सुदूरपश्चिम :पहिलो चरणमा १५ हजारलाई खोप



विनोदसिंह विष्ट, बैतडी  ।

सुदूरपश्चिम प्रदेशमा पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियान सम्पन्न भएको छ । पहिलो चरणमा प्रदेशका करिब १५ हजार व्यक्तिलाई खोप लगाइएको छ ।सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीका अनुसार प्रदेशका १३ खोप केन्द्रमार्फत १४ हजार ८ सय ९६ जनालाई खोप दिइएको हो, जसमा कैलालीमा ४ हजार १ सय ८४, कञ्चनपुमा २ हजार ७ सय ९२, अछाममा १ हजार ४ सय ९५, बैतडीमा १ हजार ३ सय ९७, डोटीमा १ हजार १ सय ३७, बझाङमा १ हजार ९१, दार्चुलामा १ हजार ८२, डडेल्धुरामा १ हजार ६२ र बाजुरामा ६ सय ५६ जनालाई खोप दिइएको हो ।

प्रदेशमा शनिबारसम्म पहिलो चरणको खोप अभियान सम्पन्न गर्ने भनिएको भए पनि बाजुरामा भने १ दिन ढिला सम्पन्न भएको हो । बाजुरामा एक दिन ढिला गरी माघ १५ गतेदेखि अभियान शुरु भएको थियो उहाँले भन्नुभयो– ‘यातायात अवरुद्ध भएकोले एक दिन थप गरिएको हो ।’यसअघि प्रदेशका अन्य जिल्लामा माघ १४ गते नै खोप अभियान सञ्चालन भएको थियो । तर बाजुरामा भने सदमुकामसम्म सवारी सञ्चालन नभएकाले एकदिन ढिला गरी अभियान सञ्चालन भएको डाक्टर अवस्थीको भनाई छ ।

प्रदेशका अन्य ८ वटा जिल्लामा भने माघ २४ गते नै पहिलो चरणको खोप अभियान सम्पन्न भएको थियो । अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, महिला स्वस्थ्य स्वयंसेविका, एम्बुलेन्स र शव वाहन चालक, कैदीबन्दी र तिनको सुरक्षामा खटिएका सुरक्षकर्मीलाई खोप दिने कार्य सकिएको हो ।पहिलो चरणमा खोप दिन सुदूरपश्चिमका लागि ३६ हजार खोप उपलब्ध भएकोमा प्रदेशभर १६ हजार २ सय ९३ जनाको सूची तयार गरिएको थियो ।पहिलो चरणको खोप अभियान माघ २४ गते सक्ने लक्ष्य रहेको थियो ।

दोस्रो चरणको खोप अभियानको तयारी

पहिलो चरणको पहिलो खोप अभियान अन्तिम चरणमा पुगेसँगै दोस्रो चरणको खोप अभियानको पनि तयारी थालिएको छ । दोस्रो चरणको खोप अभियानका लागि लागि तथ्यांक संकलनको काम छिट्टै सञ्चालन हुने स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘तथ्यांक संकलन गरेर चैतभित्रैबाट दोस्रो चरणको अभियान शुरु गछौं।’
दोस्रो चरणमा अग्रपंक्तिमा खटिने प्रहरी, सेना, सशस्त्र प्रहरी, नगर प्रहरी, यातायातकर्मी, सार्वजनिक सवारी चालक, सहचालक, अत्यधिक भिडभाड हुने कार्यालयहरु जस्तै मालपोत, नापी, यातायात, विद्युत्, खानेपानी, बैंक र सञ्चार गृहमा कार्यरत कर्मचारीलाई खोप लगाउने तयारी रहेको हो ।दोस्रो चरणका लागि कति मात्रामा खोप पाउने भन्ने एकिन संघीय सरकारले अझै नगराएको भए पनि प्रदेशमा भने तयारी थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्