बद्रीप्रसाद पौडेल
कफी एक बहुबर्से नगदे बाली हो । विश्वमा कारोबारको हिसाबले पेट्रोलियमपछिको दोस्रो कफी हुने हुँदा यसलाई खैरो सुन पनि भनिन्छ । कफी रुबिएसी परिवारअन्तर्गत पर्दछ । विश्वमा कफी खेती गरिने हिसाबले कफिया वंश प्रचलित छ, जसमा ७० भन्दा बढी प्रजाति र अनुवंश छन् । यी प्रजाति र अनुवंशमध्ये विश्वभर अराबिका र रोबस्टा सबैभन्दा प्रचलित छन् । अराबिका कफीको उत्पत्ति इथोपियाको कफा प्रान्तमा भएको तथा अरेबियन देशहरुले पेयपदार्थको रुपमा यसको खेती शुरु गरेका थिए । त्यसै गरी रोबस्टा कफी सर्वप्रथम मध्यअफ्रिकाको कंगोमा लगाइएको थियो र त्यसपश्चात् अन्यदेशहरुमा फैलिएको मानिन्छ ।
कफीलाई एक हलुका पेयपदार्थको रुपमा लिइने गरिन्छ । यसमा पाइने क्याफिन नामक रासायनिक पदार्थले आनन्दपन महसुस गराउँछ र अल्छीपना हटाउन सहयोग गर्दछ । साथै शरीरमा देखिने प्रारम्भिक रोगहरुलाई पनि कमी गराउन मद्दत पु र्याउँछ । कफीको प्रजातिमध्ये अराबिका कफीमा ०.८ देखि १.५ प्रतिशत र रोबस्टा कफीमा १.७ देखि ४.० प्रतिशतसम्म क्याफिन पाइन्छ । हाल विश्वका ७० भन्दा बढी देशहरुमा १०.८४ मिलियन हेक्टर जमिनमा कफीको व्यावसायिक खेती गरिएको छ । विश्वको सबैभन्दा धेरै कफी निर्यात गर्ने देशमध्ये ब्राजिल, भियतनाम, कोलम्बिया, इन्डोनेसिया आदि पर्दछन् भने सबैभन्दा धेरै आयात ई.यु, अमेरिका, जर्मनी, जापान, बेल्जियम, इटाली आदि देशहरुले गर्दछन् ।विश्वबजारमा एक महत्वपूर्ण नगदे बालीको रुपमा स्थापित कफी नेपालमा वि.सं. १९९५ मा गुल्मी जिल्लाको आँपचौरका साधु हीरा गिरीले बर्माबाट अराबिका प्रजातिको बिरुवा ल्याई रोप्नुभएको थियो । फाट्टफुट्ट खेती भइरहेको कफीले वि.सं. २०३२÷३३ बाट व्यावसायिक खेतीको रुप लिँदै गरेको थियो ।
वि.सं. २०४१ मा तत्कालीन राजा वीरेन्द्रले यस स्थानको औपचारिक भ्रमण गर्नुभएको र त्यसै समयमा कफी सिंचाइ र सरकारी संस्थाको माग भएअनुसार यस कफी फार्म केन्द्र स्थापना गर्न निर्देशन दिनुभएको थियो । उहाँको निर्देशनअनुरुप वि.सं. २०४२ फागुन ७ गते कफी विकास केन्द्रको स्थापना भएको थियो ।कफी विकास केन्द्रको स्थापनापश्चात् कफी खेतीमा व्यवसायीकरणको वृद्धि हुने अपेक्षा गरिएतापनि कफीको बजार नभएको कारणले गर्दा गुल्मीको आँपचौरलगायत अन्य जिल्लामा कफीको बोट मास्न थालिएको इतिहास छ । कफीको खेती धेरै पहिला शुरु भए पनि अन्य देशको जति नेपालमा यस खेतीको विस्तार भएको छैन । स्टाटिस्टा डट कमको तथ्यांकअनुसार सन् २०२० मा विश्वमा कुल १,०१,६०००० टन कफी उत्पादन भएको थियो, जसले उत्पादनको सरदर प्रतिदेश १,७८,१७४ टन बनाउँछ । नेपालको परिपे्रक्ष्यमा हेर्दा वि.सं. २०७६-७७ मा कुल २७६१ हेक्टर जमिनमा ५३० टन कफी उत्पादन भएको छ, जुन कुल विश्वको उत्पादनको सरदर ३३० गुना र नेपालको कुल कफीउत्पादकत्वको १-३ गुना कम हो ।
नगदेबाली भएको हुनाले कफी खेतीले अन्य खेतीको तुलनामा कृषकलाई बढी लाभ दिन्छ । समुद्री सतहको ६०० मिटरदेखि १६०० मिटर उचाइसम्म पर्याप्त पानीको व्यवस्था (सिंचाइ)भएको पूर्व, पश्चिम, दक्षिण तथा उत्तर मोहडा (जहाँ हिउँदमा कम्तीमा ४ देखि ५ घण्टा घाम लाग्छ) भएको जमिन कफी खेतीको लागि उत्तम मानिन्छ । जमिनको स्वरुप ३० डिग्रीदेखि ३५ डिग्रीसम्मको भिरालो हुँदापनि कफी खेतीलाई फरक पर्दैन तर यसको खेतीको लागि प्रशस्त प्रांगारिक पदार्थ भएको कम्तीमा १ मिटर गहिरो हलुका दोमट माटो हुनु आवश्यक पर्दछ । कफी रोपण गर्दा पर्याप्त छहारी बोटको पनि व्यवस्था गर्नुपर्दछ ।कफीको लागि औसत तापक्रम १५ देखि २५ डिग्री सेल्सियस र सापेक्षित आद्रता ७० देखि ८० प्रतिशत हुनुपर्दछ । कफी उत्पादनको लागि तुसारो पर्ने स्थान उपयुक्त मानिदैन । साधारणतया कफीको बोट रोप्नको लागि एक बोटदेखि अर्को बोटको दूरी २ मिटर कायम गर्नुपर्दछ । कफीको बोटलाई स्थायी छहारी बोटको व्यवस्था गर्नुपर्दछ, जसमा छहारी बोटको लागि नीम, रुखकटहर, कालो सिरिस, रातो सिरिस, तेजपत्ता, डुम्री, टुनी, शीतलचिनी आदि रोप्न सकिन्छ, जसबाट दोहोरो आम्दानी गर्न सकिन्छ । यी छहारी रुखमा मरिच, पिपलाजस्ता लहरे बालीपनि रोप्न सकिन्छ । यति मात्रै नभई कफी पूर्णरुपमा हुर्किने समयसम्म अदुवा, बेसारजस्ता मसला बाली तथा भटमास, रहर, केराउजस्ता झाङ नहुने कोसे बालीहरु पनि कफीका बीचमा लगाउन सकिने हुनाले कफी खेतीमा बहुआम्दानीको स्रोत लुकेको हुन्छ ।
कफी खेतीको उपयुक्तताको लागि यसमा लाग्ने खर्च तथा यसको आम्दानीको बारेमा बुझ्नुपर्ने हुन्छ । हालको मापदण्डअनुसार १ रोपनी जमिनमा १०० वटा कफीको बोट लगाउन सकिन्छ, जसका लागि न्यूनतम खर्च लाग्ने हुन्छ । यसैसँग एक कफीको बोटको लागि वर्षमा जम्मा १–२ पटक मल हाल्नुपर्ने तथा ७ देखि १० दिनको अन्तरालमा पानी हाल्नुपर्ने (तापक्रम तथा सुक्खापनमा आधारित) हुन्छ । यसको फल लाग्नलाई ३ वर्षदेखि ४ वर्ष लाग्छ । यो समयपछि २ देखि ३ किलोसम्मफल लाग्छ । यसको फल राम्ररी लाग्नलाई ४ देखि ५ वर्ष लाग्छ, जसमा सरदार ४ किलोदेखि माथि फल लाग्छ । यो क्रम बर्सेनि बढ्दै जाने हुँदा १० वर्षको उमेरको एउटा बोटमा सरदर ७ केजी फल लाग्छ । यस्तो पाकेको फल (फ्रेस चेरी) वि.सं. २०७७ को निर्धारित सरकारी मूल्यअनुसार रु. ९० प्रतिकिलो पर्दछ (ग्रेड हेरेर निर्धारण गरिन्छ) । माथि उल्लिखित तथ्यांक हेर्दा १ रोपनी जमिनमा १०० बोट हुँदा पाचौं वर्षमा कफीको रातो पाकेको चेरी मात्रले थोरैमा रु. ३६,००० को आम्दानी गराउँछ ।
प्रशोधन गर्न सके मूल्य वृद्धि हुँदै जान्छ ।राष्ट्रिय चिया तथा कफी विकास बोर्डले प्रकाशित गरेको तथ्यांकअनुसार नेपालमा उत्पादित कुल कफीमध्ये ८४.१३ टन निर्यात हुन्छ भने १२६२.४१ टन विदेशबाट आयात हुने गर्दछ । यसले नेपालमा कफीको उत्पादन तथा निर्यातमा पर्याप्त सम्भावना रहेको देखिन्छ । साथै नेपालमा सरदार ६१,२२८ हेक्टर जमिन अतिउपयुक्त, ४,०२,६४६ हेक्टर जमिन उपयुक्त र ७,३४,६६१ हेक्टर सामान्य खेतीयोग्य गरी कुल ११,९८,५३५ हेक्टरमा कफी खेती गर्न सकिने राष्ट्रिय चिया तथा कफी विकास बोर्डले प्रकाशित गरेको छ । नेपालमा अति उपयुक्त रोपण क्षेत्र र अहिले प्रयोग गरिएको क्षेत्रलाई हेर्दा लगभग २३ गुणा कम क्षेत्रमा कफी उत्पादन भइरहेको छ । यसले नेपालमा कफी रोपण तथा उत्पादनमा धेरैनै अवसर रहेको देखिन्छ ।देशका विभिन्न स्थानमा जमिन खेर गएको अवस्था छ । एफ.ए.ओ.को तथ्यांकअनुसार नेपालको मध्यपहाडी भूभागमा कुल जमिनको २७.५ प्रतिशत जमिनमा मात्रै खेती भएको छ भने १.४ प्रतिशत जमिन खेतीयोग्य छैन र बाँकी जमिनमा कफी खेती गर्न सकिन्छ (जंगलको ४० प्रतिशतसहित) । त्यसै कारण नेपालमा भएको खेतीयोग्य तथा खेती नगरिएको जमिनमा प्रशस्त कफी खेती गर्न सकिन्छ ।
साथै कफीलाई अत्यावश्यक पर्ने पानीको सन्दर्भ हेर्दा नेपालमा पानीको स्रोतको कमी छैन, जसको कारण नेपाल जलस्रोतको दोस्रो धनी देशको रुपमा पनि चिनिन्छ । पानीको स्रोत खेतीयोग्य जमिनभन्दा तल भएको अवस्थामा लिफ्ट सिंचाइको अवधारणा प्रयोग गरी पानीलाई माथि ल्याउन सकिन्छ र थोपा सिंचाइ, फोहोरा सिंचाइको प्रयोग गर्न सकिन्छ । यी सबै अवसर हेर्दा नेपालमा युवावर्गलाई आर्थिक स्थिति सुदृढ गर्न विदेश धाउनु नपर्ने देखिन्छ । देशमा रहेका कैयौं खालि जमिनको सदुपयोग गरी मेहनत गर्दा प्रत्येक व्यक्तिले आफ्नो जीवनयापनको लागि आवश्यक आम्दानी गर्न सक्छन् । विदेशमा गएर कमाउने रकमभन्दा यहाँ प्रयोगविनै खेर फालिएको जमिनलाई सदुपयोग गरी कफी खेती गरेमा त्यसभन्दा धेरै रकम कमाउन सक्ने अवस्था रहेको छ ।
कफी खेती गर्नेले सर्वप्रथम तालिम लिनु अत्यावश्यक रहन्छ, जसमा कफी लगाउने तरिका, कफीमा ध्यान दिनुपर्ने कुरा, कफीमा लाग्ने रोग, कफीले दिने आम्दानी आदिको बारेमा जानकारी उपलब्ध हुन्छ । सरकारले कफी खेतीलाई प्राथमिकतामा राखी कफी खेती गर्न खोज्ने किसानलाई विभिन्न अनुदानका कार्यक्रमको व्यवस्था गरेको छ । साथै केही स्थानीय निकायले जग्गा तथा त्यसमा लाग्ने लगानीको लागि केही व्यवस्था गरेको पाइन्छ । साथै नेपाल सरकारले प्राविधिक सेवाको लागिपनि उपयुक्त व्यवस्था गरेको छ । नेपाल सरकारको कफी विकास कार्यालय, चिया तथा कफी विकास बोर्ड, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तथा पालिकाका प्राविधिकहरुको मुख्य कामनै किसानलाई प्राविधिक ज्ञान प्रदान गर्ने रहेको छ ।
त्यसैले, सरकारी स्तरबाट जंगलको केही भूभाग कबुलियती वन तथा सामुदायिक वनस्वरूप स्थानीयलाई हस्तान्तरण गर्दा कफी खेती गर्न बढी जोड दिँदा कफीको उत्पादन पनि बढ्ने, स्थानीयको आम्दानीको स्रोत पनि सुद्रिढ हुने र जंगलको घनत्वलाई पनि असर नगर्ने देखिन्छ । साथै कफीको लागि छहारी बोटहरु रोपण गर्दा पर्यावरणीय हिसाबले पनि अत्तिउत्तम हुन्छ । नेपालको कफी गुणस्तरीय हुने भएकोले विदेशी तथा स्वदेशी पर्यटक आकर्षित हुने गर्दछन् । यसै स्वरूप देशमा एग्रो–टुरिजमको विकास हुने र समस्त देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने देखिन्छ ।
(लेखक पौडेल कफी विकास केन्द्र, आँपचौर, गुल्मीमा उपसचिव पदमा कार्यरत हुनुहुन्छ ।)
प्रतिक्रिया