जनतालाई दुःख भएकोमा क्षमा चाहन्छौं : नेपाल


काठमाडौं । सरकारविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको हामहडताल सफल बनाउन नेकपाका अध्यक्षय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नै सडकमा उत्रिनुभएको छ ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा बिहीबार गरेको आम हडताललाई सफल बनाउन अध्यक्षसहितका शीर्ष नेताहरु सडकमा निस्किएका हुन् ।नेकपा अध्यक्ष प्रचण्डले आफूहरुले जनआन्दोलन गर्दा प्रधानमन्त्री केपी ओलीको समर्थनमा हुने प्रदर्शन पञ्चे ¥याली मात्र हुने बताउनुभयो । ‘अब हामीले गर्ने भनेको जनआन्दोलन हो, केपीजीले गर्ने भनेको पञ्जे र्‍याली मात्र हो।’ –उहाँले भन्नुभयो । संविधानविपरीत संवैधानिक नियुक्तिविरुद्ध आमहडताल गरेर सडकमा उत्रिनुपरेको बताउँदै प्रचण्डले नेपाली जनतालाई केही अप्ठेरो भए पनि आन्दोलनमा लाग्ने दाबी गर्नुभयो ।

७० वर्षदेखि नेपाली जनताले ल्याएको उपलब्धिको रक्षाका लागि आन्दोलन शुरु भएको बताउँदै प्रचण्डले संविधान मिचिएकाले कांग्रेसलगायत अन्य दल र नागरिक समाजसमेत सडक आन्दोलनमा लागेको बताउनुभयो ।त्यसै गरी अर्को अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले संविधानलाई कुल्चिएकाले जनतालाई सचेत गराउन बन्द गर्नुपरेको बताउनुभयो । बिहीबार हडतालको अनुगमनमा निस्कनुभएका उहाँले ओलीले आफूलाई निरंकुश शासकका रुपमा प्रस्तुत गरेको आरोप लगाउनुभयो । सरकारको कदमका विरुद्ध आमजनतालाई समयमै सचेत गराउन बन्द गर्नुपरेको हो, यसले जनतालाई दुःख कष्ट भएको छ, यसमा हामी क्षमा माग्न चाहन्छौं।’ –उहाँले भन्नुभयो ।