सवारी चालक अनुमतिपत्र बनाईदिन्छु भन्दै ठग्ने पक्राउ


कास्की(नेस) । सवारी चालक अनुमतिपत्र बनाईदिन्छु भनी ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने स्याङ्जाको वालिङ नगरपालिका–१ घर भएका खगेन्द्रप्रसाद काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ ।

मेट्रो ड्राइभिङ स्कुल एण्ड प्रि टेष्ट सेन्टर प्राइभेट लिमिटेडका सञ्चालक काफ्लेले सजिलै लाइसेन्स निकालिदिन्छु भन्दै ठगी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट लाइसेन्स निकालिदिन्छु भन्दै विभिन्न व्यक्तिहरूसग लिएको कागजपत्र, लाइसेन्स ३ थान, विभिन्न नमुना प्रश्नपत्र र नगद ८९ हजार ६ सय २० रूपैया प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।