राजनीतिक नेतृत्व र देशको भविष्य


दीपकदोर्जे लामा

यति बेला देशको अवस्था चिन्ताजनक छ । देशमा धेरै चलखेल बढिरहेको छ । देशी–विदेशी हस्तक्षेप बढिरहेको देखिन्छ । देशको अवस्था बिग्रनुमा नेताहरु पनि जिम्मेवार छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमले देश तरंगित छ । प्रतिनिधिसभा विघटनपछि सबैजसो शक्ति प्रतिनिधिसभा पुनस्र्थापनाकै पक्षमा छन् । प्रतिनिधिसभा पुनस्र्थापनाका लागि विभिन्न चरणको आन्दोलन भइरहेको छ । यो आन्दोलन आमनेपाली जनताको लागि हो, नेपाल देशका लागि हो । यो आन्दोलन कुर्सीका लागि होइन । किनभने आन्दोलनरत नेताहरुले कुर्सी पहिला नै त्यागिसकेका छन् ।वर्तमान समयमा सरकारले आफ्नो स्वार्थका लागि आमनेपाली जनतालाई खोक्रो राष्ट्रवाद घन्काएर सत्ताको हालिमुहाली गरिरहेको छ । यो बहुमतप्राप्त सरकारले जनताद्वारा निर्मित प्रतिनिधिसभा भंग गरी पुनः निर्वाचनमा जान्छु भन्नु आफ्नै भएको बच्चालाई मारेर अर्को बच्चा जन्माउँछु भनेजस्तै हो । किनभने छँदाखाँदाको संसद् विघटन गरेर जनतामा जान्छु भन्नु कहाँसम्मको नैतिकता हो ? यसरी हेर्दा यो सरकार जनताप्रति अलिकति पनि उत्तरदायी छैन ।

त्यसो त देश कोरोनाले ग्रसित भएको अवस्थामा नेपाली जनता कसरी आफ्नो जीविकोपार्जन गर्ने भन्ने चिन्तामा भइरहेको अवस्थामा कोरोनाको उपचार राज्यले गर्न नसक्ने भन्ने घोषणा गरेको अवस्थामा अर्बौं रुपियाँ खर्च गरेर चुनाव गराउँछु भन्नु जनतालाई भ्रममा राखी आफू सत्तामा आसीन मात्र रहने योजना बनाउँदै गरेको देखिन्छ । हामी लोकतान्त्रिक पद्धतिअनुसार चुनावबाट भाग्न खोजिरहेका छैनौँ । हामी त्यसमा जान्छौँ तर संसद् विघटन गरेर आफू सरकारमा बसी चुनाव गराउँछु भन्दै प्रधानमन्त्रीले भ्रम छरी सरकार चलाउनु देश र जनताप्रति गैरजिम्मेवारी हो । अहिलेको स्थिति हेर्दा ओलीले चुनाव गराउने देखिँदैन ।मलाई लाग्छ, सर्वोच्चले संसद् पुनस्र्थापना गरिदिने हो, यदि निर्वाचनमै जानुपरे पनि हामी तयार छौँ । ओलीले पनि सत्ता छाडेर चुनावमा भाग लिन आउनुपर्छ । अनि कसको पक्षमा जनमत, त्यो स्पष्ट हुनेछ । नेकपा विभाजित भए पनि कानुनीरुपमा फुटेको छैन । निर्वाचन आयोगले पनि दुवै समूहलाई आधिकारिकता दिएको छैन । त्यसैले हामीले हेर्दा नेकपा सत्ता स्वार्थकै लागि मात्र फुटेको देखिन्छ । ३ वर्षपहिला जनताले देश विकास गर्न नेकपालाई झन्डै दुई तिहाइको बहुमत दिएका थिए । यस अवस्थामा ओलीले प्रतिनिधिसभा विघटन गरेर जनतालाई विश्वासघात गरेका हुन् । आखिर नेकपाका नेताहरु फेरि आपसी स्वार्थमा मिल्न पनि सक्छन् जस्तो मलार्ई लाग्छ ।

यति बेला ओली समूह एकातिर, दाहाल–नेपाल समूह अर्कातिर फर्किएर आपसमै आरोप–प्रत्यारोप गरिरहेका छन् । अब जनताले फेरि उनीहरुलाई पत्याउने छैनन् । त्यसो त प्रमुख प्रतिपक्ष दल काङ्ग्रेस पनि बृहत् जनप्रदर्शनमा नलागी निर्वाचनको तयारीमा लागेको देखिन्छ । संसद् पुनस्र्थापना भए पनि काङ्ग्रेसको प्रधानमन्त्री हुने र चुनावमा जाँदा पनि नेकपा फुटेको अवस्थामा काङ्ग्रेस पहिलो पार्टी हुने आँकलन गरिँदै छ । त्यसो त जनता समाजवादी पार्टी पनि चुनाव भएमा वैकल्पिक शक्तिको रुपमा उदाउने देखिन्छ ।यति बेला नेपालको राजनीतिक अवस्था अस्थिर छ । त्यसैले भारत, चीन, अमेरिकाजस्ता राष्ट्रले आफू अनुकूल राजनीतिक वातावरण बनाउन सक्रिय रहेको देखिन्छ । जुनसुकै देशले आफ्नो देश र जनताको हितका लागि काम गर्नु धर्म हो तर नेपालको सन्दर्भमा नेपालका नेताहरुले देश र जनतालाई राखी आफ्नो स्वार्थ पूरा गर्नु विडम्बना हो । यो कुराले गर्दा नेपाली युवाहरुको राजनीतिप्रति नै वितृष्णा पलाएको छ । देश र जनताको हक–अधिकारका लागि सञ्चालन गर्ने नीति नै राजनीति हुनुपर्छ । तर सत्ताको लागि मात्र राजनीति गरेको कारण आमनेपाली जनताले फोहोरी खेलको रुपमा राजनीतिलाई लिन थालेका छन् ।

राजनीतिमा जन्मिएको विकृति नै यसको प्रमुख कारण हो । आम–युवावर्गलाई राजनीतिप्रति उत्साह जगाउन राजनीतिज्ञहरुको चालचलनमा सुधार हुन आवश्यक छ ।वर्तमान अवस्थामा आमनेपाली अन्यौल र पीडाको भुमरीमा रुमल्लिरहेका छन् । कोरोनाको कारण लकडाउन गरिएको समयमा कोरोनाले भन्दा शोक, भोक र पीडा सहन नसकी कतिपय व्यक्ति आत्महत्यासम्म गर्न बाध्य भएको देखियो । यसप्रति सरकार जिम्मेवार भएको देखिएन ।बूढापाकाले पार्टी र सरकार चलाइरहेका छन् तर पनि मुलुक बन्न सकिरहेको छैन । देशमा बूढापाका नेताहरुले शासन गरेको सबैले देखिसकेका छन्, भोगिसकेका छन् । यिनै नेताहरुबाट देश बन्छ भन्नु हत्केलाले सूर्यको प्रकाश छेक्नुजस्तै हो । त्यसैले अब युवाहरुलाई सत्ता सञ्चालन गर्ने अवसर दिनुपर्छ । आमनागरिकको युवाप्रति विश्वास र भरोसा छ । यो विश्वासलाई व्यवहारमा उतार्नुपर्छ ।त्यसो त जोसुकै सत्तामा आए पनि भ्रष्टाचार बढिरहेको छ । जनता दुःखमा छन् भने नेताहरु भ्रष्टाचारमा । जबसम्म स्वच्छ, निष्पक्ष र इमानदार नेतृत्वमा आउँदैन तबसम्म देशबाट भ्रष्टाचारको अन्त्य हुँदैन । केपी ओलीले शासन सञ्चालन गरेयता देशमा भ्रष्टाचारको काण्डैकाण्ड देखियो । उनले भ्रष्टाचारलाई प्रश्रय दिएको पाइयो । उनकै नजिकका मन्त्रीदेखि शुभचिन्तकसम्मले भ्रष्टाचार गरेको सार्वजनिक भैसकेको छ ।

एकातिर भ्रष्टातार र अर्कोतिर राजनीतिक तानातानले देश ग्रसित छ । त्यसैले यस्तो अवस्थामा बुद्धिजीवी एवं नागरिक समाज सजग हुनै पर्छ । स्वच्छ छवि भएकाले सरकारमा पुग्ने अवसर मिलोस् । भ्रष्टाचार अन्त्य होस् । देश विकास होस् । देशमा शान्ति कायम होस् ।
देशलाई विकासप्रेमी नेता चाहिएको छ । कानुन मान्ने नेता चाहिएको छ । जनचाहनाअनुसार चल्ने नेता चाहिएको छ । नेपाली राष्ट्रियता बलियो पार्ने नेता चाहिएको हो । राष्ट्रियताको सवालमा नझुक्ने नेता चाहिएको छ । जनतालाई नै आफ्नो प्राण ठान्ने नेता चाहिएको छ । यसको लागि जनताको एकता आवश्यक छ । सबै मिलेर जननेता ल्याऔं, देशलाई बलियो बनाऔं । हिजोको दिनमा जे भयो–भयो, अबको नेपाललाई उज्यालोतर्फ अग्रसर गराउनुपर्छ । विकासको मार्गमा अघि बढाउनुपर्छ । चुनावबाट होस् या सडकबाट होस् अथवा जुनसुकै तरिकाबाट देशभक्तको उदय हुनुपर्छ ।

(लेखक लामा जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य तथा विभागीय प्रमुख हुनुहुन्छ ।)