नेपाल समाचारपत्र, बुटवल ।
पेट्रोलियम पदार्थको ढुवानीमा बटम लोडिङ प्रणाली लागू भए नेपालभरिका पेट्रोलियम, ट्यांकर र एलपी ग्यास व्यवसायीको व्यवसाय धरासयी हुने व्यवसायीहरूको दाबी छ ।शनिबार भैरहवामा भएको पश्चिमाञ्चल पेट्रोलियम डिलस एसोसिएसनको १६औं वार्षिक साधारण सभामा बोल्ने व्यवसायीहरुले नेपाल आयल निगमले लागू गर्न खोजेको पेट्रोलियम पदार्थको ढुवानीमा बटम लोडिङ प्रणाली व्यवसायीका लागि घातक हुने दाबी गरेका हुन् ।पेट्रोलियम पदार्थको ढुवानीमा बटम लोडिङ प्रणाली लागू गर्दा एक ट्यांकरमा थप ३० लाख रुपियांँ बढी खर्च गर्न व्यवसायी बाध्य हुनुपर्ने भएकाले यो प्रणाली व्यवसायीलाई समाप्त पार्ने षड्यन्त्रका रुपमा स्थापित हुने उनीहरूको दाबी छ ।
त्यस्तै व्यवसायीहरुले पेट्रोलियम पदार्थको कारोबार गर्नेको अग्नी बीमा निगमले गरिदिनुपर्ने, मट्टितेलको कमिसन बढाउनुपर्ने व्यवसायीले निगममा धरौटी स्वरुप राखेको एक जना व्यवसायीको ८ लाख रुपियाँको ब्याज उपलब्ध गराउनुपर्ने वा सोही बरावरको पेट्रोलियम पदार्थ उपलव्ध गराउनुपर्ने माग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठले अनुगमनका दौरानमा गलत प्रमाणित नहँदै मिडियामा सार्वजनिक गर्ने परिपाटीले व्यवसायीको प्रतिष्ठा र मानमर्दन हुने भएकाले त्यसतर्फ गम्भीर हुन आग्रह गर्नुभयो । गलत गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ तर अनुगमनकै क्रममा दोषी प्रमाणित नहुँदै जसरी सार्वजनिक गरिँदा समस्या आएको उहाँले बताउनुभयो । नेपाल आयल निगम लुम्बिनी प्रदेशका प्रमुख पल्याङकर आचार्यले पेट्रोलियम व्यवसायीको अग्नी बीमा र अनलाइन बैकिंङ प्रणाली जरुरी रहेका उल्लेख गर्दै नीतिगत रुपमा गर्नुपर्ने विषयमा केन्द्रमा पहल गर्ने धारणा राख्नुभयो ।
पेट्रोलियम डिलर्स एसोसिएसनका केन्द्रीय सल्लाहकार चोपनारायण श्रेष्ठले बटम लोडिङ प्रणाली लागू गर्ने भए पहिला व्यवसायीका ट्यांकर निगमले खरिद गरेपछिमात्रै यो प्रणाली सरकारले नै अवलम्बन गर्न माग गर्नुभयो ।पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष प्रेम न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा नेपाल एलपी ग्यास उद्योग संघका केन्द्रीय उपाध्यक्ष शंकर श्रेष्ठ, गुणस्तर तथा नापतौल कार्यालयका क्षेत्रीय प्रमुख मनोज पोखरेललगायतले आफञनो धारणा राखेका थिए ।
प्रतिक्रिया