बैशाखमा चुनाव भए पर्साका नागरिक भोटदिनबाट बंचित हुने



कृष्णउदास खनाल , वीरगन्ज । सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन हुने हो भने पर्साका चारवाटा गाउँपालिकाका तीन हजार भन्दा बढी मतदाता मतदान गर्नबाट वञ्चित हुने अवस्था देखिएको छ ।जिल्ला प्रशासन कार्यालय, पर्सा अन्तर्गतको सुपौलीमा रहेको इलाका प्रशासन कार्यालयबाट नागरिकता लिएकाहरु मतदान गर्नबाट बंचित हुने अवस्था सृजना भएको हो ।

जिल्ला प्रशासन कार्यालय, पर्सामा नागरिकता लिएसँगै मतदाता परिचयपत्र बनाउने काम जारी छ तर इलाका प्रशासन कार्यालय, सुपौलीमा अहिलेसम्म सो व्यवस्था नभएकोले त्यहाँबाट नागरिकता लिएका तीन हजार मतदाता परिचयपत्रबाट वञ्चित हुने स्थानीयहरुले बताएका छन् ।
इलाका प्रशासन कार्यालय, सुपौलीबाट थोरै सङ्ख्यामा मात्र स्थानीयहरुले जिल्ला निर्वाचन कार्यालयमा आएर मतदाता परिचयपत्र बनाएका छन् । नागरिकता लिएसँगै मतदाता परिचयपत्रको लागि फोटो खिचाउने, आवेदन भर्ने काम नहुँदा करीब तीन हजार मतदाता मतदात गर्नबाट वञ्चित हुनृ भएका हुन् ।

इलाका प्रशासन कार्यालय सुपौलीका शाखा अधिकृत विनयकुमार श्रीवास्तवले नागरिकता बनाउनेहरूलाई मतदाता परिचयपत्रको लागि २०७६ साउनमा जिल्ला निर्वाचन कार्यालय पर्सालाई पत्राचार गरेको बताउनुभयो ।यद्यपी निर्वाचन कार्यालयबाट कर्मचारीको टोली सुपौलीमा नआएको हुँदा मतदाता परिचयपत्र बन्न नसकेको जानकारी दिनुभयो।जिल्ला निर्वाचन कार्यालय, पर्साका निर्वाचन अधिकृत रञ्जीता झाले कर्मचारी अभावमा इलाका प्रशासन कार्यालय, सुपौलीमा मतदाता परिचयपत्रको काम हुन नसकेको बताउनु भयो । उहाले कर्मचारी व्यवस्थापनको लागि निर्वाचन आयोगमा पत्राचार गरेको जानकारी दिनुभएको छ । अहिले निर्वाचनको मिति घोषणा भइसकेको कारण यस सम्बन्धमा आयोगले कुनै निर्देशन नगरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्