खेतबारीमै व्यस्त किसान, आलु रोप्ने चटारो


हेटौंडा । उत्तरी मकवानपुरको चिसो क्षेत्रका किसान आफ्नै धुनमा मस्त छन् । कृषि कर्ममा रमाइरहेका छन् उनीहरु । हाल थाहानगर क्षेत्रलगायत माथिल्लो भेगका किसानलाई आलु रोप्ने चटारो छ । उक्त क्षेत्रमा आलुखेती २०१८ सालदेखि शुरु गरिएको स्थानीयको भनाइ छ ।
थाहानगरका किसान हिजोआज आलु रोप्न व्यस्त छन् । महिला–पुरुष दिनभर बारीमै खटिएका हुन्छन् । पुरुष खनजोत र महिला डोकोमा गाईभैंसीको मल बोक्न व्यस्त देखिन्छन् । माघ दोस्रो सातादेखि आलु रोप्न शुरू हुन्छ । फागुन पहिलो सातासम्म आलु रोपेर सकिने किसानले बताएका छन् ।

उनीहरुले रासायनिकभन्दा प्रांगारिक मल प्रयोग गरिरहेका छन् । रासायनिक मलले माटो बिगार्ने र आलु खनेपछि चाँडै कुहिने भएकाले प्रांगारिक मल प्रयोग गर्नुपरेको उनीहरु बताउँछन् ।‘नगरका १२ वटै वडाका बासिन्दा आलु रोप्ने काममा व्यस्त छन्,’ नगरपालिका कृषि विकास अधिकृत सञ्जय तिवारीले भन्नुभयो–‘गाउँमा कसैलाई बोल्ने फुर्सद्सम्म छैन । स्थानीयले वर्षौंदेखि आलु खेती गरिरहेका छन् । आलु खेती गर्न स्थानीयहरु सामान्य प्राविधिकसरह ज्ञान राख्छन्,’ तिवारीले भन्नुभयो–‘रोगका विषयमा कम जानकारी छ भने विषादी प्रयोगबारे पनि थोरैमात्र ज्ञान छ । अब त सबै सिकिसकेका छन्, आलु खेतीमा रासायनिक मल र विषादी प्रयोग गर्न हुन्न भन्ने कुरा जानकारी भइसकेको छ । कृषि शाखाका अनुसार थाहा नगरपालिकाबाट वर्षेनी करिब एक अर्ब रुपियाँको आलु निर्यात हुने गर्दछ ।

आलुलगायत तरकारी खेतीमा उक्त क्षेत्रका बासिन्दाले रासायनिक मल र विषादीको प्रयोग घटाएका छन् । ‘प्रयोग गर्नुपरे कृषि प्राविधिकस“ग सल्लाह लिने गरेका छन्,’ तिवारीले भन्नुभयो । किसानले कार्डिनल, डेजुरे, खुमल रातो, जनकदेव र कुखुरेज्योति जातका आलुका बीउलगाउने गरेका छन् । उत्तरी क्षेत्रमा पर्ने थाहानगरका बासिन्दाको मुख्य आम्दानी स्रोत नै आलु खेती हो । नगरका मेयर लवशेर विष्टले नगरपालिकाले आलुबाट मात्र वार्षिकरुपमा ५७ देखि ६० लाख रुपियाँ राजस्व संकलन गर्ने बताउनुभयो ।त्यहाँबाट निर्यात हुने आलुलगायत तरकारीमा लामो समय अघिदेखि स्थानीय कर लगाइँदै आएको छ । २०३१ सालदेखि दामन-पालुङमा आलुमा कर लगाउन सुरु गरिएको थियो । त्यही करबाट संकलन भएको रकम उक्त क्षेत्रको शैक्षिक विकास एवम् भौतिक पूर्वाधारका निम्ति खर्च गरिँदै आएको छ । उक्त कर हाल थाहा नपाले लगाउने गरेको छ ।

त्यहाँ उत्पादित आलु स्थानीय क्षेत्रमा मात्र होइन, वीरगन्ज र भारतको रक्सौलमा पनि निकै लोकप्रिय छ । आलुको मुख्य मण्डीका रुपमा रहेको वीरगन्जको मीनाबजारमा सिजनमा थाहानगरको पहाडी क्षेत्रबाट दैनिक १५ लाख मूल्यबराबरको ५० टनभन्दा बढी नेपाली आलु निर्यात हुने गरेको छ । पहाडको भन्दा भारतीय आलु प्रतिकिलो आठदेखि १० रुपियाँसम्म सस्तो हुने भए पनि थाहानगरको नयाँ आलु स्वादिलो तथा मिठो हुने भएकाले बीरगञ्जमा यसको माग बढ्दै गएको मीनाबजारका आलुका थोक ब्यापारी चन्द्रिकाप्रसाद रौनियारले बताउनुभयो ।

थाहानगरको आलु तराईमा लोकप्रिय हुँदै गएपछि ग्राहकहरुको मागलाई ध्यानमा राखी वीरगन्जका व्यापारीहरु थाहानगरमा उत्पादित आलुलाई प्राथमिकतामा राखेर यसको व्यापार गर्ने गर्दछन् । वीरगन्जको बजारबाट आलुको माग बढ्दै गएपछि टाँगामा दैनिक करिब १५ लाख मूल्य बराबरका थाहानगरका करिब ५० टन आलु भारतको सीमावर्ती रक्सौल बजारमा जाने गरेको व्यापारीहरु बताउँछन् । खानामा स्वादिलो तथा मिठो हुने भएकाले पहाडको आलु तराईमा लोकप्रिय हुँदै गएपछि यसको माग पनि बढेको उनीहरु बताउँछन् ।आलु लेकाली क्षेत्रको मुख्य बाली हो । तराई तथा बेंसीमा फलेको आलुभन्दा लेकमा फलेको आलु निकै स्वादिलो र पौष्टिक मानिन्छ । आलुमा प्रोटिन, कार्बोहाइड्रेड, आइरनलगायत तत्व पाइन्छ । त्यसैले आलुलाई तरकारीका रुपमा मात्र होइन, खानाको रुपमा समेत प्रयोग गर्न सकिन्छ ।