायीले बताउँदै आएका छन् । धारा ८५ मा यस संविधानअगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुने भनी उल्लेख गरिएको छ । रिट निवेदनकका कानुन व्यवसायीहरुले भने धारा ८५ लाई निरपेक्षरुपमा हेर्न नहुने दाबी गरेका छन् । रिट निवेदकका कानुन व्यवसायीले जवाफ दिएपछि पाँच जना एमिकस क्युरीले आ–आफ्नो भनाइ राख्नेछन् ।