अनुशासन नै हाम्रो जीवनको आधार


अनुशासन भनेको नियम पालन हो । प्रकृतिले पनि नियमको पालन गरेको पाइन्छ । पृथ्वीले एक निश्चित गतिमा सूर्यको परिक्रमा गरिरहेको हुन्छ र यसै आधारमा दिन र रातको प्रक्रिया चालू भइरहन्छ । विशाल समुद्र पनि आफ्नो निश्चित सीमामा अडेको हुन्छ । गर्मी र जाडो मौसम पनि नियमअनुसार नै आउँछन् ।

त्यसै गरी हावा, बादल, पहाड, आगो, रुख आदि सबै आ–आफ्ना नियमअनुसार चलेका हुन्छन् । प्रकृतिको यस प्रकारको अनुशासनकै आडमा मानवजीवन पनि अडेको छ । यदि प्रकृति अनुशासनमा रहने भने मानवजीवनको अस्तित्व नै संकटमा पर्दछ । प्रकृतिमा पाइने यस्तो अनुशासन मानिसका लागि प्रेरणादायी बनेको छ ।विद्यार्थी जीवनमा अनुशासनको ज्यादै महत्व रहन्छ । अनुशासनहीन विद्यार्थीको पढाइ राम्रो हुन सक्दैन । अनुशासित विद्यार्थीले पढाइमा उल्लेखनीय सफलता हासिल गर्न सक्दछ । विद्यालयका नियमको अक्षरशः पालना गर्ने, शिक्षकको मान गर्ने र तिनले पढाएको–सिकाएको कुरा ध्यान दिएर अध्ययन गर्ने विद्यार्थी पछि गएर असल नागरिक बन्दछ । उसको भविष्य पनि उज्ज्वल बन्दछ ।

बिहानले दिनको संकेत गर्छ भनेझैँ विद्यार्थी जीवनले मानिसको भविष्य राम्रो वा नराम्रो के हुने भन्ने कुराको संकेत गर्दछ । त्यसैले हरेक विद्यार्थी आफ्नो भविष्य राम्रो होस् भन्नका लागि अनुशासित भएर पढ्नुपर्छ । अनुशासनहीन विद्यार्थी उद्दण्ड, अराजकता र विकृतिको बाटोतिर लाग्दछ । यस्ता विद्यार्थीले भविष्यमा निकै पछुताउनुपर्दछ ।अनुशासनको पालना आफूभित्रैबाट हुनुपर्दछ । सबैले सचेत भई सामाजिक नीति–नियमका घेराभित्र रहेर कम गर्नु उचित हुन्छ । आफू अनुशासनमा रहने मानिसले नै अरुलाई पनि अनुशासनको पाठ पढाउन सक्छ । जुन व्यक्ति अनुसासित छैन त्यसले अरु कसैलाई पनि अनुशासित बनाउन सक्तैन ।

त्यसै गरी कसैले दण्ड, डर र धम्कीबाट अरुलाई अनुशासन सृजना गरी कायम गरिने अनुशासन क्षणिक हुन्छ । त्यस्तो अनुशासन सधैँ टिकिरहँदैन । सबैले पहिले आफैं अनुशासनमा बस्नु जरुरी छ । यस अर्थमा आत्म अनुशासन नै अनुशासनको पहिलो सर्त हो ।
शिक्षा धनको लागि होइन । विश्वास र सफल जीवनको लागि साधना गरिन्छ । धनको आशा राखेर शिक्षा हासिल गर्न खोजियो भने जीवनमा प्राप्त गर्ने ज्ञान र सफलता दुवै गुम्न सक्छ । मानवको जीवनमा शिक्षा र अनुशासन नभएमा जीवनको दौडमा सबैभन्दा पछि जानेछ ।यिनको अभावले मानवलाई असफलता नै दिन्छ । त्यसैले शिक्षा काम सक्नको लागि होइन, आफू सक्षम हुनको लागि अध्ययनमा लाग्नुपर्दछ । सरकारले पनि विद्यालय शान्ति क्षेत्र हुन् भनी वि.सं. २०६८ जेठ ११ मा घोषणा गरिसकेको छ । जीवनमा स्वस्थ सुखको अनुभूति तब मात्र गर्न सक्छौँ, जुन बेला हामी असल शिक्षक र मित्रको साथमा ज्ञानको सागरमा रमेका हुन्छौँ । जसले हामीलाई ज्ञान, सुझाव र हितको कार्यमा अग्रसरता गराउँछन् ।

असल शिक्षाले प्रश्न गर्न र उत्तर दिन सिकाउँछ भने खराब शिक्षाले उत्तर दिन हिच्किचाउँछ र रट्न सिकाउँछ । त्यसैले शिक्षा दिने र लिने तरिकामा पनि आफैँमा आजैबाट परिवर्तन गरौँ, तब मात्र शिक्षामा बदलाव आउनेछ । हामी आफँै सुधारिएर असल र सज्जन बनिदिँदै जाऊँ, बिस्तारै सबैले यो सोच्न र व्यवहारमा उतार्न थाल्नेछन् । अन्ततः समाज र देशमा शिक्षाको क्षेत्रमा परिवर्तन अवश्य नै हुन्छ ।
विद्यार्थी भविष्यका कर्णधार भएको हुनाले उनीहरुलाई असल शिक्षा लिनमा नै ध्यान केन्द्रित गराऔँ । कुनै पनि प्रकारका घरेलु तथा व्यक्तिगत प्रयोजनका लागि प्रयोग नगरौँ । शिक्षक वर्गलाई शिक्षाका गतिविधिमा जवाफदेही बनाउन पूर्णरुपमा सबै क्षेत्रले अपिल गरौँ । शिक्षक वर्गले आफ्ना विद्यार्थीलाई जिम्मेवारी लिएर असल शिक्षा दिनुहोस्, उनीहरुलाई अनावश्यक बाह्य गतिविधिमा संलग्न हुनबाट रोक्नुहोस् । शिक्षक वर्गले शिक्षा आर्जन गर्ने विद्यार्थीलाई अन्य गतिविधिमा संलग्न गराइएको थाहा पाए उनीहरुसँग स्पष्टीकरण माग्नुहोस् ।

विद्यार्थीहरुलाई यस्ता गतिविधिमा संलग्न गराउँदै हुनुहुन्छ, किन ? भूल हुनु विद्यार्थीमा प्राकृतिक घटना हो, यसलाई शिक्षक वर्गले स्वीकार गरी असल संस्कारको जग स्थापित गर्नुपर्दछ । उनीहरुलाई सुधार र प्रगति उन्मुख मार्गमा डो¥याउनुपर्दछ । बुद्धिहीनहरु धेरै बोल्छन्, त्यसैले तिनीहरुले बोलेका कुराको अर्थ हुँदैन । तर, बुद्धिशालीहरु कम बोल्छन्, त्यसको अर्थ धेरै हुन्छ । हामी यही कुरा बुझ्न सक्षम हुनको लागि असल शिक्षाको साथसाथै हामीमा अनुशासनको पनि भरपूर प्रचूरता हुनुपर्दछ ।आजका विद्यार्थी भविष्यका विद्यालय शान्ति क्षेत्र अभियानका अभियन्ता हुन् । यिनलाई असल शिक्षा र संस्कार दिऊँ । विद्यार्थीले पनि आफ्नो ध्यानलाई शिक्षा आर्जनमा लगन र अनुशासित भई उद्देश्यमा सफलता हासिल गर्न मर्यादित, संयमित भई निरन्तर कर्तव्यपथमा लागिरहनु पर्नेछ ।

असल शिक्षाले हाम्रो शिर कहिल्यै झुकाउँदैन, सधैँ शिर उचो बनाउँछ । हामीले हाम्रा असल संस्कारलाई जीवित बनाउनुपर्दछ । विद्यार्थी जीवनमा शिक्षा र अनुशासनमा रहनु, आफ्ना सम्पूर्ण कार्यहरु व्यवस्थितरुपले गर्नु नितान्त आवश्यक छ । शिक्षामा उदासीन भएर होइन, इच्छा, लगन, परिश्रम र अनुशासनलाई आत्मसात् गरेमा सफलता प्राप्त गर्न सकिन्छ । जुन मानव वा विद्यार्थी जीवनमा सहयोगीसिद्ध हुनेछ ।
– प्रतीक राना, पाल्पा