मुलुकको द्रुत विकासका लागि मेलमिलाप


मुलुकमा सबैको चाहना हो द्रुत विकास । तर सधैँ राजनीतिक कलह, विदेशी हस्तक्षप, भौगोलिक वातावरण, अल्लड सोझो समाज आदिका कारणले गर्दा हाम्रो दिन नै नआएको जस्तो लाग्छ । सबैले इमानदार भएर आफ्नो दायित्व निभाउने हो भने यो कुनै असम्भव कुरा होइन । हुन त सबैले देश प्रेम भावना राख्नु जरुरी छ तर यसको मतलब यो होइन कि झन्डा हल्लाएर, नेपाली मौलिकता अपनाएर, वीर गोर्खालीको नारा दिएर मात्र हुँदैन, नकि एक–अर्कालाई दोषारोपण गरेर हुन्छ । यसको लागि मुख्य चाहिने नै कलह छोडेर, सोच र मन ठूलो गरेर, एक–अर्कालाई शिक्षा र मद्दत गरेर आफ्नो दायित्व निर्वाह गर्ने हो ।

मुलुकमा लोकतन्त्र आए पनि यहाँका व्यक्ति, समाज अर्थात् जनता तीन दशकदेखि यहाँका राजनीतिक कलह हेर्नमा नै बाध्य भइराखेका छन् । यो लडाइँमा यिनीहरुले सोझा, भोका, अल्लारे जनतालाई मासु–भात खुवाएर लठ्ठ पारिराखेका छन् । यसको लागि पनि यिनीहरुले लड्डु–पेडा बाँडेसरह राष्ट्रको धन सिध्याइराखेका हुन्छन् । किन सरकारहरुले यहाँका गरिब, अनपढ, अल्लारे जनतालाई रोजगार दिएर, शिक्षा दिएर भविष्यका कर्णधार बनाउन सक्दैनन् ? देश चलाउनेहरुलाई यो भन्दा ठूलो उपलब्धि के होला ? तर जुनुसुकै देश चलाउनेहरु आए पनि यिनीहरु कुन दिशामा गइरहन्छन् ? यो बुझ्न गाह्रो छ ।एक हिसाबले भन्ने हो भने, देश चलाउनेहरुले आफ्नो खुट्टामा आफैंले बन्चरो हानिराखेका छन् तर यिनीहरुलाई पत्तो नै छैन । अन्यथा सरकारहरुले धेरै नेता, विलासिता, राजनीतिक कलह आदि कुराहरु सच्याउँदै जान्थे होला, कूटनीतिक धैर्यताको हिसाबले तर त्यो पनि छैन । यो मुलुकमा अझै समय छ, परिवर्तन हुँदै जाऔं । यसले गर्दा वर्तमान सरकार र आउने सरकारहरुलाई यी कुराहरुले फाइदा पु र्‍याउँछ र द्रुत विकासका लागि यी कुराले टेवा पु र्‍याउनेछ ।

हाम्रो मुलुकमा भगवान् जस्ता राम्रा–राम्रा व्यक्तिहरु पनि छन् । विष्णु, महादेव, कृष्ण आदिजस्ता देवताले वरदान दिएर प्राणीहरुको भलो पनि गरेका छन् भन्छन् । त्यो हामीलाई थाहा छैन तर अहिले कलियुगमा अर्थात कलियुगका मानवीय भगवान्हरुको यहाँ दाल किन गलिराखेको छैन ? जबसम्म मुर्कट्टाजस्ता व्यक्ति र गोब्रे स्यालजस्ता व्यक्तिहरुलाई सिध्याउने सूत्र पत्ता लगाउन सकिँदैन तबसम्म यहाँका मानवीय भगवान्हरुले पनि केही गर्न सक्दैनन् । त्यसकारण प्रयास जरुरी छ । मैदानमा उत्रनुपर्छ तर समाज परिवर्तन हुनुपर्दछ ।यो देशमा जतिसुकै सरकारले विकास भइराखेको छ भने पनि विकास सुस्त छ । केही विकास प्राइभेट सेक्टरबाट मात्र भइराखेको छ । जस्तै– शिक्षा, स्वास्थ्य र केही भौतिक विकासहरु । तर यहाँ पनि धेरै नमिलेका कुराहरु छन् । अब त्यसलाई सुधार्नु सरकारको काम हो । तर सरकारको अक्षम, दोषारोपण र कलहले गर्दा आफ्नो लक्ष्यमा पुग्न सकिराखेको छैन ।

अहिले आमनागरिकमा निराशा र खट्किएको कुरा वैदेशिक रोजगार, कार्यकर्तालाई स्थायी रोजगारमा परिणत, महँगी, शिक्षा, स्वास्थ्य, राजमार्ग तथा उद्योग विकास आदि कुराहरुको व्यवस्थापन । तर यी कुराहरुमा सरकार द्रुतगतिमा जान सकिराखेको छैन । सफल हुनको लागि प्रयास गरौं, अझै समय छ ।जब मुलुकमा अहम् भावना, एकोहोरो भावनालाई त्यागी राजनीतिक कलह बन्द गर्ने, विज्ञहरुलाई च्यापेर मिल्ने वातावरण बनाउने हो भने द्रुत विकास भनेको कुनै ठूलो कुरा होइन । वास्तवमा यदि मुलुकलाई राम्रो बनाउने हो भने यो देशमा एउटा कडा र इमानदार प्रधानमन्त्री भए पुग्छ । तर यसको लागि राजनीतिक कलह र अनावश्यक कुरालाई तिरस्कार गर्नुपर्दछ । अनि मात्र बन्छ मुलुक । अन्त्यमा भन्नुपर्दा सबै राजनीतिक दलले वैमनस्यता त्यागेर मिल्नु नै राष्ट्रहितमा हुनेछ । जनताले यही चाहेका छन् ।

-रमेशकेशरी वैद्यको