पहिलोपटक महिनावारी शुरु हुने उमेर, प्रत्येक महिनाको महिनावारीबीचको अन्तर र महिनावारी बन्द हुने समय प्रत्येक महिलामा फरक–फरक हुन्छ । धेरैजसो युवतीहरूमा पहिलो महिनावारी १२ देखि १४ वर्षको उमेरमा हुन्छ तर कुनै युवतीमा छिटो ९ वर्षको उमेरमा नै र कुनैमा ढिलो १६ वर्षको उमेरमा महिनावारी भएको पनि पाइएको छ ।
यदि कुनै युवतीको पहिलो महिनावारी १६ वर्षमा मात्र भएको छ भने पनि यसलाई सामान्य नै मान्न सकिन्छ तर यदि महिनावारी हुनुपर्ने सामान्य वर्षभन्दा ढिला भएमा डाक्टर वा स्वास्थ्यकर्मीसँग सल्लाह, सुझावसहित उपचार सेवा लिन सकिन्छ ।महिनावारी हुँदा शारीरिक सरसफाइमा विषेश ध्यान पु¥याउनुपर्ने हुन्छ । ग्रामीण महिला महिनावारी हुँदा फोहोर कपडा प्रयोग गर्ने गर्छन् । यसले गर्दा उनीहरूको गुप्तांगमा संक्रमणको समस्या बढी देखिन्छ । गुप्तांगमा भएको संक्रमणले पछि गएर शरीरको प्रजनन अंगमा पनि संक्रमण हुने सम्भावना हुन्छ ।नेपालको पश्चिमी भेगतिर महिलाहरूको अवस्था अझ नाजुक छ । उनीहरू महिनावारी हुँदा कुनै पनि कपडा प्रयोग गर्दैनन् ।
कसै–कसैले कपडा प्रयोग गरे भने पनि सूर्यलाई देखाउनुहुँदैन भन्ने अन्धविश्वास छ । यसैले उनीहरू कपडा घाममा सुकाउँदैनन् र अँध्यारोमै राख्छन् । उनीहरू फेरि अर्कोपल्ट महिनावारी हुँदा त्यही कपडाको प्रयोग गर्छन् ।यसले गर्दा उनीहरूको शरीरका भित्री अंगमा संक्रमण हुने सम्भावना बढी हुन्छ । महिनावारीमा प्रयोग गरेको कपडा घाममा सुकाउनुपर्छ । यसले कपडामा भएको परजीवी नष्ट हुन्छ । कपडा नरम र सुतीको हुनुपर्छ । नाइलन र पोलिस्टरको कपडा प्रयोग गर्नुहुँदैन । महिनावारी हुँदा प्रयोग गरिएका कपडा फेरिरहनुपर्छ । रगत लागेको कपडा प्रयोग गर्नुहुँदैन । यसले शरीर गन्हाउने, काछमा घाउ आउने र संक्रमण हुने हुन्छ ।आजकल महिलाहरू आधुनिक स्यानिटरी प्याड प्रयोग गर्छन् । औषधि पसलबाट रुवा किनेर ल्याउने, यसलाई सानो भागमा बाँड्ने र तिनलाई सुतीको कपडामा बेरेर प्याड बनाउन सकिन्छ । यो प्याड एकपल्ट प्रयोग गरिसकेपछि कागजमा बेरेर सुरक्षित ठाँउमा फ्याँक्ने वा जलाएर नष्ट गर्नुपर्छ ।
असुरक्षित यौनसम्पर्कमा संलग्न हुँदा गर्भवती भएको हुन सक्छ । जसको कारण महिनावारी रोकिएको हुन सक्छ । त्यसकारण त्यस्तो अवस्थामा नजिकैको औषधि पसल तथा स्वास्थ्य संस्थामा गई सामान्य गर्भवती जाँच गराउन सक्नुहुन्छ ।
महिलाहरूको शरीर संवेदनशील हुने हुँदा धेरै चिन्ता, तनाव वा धेरै भ्रमण गर्नुपर्ने अवस्थामा तथा धेरै बिरामी भएमा पनि महिनावारी केही हप्ता अगाडि–पछाडि हुन सक्छ । प्रायः केटीहरूमा नियमित ( महिनावारी हुन्छ नै भन्ने छैन । त्यसैले आफू कुन मितिमा महिनावारी भइयो भनेर थाहा पाइराख्न र महिनावारी किन भएन भनी चिन्तामा बस्न नपरोस् भन्ने हेतुले आफ्नो महिनावारीको मिति क्यालेन्डरमा वा डायरीमा लेखिराख्नु राम्रो हुन्छ ।महिनावारी हुँदा तल्लो पेट र ढाड दुख्नु सामान्य नै मानिन्छ । महिनावारी हुनुभन्दा केही दिनपहिले शरीरमा भएको रागरसको मात्रामा परिवर्तन आउने गर्दछ । यस्तो रागरसको सहयोगले बच्चा हुर्कनका लागि पाठेघरको भित्र उपयुक्त वातावरण बनिरहेको हुन्छ । यस प्रक्रियाका कारणले पनि तल्लो पेट र ढाड दुख्ने गर्दछ ।यदि पाठेघरले निषेचित डिम्ब प्राप्त गरेन भने त्यो निर्माण भएको रगतको तह बिस्तारै रगतका रूपमा योनिमार्ग हुँदै बाहिर निस्कन्छ र यस बेला पाठेघर खुम्चिने र फुक्ने हुँदा यस्तो प्रकारको दुखाइ हुने गर्दछ ।
यही रागरसको परिवर्तनले गर्दा महिनावारी हुनुअघि कब्जियत हुने, स्तन कडा हुने अनि दुख्ने र थकाइ लाग्ने तथा कसै–कसैलाई डन्डीफोर आउनेजस्ता लक्षणहरू पनि देखा पर्दछन् ।घरेलु तरिका अपनाएर महिनावारी हुँदा पेट दुख्ने समस्यालाई समाधान गर्न सक्छौं । रुमाल वा आधा मिटर जति सुतीको कपडाको टुक्रालाई तातो पानीमा भिजाएर पेटको वरिपरि सेकाउन सकिन्छ । त्यसै गरी तातो पानीलाई रबरको थैलीमा राखेर दुखेका ठाउँमा बिस्तारै सेक्न पनि सकिन्छ । रबरको थैली नभएको खण्डमा सिसीमा तातो पानी राखी दुखेका ठाउँमा सेक्न सकिन्छ ।
त्यसै गरी दुखेको ठाउँमा बिस्तारै हलुका मालिस गर्नाले पनि दुखाइ कम हुन्छ । यस्तो बेला जति सक्दो तातो पानी, चिया र सुपका साथै अन्य गेडागुडीको झोल, हरियो सागसब्जी खानुपर्छ । यसले शरीरलाई कमजोर हुन दिँदैन । हलुका व्यायाम गर्नाले पनि दुखाइ कम हुन्छ । धेरै रगत बगेमा र सहन नसक्ने गरी पेट दुखेमा स्वास्थ्य चौकी जान ढिलाइ गर्नुहुँदैन । माथि उल्लिखित लक्षणहरू महिनावारी हुने बेला देखिनु सामान्य नै हो । त्यसैले चिन्ता गर्नु वा डराउनुपर्दैन ।
– सुमन ज्ञवाली, कौशलटार, भक्तपुर ।
प्रतिक्रिया