स्वास्थ्यकर्मीको उज्यालो अनुहार



विगत नौ महिनादेखि अहोरात्र आम बिरामीको उपचार र व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, शव व्यवस्थापनलगायत सुरक्षाका लागि फ्रन्टलाइनमा खटिने व्यक्तिहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिइएपछि उनीहरुको अनुहारमा उज्यालो छाएको छ । हिजोका दिनमा सरकारले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई थप सेवा, सुविधा, भत्तालगायतका उधारो आश्वासन पाएर निराश भएका स्वास्थ्यकर्मीहरुलाई खोपको प्राथमिकता आधारभूत र अनिवार्य थियो ।

यही माघ १४ गतेदेखि नेपालका ७७ जिल्लामै २ सयभन्दा बढी केन्द्रबाट स्वास्थ्यकर्मीहरुलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यमा स्वास्थ्यकर्मी जुटेका छन् । विश्वका ठूला र सम्पन्न मुलुकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीजस्ता सरकारका उच्च ओहदाका व्यक्तिले खोप लगाएर आम जनमानसलाई विश्वास दिलाइरहेका अवस्थामा नेपालमा भने कोरोनाविरुद्धको खोप लगाउने कार्यमा स्वास्थ्यकर्मी नै पहिलो भएर राज्य र नेतृत्व पंक्तिलाई विश्वास दिलाउँदै छन् ।

भारतपछि अर्को छिमेकी मुलुक चीनले पनि नेपाल सरकारलाई खोप उपलब्ध गराउने भएको छ । सरकारले नेपालमा खोप लगाउनुपर्ने नागरिकको वर्गीकरण गरी विश्वास दिलाउनका लागि हिजोका दिनमा स्वास्थ्यकर्मीलगायतको फ्रन्टलाइनरलाई तोकेजस्तै दोस्रो चरणमा ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई तोकिसकेको छ ।

यो अवस्थामा पहिलो चरणको खोप लगाउँदा खासै धेरैमा साइड–इफेक्ट नदेखिएको र देखिएकामा पनि सामान्य टाउको दुख्ने, खोप लगाएको ठाउँमा हल्का दुखाइ हुने, जिउ अलि–अलि दुखेको महसुस हुने पाइएको छ । जनमानसमा खोप लगाउँदा केही हुँदैन थप सुरक्षित होइन्छ भन्ने विश्वास बढेको छ ।

यति नै बेला नेपाल सरकारले दोस्रो चरणको खोप तयारी अवस्थामा राखिसक्नुपर्छ र सर्वसाधारणलाई लगाउन शुरु गर्नुअघि जनचेतनामूलक परामर्श दिनुपर्छ भन्ने राय विज्ञहरुको छ । हाल नेपाललाई भारत सरकारले सेरम इन्स्टिच्युटबाट उत्पादिन ‘कोभिसिल्ड’ नामक खोप उपलब्ध गराएको हो । यो खोप भारतमा समेत लगाइएको छ ।

अब चीन सरकारले उपलब्ध गराउने खोप कुन कम्पनीको हो र कहाँ–कहाँ प्रयोगमा आएको छ र साइडइफेक्ट कस्तो छ भन्ने बारेमा सरकारले आम नागरिकलाई विश्वस्त बनाउनका लागि स्पष्ट जानकारी गराउनुपर्छ । नेपाललाई उपलब्ध गराइने खोप विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त हुनुका साथै नेपालको परिवेशमा भण्डारण गर्दा कोलचेन मेन्टेन हुने हो÷होइन भन्ने कुरामा पनि प्रस्ट हुनु जरुरी छ ।

नेपालले अनुदानमा आएको खोप मात्र दिने हो या नेपाल आफैंले खरिद गर्दै छ भन्ने विषयमा कुनै जानकारी दिएको छैन । यदि खरिद गर्दै छ भने कुन मुलुकबाट कहिलेसम्म खोप आउँछ र आम नागरिकले कहिलेसम्म खोप पाउँछन् भन्ने बारेमा सरकारले स्पष्ट पार्नु आवश्यक छ ।

राजनीतिक उतार–चढावले यति बेला पीसीआर परीक्षण, व्यक्तिगत दूरी कायम गर्ने, मास्क लगाउने, हात धुने, स्यानिटाइजर लगाउनेजस्ता गतिविधि न्यून हुँदै जानु गम्भीर जोखिमको संकेत हो । विश्वमा छिटो फैलने नयाँ कोरोना भाइरसको महामारी फैलिरहँदा नेपालमा भने सुरक्षाप्रति लापरबाही बढ्नु दुर्भाग्यपूर्ण मान्नुपर्छ । स्वास्थ्यकर्मीको अनुहारमा देखिएको खुसीले निरन्तरता पाओस् भन्ने हो भने स्वास्थ्य सतर्कतालाई सबैले निरन्तरता दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्